Comments Add Comment

एलपीएल : दम्बुला दोस्रो स्थानमा उक्लियो, गाल्लेको लगातार पाँचौ हार

२० मंसिर, काठमाडौं । गाल्ले ग्लाडिएटर्सलाई पराजित गर्दै दम्बुला भाइकिंग्स लंका प्रिमियर लिग (एलपीएल)को अंकतालिकामा दोस्रो स्थानमा उक्लेको छ । शनिवार भएको हाई स्कोरिङ खेलमा दम्बुलाले गाल्लेलाई ९ रनले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको दम्बुलाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०७ रन बनाएको थियो । २०८ रनको लक्ष्य पछ्याएको गाल्लेले २० ओभरमा ७ विकेट गुमाएर १९८ रन बनायो ।

जितपछि दम्बुलाले ५ खेलबाट ८ अंक जोडेको छ । जाफना स्टालियन्स समान अंक भए पनि रन रेटमा अगाडि छ । गाल्लेको भने यो लगातार पाँचौ हार हो र अंकविहीन हुँदै अन्तिम स्थानमा छ ।

हबानटोटास्थित महिन्दा राजापक्ष अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उपुल थरंगा र निरोसान डिकबेलाले उत्कृष्ट ब्याटिङ गर्दै दम्बुलालाई शानदार सुरुवात दिलाएका थिए । पहिलो विकेटका लागि यी दुईले १२.४ ओभरमा ११० रनको साझेदारी गरेका थिए । थरंगाले सर्वाधिक ७७ रन बनाए । उनले ५४ बल खेल्दै ११ चौका र १ छक्का प्रहार गरे ।

यस्तै डिकबेलाले ३७ बल खेल्दै ५ चौका र ३ छक्का मद्दतमा ६० रन जोडे । कप्तान दसुन शानाकाले २१ बल खेल्दै २ चौका र ३ छक्का मद्दतमा ३७ रन योगदान गरे ।

बलिङमा गाल्लेका धनन्जय लक्सनले २ विकेट लिए ।

उच्च लक्ष्य पछ्याउने क्रममा गाल्लेले पनि उत्कृष्ट सुरुवात गरेको थियो । धनुस्का गुनतिलका र अहेसान अलीले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गरे । अहेसान १९ र कप्तान भानुका राजापक्ष ५ रन बनाएर आउट भएपछि गुनतिलकाले अजाम खानसँग ९६ रनको साझेदारी गर्दै गाल्लेको इनिङ्स अघि बढाएका थिए ।

तर निरन्तर विकेट जाँदा गाल्ले जितसम्म पुग्न सकेन । गुनतिलकाले ५२ बल खेल्दै १० चौका र १ छक्का मद्दतमा ७८ रन बनाए । आजम खानले २४ बल खेल्दै ७ चौका र ३ छक्का प्रहार गर्दै ५५ रन जोडे ।

गाल्लेलाई जितबाट रोक्नका लागि दम्बुलाका बलर अनवर अलीले ४ ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए । कप्तान शानाकाले २ ओभरमा १० रन खर्चेर १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

ऊ… ऊ… सगरमाथा !

Advertisment