+
+
Shares

बाढीपीडितका लागि अजिरकोटले २७ लाख ६६ हजार रुपैयाँ सहयोग गर्ने 

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १८ गते १८:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अजिरकोट गाउँपालिकाले रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीको बाढी प्रभावितका लागि २७ लाख ६६ हजार ४७४ रुपैयाँ ६७ पैसा संकलन गर्ने निर्णय गरेको छ।
  • गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट ५ लाख रुपैयाँ दिने र बाँकी रकम जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकको पारिश्रमिक योगदानबाट जुटाउने जनाएको छ।
  • अध्यक्ष दीपक देवकोटाले घाइतेको स्वास्थ्यलाभको कामना गर्दै सम्पर्कविहीन तथा हराइरहेका नागरिकको खोज तथा उद्धारमा जुट्न सबै पक्षलाई आग्रह गरेका छन्।

१८ भदौ, काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढी प्रभावितलाई गोरखाको अजिरकोट गाउँपालिकाले राहत तथा उद्धारका लागि सहयोग संकलन सुरु गरेको छ।

बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि अजिरकोट गाउँपालिकाले २७ लाख ६६ हजार ४ सय ७४ रुपैयाँ ६७ पैसा जुटाउने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए। उक्त रकम गाउँपालिकाको विपद् व्यवस्थापन कोष तथा जनप्रतिनिधि, कर्मचारी र विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको पारिश्रमिक योगदानबाट संकलन गरिने उनको भनाइ छ।

गाउँपालिकाले बाढीबाट घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पर्कविहीन तथा हराइरहेका नागरिकको खोज तथा उद्धारमा जुट्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ। राहतका लागि गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट ५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको अध्यक्ष देवकोटाको भनाइ छ।

बाँकी रकम भने गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको पारिश्रमिक योगदानबाट संकलन गरिँदैछ।

निर्णयअनुसार गाउँपालिकाका जनप्रतिनिधिले १० दिन बराबरको पारिश्रमिक योगदान गर्नेछन्। अधिकृतस्तरका कर्मचारी तथा स्वास्थ्यकर्मीले ७ दिन, सहायकस्तरका कर्मचारीले ५ दिन र श्रेणीविहीन कर्मचारीले २ दिन बराबरको पारिश्रमिक योगदान गर्नेछन्।

त्यसैगरी, सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारी, बालविकास सहजकर्ता, सामुदायिक सिकाइ केन्द्रका सहजकर्ता र विद्यालय सहयोगीबाट समेत निश्चित अवधिको पारिश्रमिक योगदान संकलन गरिने गाउँपालिकाले जनाएको छ। यसरी संकलन हुने रकम बाढी प्रभावित नागरिकको उद्धार तथा राहतमा खर्च गर्ने निर्णय भएको छ। गाउँपालिकाले संकलित रकम प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा यथाशीघ्र जम्मा गर्ने जनाएको छ।

अध्यक्ष देवकोटाले बाढीबाट प्रभावित परिवारसँग गाउँपालिका साथै रहेको पनि बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?