Comments Add Comment

गोरखामा निर्वाचन क्षेत्रको ४ करोड बजेटबाट कस्ता योजना छानिए ?

१६ मंसिर, गोरखा । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ४ करोड रुपैयाँ बजेटबाट गोरखाका दुई निर्वाचन क्षेत्रमा ३०/३० वटा योजना छनोट गरिएको छ ।

नेकपा नेता हरि अधिकारी निर्वाचित क्षेत्र नम्बर १ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई निर्वाचित क्षेत्र नम्बर २ मा ४ करोड रुपैयाँबाट ३०/३० वटा योजना छनोट गरिएको हो ।

यो कार्यक्रमको बजेट आइसोलेसन व्यवस्थापन, सडक, भवन, मन्दिर–गुम्बा निर्माण, कम्पाउन्ड वाल, खेलमैदान निर्माणजस्ता योजना छनोट गरिएको छ ।

क्षेत्र नम्बर २ को बजेटबाट गोरखा नगरपालिकामा सात योजनाका लागि ८० लाख रकम छुट्याइएको छ ।

गोरखा नगरपालिकाको कोभिड–१९ आइसोलेसन भवन व्यवस्थापनका लागि २० लाख रुपैयाँ, आहाले भञ्ज्याङ–अर्घाैले गाउँ कृषि सडक, भुपाल गाउँ सामुदायिक भवन, वडा नम्बर ९ को तमु समाज अधुरो भवन निर्माण, वडा नम्बर १० छपन्न गल्ली–कोलवेणी–चितुवास्वाँरा कृषि सडक, वडा नम्बर ११ को शिवालय मन्दिर– बडहरा सडकका लागि १०/१० लाख रुपैयाँ छुट्याइएको छ ।

त्यस्तै वडा नम्बर १२ मा स्वास्थ्यचौकी छापगाउँ हुँदै दरौंदी नदीसम्म पुग्ने सडक, वडा नम्बर १४ भट्टवेशी खेलमैदान तथा रौदी खोला मर्चखोला सडकका लागि पनि १०/१० लाख रुपैयाँ विनियोजन गरिएको जिल्ला समन्वय समितिका सूचना अधिकारी दिनेश चापागाईंले बताए ।

त्यस्तै पालुङटार नगरपालिकामा ११ योजनाका लागि १ करोड ४८ लाख रुपैयाँ रकम छ्ुट्याइएको छ । वडा नम्बर ३ असिमुरे–सिउरेनी–डुम्रीडाँडा–जलजले–पाथीभरा–आँपपीपल अस्पताल सडकका लागि २९ लाख, वडा नम्बर १ सुन्दरखोला–ठुलोगैरी–अन्नपूर्ण सडक तथा ज्योति चौतारा–लुँगा–वडा कार्यालय–चापाभञ्ज्याङ सडकका लागि १७ लाख रुपैयाँ विनियोजन गरिएको चापागाईले बताए ।

वडा नम्बर १ ज्योति चौतारा–वेलवास–कोलकाटे–खुर्पाजुङ सकड स्तरोन्नति र वडा नम्बर ४ वेलटार–मगरखोल्सा–घोप्टेस्वार–धारापानी–बाह्रपिर्के–छापथोक–न्यौपाने खोला सडकका लागि १५/१५ लाख रकम परेको छ ।

वडा नम्बर २ हर्मीकोट दलित गुठी भवन तथा सिमपानी युवा क्लब भवन, वडा नम्बर ३ राउतेपानी सगरमाथा प्रावि भवन, वडा नम्बर ६ साम्पा छोयलिङ गुम्बा निर्माण तथा ताल पोखरी घेराबार, वडा नम्बर ८ ढापखेत कट्जाले जोड्ने तादीखोला पुल, वडा नम्बर ९ को टासी छोयलिङ गुम्बा निर्माण, वडा नम्बर ९ र १० मा विर्दी–भञ्ज्याङडाँडा–राम्चे सडक मर्मत र वडा नम्बर ७ दलित एकता उत्थान समिति भवन निर्माणका लागि १०/१० लाख रुपैयाँ रकम विनियोजन भएको छ ।

सिरानचोक गाउँपालिकामा ६ योजनाका लागि ७५ लाख रकम छुट्याइएको छ । वडा नम्बर ५ भालुमारा–चित्रेगाउँ हुँदै चिहानडाँडा सडक स्तरोन्नतीका लागि २० लाख र वडा नम्बर ३ श्रीनाथ मण्डली सामुदायिक महिला सहकारी भवन निर्माणका लागि १५ लाख रुपैयाँ विनियोजन भएको छ ।

वडा नम्बर १ डाँडवेशी कुडाँर हुँदै चिहानडाँडा सडक स्तरोन्नती, वडा नम्बर ६ नयाँसाघुँ जेष्ठ नागरिक केन्द्र भवन निर्माण, वडा नम्बर ७ लप्से सामुदायिक भवन तथा जुना कुमार स्मृति प्रतिष्ठान भवन निर्माण र सिरानचोक गाउँपालिका केन्द्रमा दलित एकता सञ्जाल पालिका स्तरीय भवन निर्माणका लागि १०/१० लाख रुपैयाँ छुट्याइएको छ ।

अजिरकोट गाउँपालिकामा दुई वटा योजनाका लागि ३५ लाख रुपैयाँ छुट्याइएको छ । वडा नम्बर ४ जडिवुटी संकलन तथा प्रशोधन केन्द्रका लागि २० लाख र वडा नम्बर १ र ४ मा वालुवा–मिलिम–घ्याच्चोक–धन्सिरा सडक स्तरोन्नतिका लागि १५ लाख रुपैयाँ विनियोजन भएको छ ।

बारपाक सुलिकोट गाउँपालिकामा चार योजनाका लागि ५८ लाख रुपैयाँ रकम विनियोजन गरिएको छ । वडा नम्वर १ बारपाक सामूहिक चिहानबाट मूल बाटो सडक निर्माणका लागि २० लाख, वडा नम्वर ७ वालुवा–जोगिडाँडा सडक स्तरोन्नतीका लागि १८ लाख, वडा नम्वर ६ को ताकुकोट कृषि सहकारी कृषि उपज संकलन केन्द्र र वडा नम्बर ८ को पन्द्रुङ लिफ्टिङ खानेपानी आयोजनाका लागि १०/१० लाख रुपैयाँ छुट्याइएको छ । प्रशासनिक खर्चका लागि ३ लाख ६० हजार रुपैयाँ विनियोजन भएको जिससका सूचना अधिकारी चापागाईंले बताए ।

क्षेत्र नम्बर १ मा कुन कुन योजना ?

यो निर्वाचन क्षेत्रको बजेटमध्ये गोरखा नगरपालिकामा ४७ लाख ४० हजार रुपैयाँ छुट्याइएको छ । कोभिड व्यवस्थापनका लागि २५ लाख ४० हजार, गोरखा क्याम्पस कम्पाउण्ड पर्खाल निर्माणका लागि १० लाख, वडा नम्बर १ को दिव्यज्योति नेपाल युवाक्लव भवन निर्माणका लागि १२ लाख रकम विनियोजन गरिएको जिससका सूचना अधिकारी चापागाईंले बताए ।

शहीद लखन गाउँपालिका वडा नम्बर २ ढाँडबारीमा खेलमैदान निर्माणका लागि १४ लाख, वडा नम्बर १ को महेन्द्रशक्ति माविको कम्पाउण्ड निर्माणका लागि १२ लाख, वडा नम्बर ९ को राधाकृष्ण मन्दिर मर्मत, वडा नम्बर ७ को भँगार खेलकुद मैदान निर्माण, वडा नम्बर ४ ताक्लुङमा वडा स्तरीय खेलमैदान निर्माण र वडा नम्बर ८ मैलुङको दलित सामुदायिक भवन निर्माणका लागि १०/१० लाख रुपैयाँ विनियोजन गरिएको छ । शहीद लखन गाउँपालिकामा कुल ६६ लाख रुपैयाँ विनियोजन भएको हो ।

गण्डकी गाउँपालिकामा ५९ लाख रुपैयाँ छुट्याइएको छ । वडा नम्बर ६ र ७ को ज्यामिरघाट–कौदी हुदै फिस्लिङ सडक स्तरोन्नतिका लागि १५ लाख, वडा नम्बर ५ खाल्थोकमा स्मरण युवा क्लबको भवन निर्माण र वडा नम्बर २ दलभञ्ज्याङको वुद्धस्मृति युवाक्लबको भवन निर्माणका लागि १२/१२ लाख रुपैयाँ परेको छ । त्यस्तै वडा नम्बर ३ फुजेलको भैरवाश्रम माविको कम्पाउण्ड निर्माण र वडा नम्बर ८ नयाँगाउँमा खेलकुद मैदान निर्माणका लागि १०/१० लाख रुपैयाँ छुट्याइएको छ ।

भीमसेन थापा गाउँपालिका वडा नम्बर ४ धावाको प्रभात माविको भवन निर्माण र वडा नम्बर ५ बगुवा लामाचौरबाट वडा कार्यालय जाने बाटो ढलानका लागि १५/१५ लाख छुट्याइएको छ । त्यस्तै वडा नम्बर ६ अश्राङको नवजागृतिचण्डी माविको कम्पाउण्ड निर्माणका लागि १३ लाख, वडा नम्बर ७ र ८ सिमलटार–महादेवटार–घाटवेशी सडकको कल्भर्ट निर्माणका लागि १२ लाख रुपैयाँ विनियोजन भएको छ । भीमसेन थापा गाउँपालिकामा कुल ५५ लाख रुपैयाँ विनियोजन गरिएको हो ।

आरुघाट गाउँपालिका वडा नम्वर ९ को भीमोदय क्याम्पसमा टेवा पर्खाल निर्माण, वडा नम्बर १ मान्बुको द रियल युवा क्लवको खेलमैदान निर्माण र वडा नम्वर ५ आर्खेत–वयाक– भोगटेनी–चिसापानी सडक स्तरोन्नतीका लागि १५/१५ लाख, वडा नम्वर ८ आरुपोखरीमा शहीद स्मृति भवन निर्माणका लागि १२ लाख गरी आरुघाट गाउँपालिकामा ५७ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

धार्चे गाउँपालिकामा ६७ लाख रुपैयाँ रकमका योजना छनोट गरिएको छ । वडा नम्बर ५ गुम्दाको धार्चे आमासमूह भवन निर्माणका लागि २५ लाख, वडा नम्बर २ केरौंजामा केरौंजा युवा क्लबको भवन निर्माणका लागि १२ लाख र वडा नम्बर ६ काशीगाउँको मञ्जुश्री माविको घेराबार, वडा नम्बर ३ दुङ्ला सडक निर्माण र वडा नम्बर १ हुलचुकमा गोरेटो निर्माणका लागि १०/१० लाख रुपैयाँ छुट्याइएको छ ।

चुमनुब्री गाउँपालिकामा ४५ लाख रुपैयाँ विनियोजन भएको छ । वडा नम्बर ४ मा स्याउखेती, घेराबार र हेलिप्याड निर्माणका लागि २० लाख, वडा नम्बर ३ जगतमा आमोस कृषि फर्म प्रवद्र्धनका लागि १५ लाख र वडा नम्बर ७ छुलेखोला पहिरो नियन्त्रणका लागि १० लाख रुपैयाँ छुट्याइएको जिससले जनाएको छ । प्रशासनिक खर्चतर्फ ३ लाख ६० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment