Comments Add Comment

मेरा पिकको रोमाञ्चक अनुभव

२० मंसिर, काठमाडौं । हिमाली जिल्ला हुम्लामा जन्मीहुर्केकाले हिमाललाई आँखै अगाडि देख्ने मौका पाएँ । तर, हिमाल चढ्ने अवसर जुरेको थिएन ।

हिमाल चढ्ने हुटहुटी भने थियो । यात्राका क्रममा विदेशी आरोहीहरु हिमाल चढेका कुरा सुनाउँथे । उनीहरुको कुरा सुन्दा नै म रोमाञ्चित हुन्थें । लाग्थ्यो, हिमाली टाकुरामा आफ्नै पाइला राख्न पाउँदा कस्तो हुँदो हो ?

आखिरमा मैलें पनि हिमाल चढ्ने निधो गरें । हिमाल चढेर फर्केपछि मलाई के अनुभव भयो भने हिमाल चढ्नु जति सहज सोचिएको थियो, त्यस्तो थिएन । अरुले दन्त्यकथा जसरी सुनाएको कुरा, पत्रपत्रिकामा देखेको कुरा जस्तो सजिलो कहाँ रहेछ र ? हिमाली कठोरतासँग पौठेजोरी खेल्नु कम्ता साहसिक काम होइन रहेछ ।

सामान्यत मेरो पिक आरोहण तीन हप्ताको हुने गर्छ । भुक्तभोगीहरुले भने दुई हप्तामै आरोहण गर्छन् । जुन दिन म अनेक कठिनतासँग जुध्दै टाकुरामा पुगें । जीवनभर संगाल्न सक्ने रोमाञ्चकता अनुभव गरें । त्यस्तो रोमाञ्चक अनुभव जीवनमा दुर्लभ मिल्छ ।

आरोहण गरेर फर्केपछि पनि मलाई त्यो क्षणले बेग्लै खुसी र उमंग दिइरह्यो । अहिलेपनि सम्झदा मन आनन्दित हुन्छ ।

त्यसो त म साहसिक कुरामा निकै रुचि राख्छु । थुप्रै साहसिक खेल खेलेको छु । तर, हिमाल आरोहण बराबर अरु लागेन ।

हिमाली टाकुरासम्म पुग्न गरेको संघर्ष, जोखिम र टाकुरामा पुगिसकेपछि मिलेको अपार खुसी । अहो, कस्तो–कस्तो रोमाञ्चकता !

आरोहणको क्रममा एउटै रोपमा ५ देखि ७ जनासम्म पंक्तिबद्ध भएर आरोहण गरिरहेका हुन्छन् । कहिलेकाहीँ आफूसँगै गएका साथी आरोहण गर्न नसकेर तल फर्कन परेमा निकै दुःख लाग्ने । तर, रोप एउटै भएको कारण गाह्रोसमेत हुने गर्दछ । आरोहणको समय बनाएको योजनाभन्दा थोरै मात्र तल–माथि भयो भने ज्यान जाने खतरा हुने । आरोहणको अवधीमा स्वास्थ्यको पनि उत्तिकै ख्याल राख्नुपर्ने ।

प्रदेश नम्बर १ सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिकामा पर्छ, मेरा पिक । यो समुन्द्री सतहबाट ६ हजार ४ सय ६४ मिटर उचाइमा छ ।

यस वर्ष सुनसान रह्यो मेरा पिक

रीफुजी मेरा लज खहरे, सोलुखुम्बुका म्यानेजर जाङ्बु शेर्पाका अनुसार आरोहीहरुले मेरा पिकलाई अन्य हिमालभन्दा केही सहज मान्ने गरेका छन् । त्यसैले पनि हुनसक्छ विगतका वर्षहरुमा विदेशी पर्यटकहरुको ओइरो लाग्ने गर्दथ्यो । यस वर्ष भने कोरोनाका कारण सुनसान जस्तै भयो ।

केही नेपाली आरोही आए । नेपालीहरुलाई लक्षित गरेर यो वर्ष काठमाडौंदेखि मेरा पिकसम्मको छुटै प्याकेज सार्वजनिक गरिएको थियो, जम्माजम्मी पचास हजार रुपैयाँको । यो खर्च आय आर्जनका लागि भन्दा पनि नेपालीहरुलाई हिमाल आरोहणका लागि उत्प्रेरित गर्नका लागि हो ।

हिमाल आरोहण गराउने कम्पनी नेपालमा मात्र सयौं छन् । तर कम्पनीका मालिकसँग आरोहणको अनुभव कमै छ । उनीहरुले पनि अनुभव गरुन् भनेर प्याकेज ल्याइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment