
१९ मंसिर, काठमाडौं । सुन बजारमा गुमेको चमक बिहेको लगनका कारण फिर्ता भएको व्यवसायीहरुले बताएका छन् । मूल्यमा तीव्र उतार चढाव देखिए पनि दैनिक ४० किलोसम्म सुनको बिक्री भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
माग बढेसंगै बजारमा सुनको अभाव भएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । एक सातामा सुनको मूल्य दुई हजार ९ सय रुपैयाँले बढेको छ ।
मंगलबारदेखि निरन्तर बढ्दो क्रममा रहेको सुनको भाउ शुक्रबार पनि तोलामा तीन सय रुपैयाँले बढेको छ । आजको कारोबारका लागि छापावल सुनको भाउ तोलामा ९२ हजार ९ सय र तेजाबी सुनको भाउ ९२ हजार ४५० रुपैयाँ तोकिएको नेपाल सुन चाँँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार छापावल सुन ९२ हजार ९ सय र तेजाबी ९२ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।
सुनसँगै चाँदीको भाउ पनि साताभर बढ्दो क्रममा रह्यो । बिहीबार १२ सय पाँच रुपैयाँमा कारोबार भएको प्रतितोता चाँदीको भाउ शुक्रबार पाँच रुपैयाँले बढेर १२ सय १० रुपैयाँ तोकिएको छ ।
९ महिनापछि फर्किएको चमक
कोरोना र लकडाउनका कारण सिथिल बनेको सुन बजारमा मंसिर लागेसँगै पुरानो चमक फर्केको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहेको लगनले गर्दा जिल्ला नगरसहित देशैभरबाट सुनको माग अत्यधिक भएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । ‘सुनको कारोबारमा चैत पछि गत वर्ष जस्तै चमक छाएको छ, यो महिनाभर दैनिक ३० देखि ४० किलोसम्म सुनको बिक्री पुग्ने अनुमान गरेका छौँ,’ बज्राचार्यले भने ।
मूल्यमा सामान्य उतार चढाब देखिए पनि आवश्यकताकै कारण उपभोक्ताले सुन खरिद गरिरहेको उनको भनाइ छ ।
साताभर सुनको बजार भाउ
मंसिर १४ गते आइतबार बजार खुल्दा सुनको भाउ प्रतितोला पाँच सयले घटेर ९० हजार ७ सय रुपैयाँमा आइपुगेको थियो । यस्तै सोमबार पनि प्रतितोला ७ सयले सस्तीएर ९० हजार प्रतितोलामा सुनको कारोबार भएको थियो ।
सातामा त्यसयताको पाँच दिन भने सुनको मूल्य पुनः बढ्दो क्रममा रह्यो । साता अन्त्यसम्म सुनको भाउ दुई हजार ९ सय रुपैयाँले बढीसकेको छ । मंगलबार बढेर ९० हजार पाँच सय पुगेको सुनको भाउ बुधबार पुनः बढेर ९१ हजारमा कारोबार भयो ।
यस्तै बिहीबार १६ सयले बढेर ९२ हजार ६ सयमा कारोबार भएको सुनको भाउ शुक्रबार ९२ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
प्रतिक्रिया 4