Comments Add Comment

कोटेश्वरमा नेविसंघको प्रदर्शन

१८ मंसिर, काठमाडौं । तनहुँमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको घटनाको विरोध गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले बिहीबार काठमाडौंको कोटेश्वरमा विरोध प्रदर्शन गरेको छ ।

नेपाल विद्यार्थी संघ कोटेश्वर बहुमुखी क्याम्पस इकाइको आयोजनामा कोटेश्वर क्याम्पसबाट सुरु भएको विरोध र्‍याली कोटेश्वर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै नेविसंघ महामन्त्री वलदेव तिमल्सिनाले केपी ओली नेतृत्वको वर्तमान सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको भन्दै आलोचना गरे । नागरिक स्वतन्त्रतामाथि बन्देज लगाउन खोज्ने, विनाकारण पक्राउ गर्ने जस्ता घटनाले ओलीमा पञ्चायती या राणाकाली भूत सवार भएको देखिएको बताउँदै तिमल्सिनाले सरकारविरुद्ध देशभरबाट आन्दोलित हुन आह्वान गरे ।

कार्यक्रममा नेविसंघका पूर्व केन्द्रीय सदस्य रत्नहरी ढुंगेलले बलत्कारी, हत्यारा र तस्करहरुको संरक्षण गर्ने प्रहरी प्रशासनले कांग्रेस नेता पौडेललाई पक्राउ गरेर आफ्नो बेइज्जत आफैं गरेको टिप्पणी गरे । तनहुँको घटना लोकतान्त्रिक व्यवस्थाको उपहास भएको भन्दै ढुंगेलले सबै लोकतन्त्र प्रेमीहरुलाई आन्दोलित हुन अपिलसमेत गरे ।

सभालाई नेविसंघ नेताहरु रामकृष्ण खड्का, मनिष रायमाझी, एन्जर कार्की र राम केसीले पनि सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment