Comments Add Comment

कोरोनाबाट मृत्यु हुनेको संख्या १५ लाख नाघ्यो

१९ मंसिर, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर मृत्यु हुनेको संख्या १५ लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अहिलेसम्म विश्वभर कोरोनाबाट १५ लाख ६ हजार १५७ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट सबैभन्दा धेरै अमेरिकामा दुई लाख ७६ हजारभन्दा धेरैको मृत्यु भएको छ भने ब्राजिलमा एक लाख ७५ हजारभन्दा धेरैको मृत्यु भएको छ । भारतमा पनि कोरोनाबाट एक लाख ३९ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । त्यस्तै मेक्सिकोमा पनि कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ८ हजार नाघेको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार पछिल्लो दुई महिनामा मात्र विश्वभर पाँच लाख मानिसको मृत्यु भएको छ । पछिल्लो एक सातामा मात्र औसतमा दैनिक १० हजारभन्दा धेरै मानिसको कोरोनाको कारण मृत्यु भएको छ ।

अहिले विश्वभरका धेरै मुलुकहरु कोरोना दोस्रो वा तेस्रो लहरको संक्रमणको सामना गरिरहेका छन् । त्यसैले पनि पछिल्लो समय कोरोनाबाट मृत्यु हुनेको संख्या पनि बढेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या सन् २०१९ मा विश्वभर क्षयरोगबाट मृत्यु हुनेको संख्याभन्दा पनि बढी देखिएको छ ।

कोरोनाबाट सबैभन्दा धेरै प्रभावित बनेको ल्याटिन अमेरिकामा अहिलेसम्म कोरोनाबाट चाख लाख ५० हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । विश्वभर अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या पनि ६ करोड ५२ लाख नाघेको छ ।

अमेरिकामा एक करोड ४१ लाखभन्दा धेरै कोरोना संक्रमित देखिँदा भारतमा ९५ लाखभन्दा बढी संक्रमित फेला परिसकेका छन् । ब्राजिलमा पनि ६४ लाखभन्दा धेरै संक्रमित फेला परिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment