Comments Add Comment

ब्रिटानिया उद्योगमा जारी मजदुर आन्दोलनमा प्रहरी हस्तक्षेप

२२ मंसिर, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२१ लिपनीबिर्तास्थित ब्रिटानिया नेपाल प्रालिमा कार्यरत मजदुर आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । विनाकारण उद्योगले एक दर्जन मजदुरलाई निष्काशन गरेपछि मजदुरहरु आन्दोलित भएका छन् ।

शान्तिपूर्ण धर्नाबाट माग पूरा नभएपछि उनीहरुले सोमबार काम गरिरहेका मजदुरलाई उद्योग प्रवेशमा रोक्ने प्रयास गरेका थिए । त्यसपछि प्रहरीले आन्दोलनमा हस्तक्षेप गरेको थियो ।

सो क्रममा प्रहरीले लाठीचार्ज १० जना मजदुर घाइते भएको आन्दोलनरत मजदुरहरुले दाबी गरेका छन् । प्रहरीको लाठीचार्जबाट उनीहरुलाई चोटपटक लागेको उनीहरुको आरोप छ । प्रहरीले आन्दोलनरत दुई जना मजदुरलाई समेत नियन्त्रणमा लिएको छ । लालबाबु महरा र राम एकबाल कुशवाहालाई प्रहरीले नियन्त्रणमा लिएको उनीहरुले बताएका छन् ।

१२ जना मजदुरलाई विना कारण निष्काशन गरेको विरोधमा उद्योगको गेटमा एक महिनादेखि धर्ना चलिरहेको छ । मजदुरमाथि गरेको दमनशोषण बन्द गर्नुपर्ने, विना कारण निकालिएका १२ जना मजदुरलाई पर्नवहाली गरिनुपर्ने, मजदुरमाथि लगाइएको मुद्धा खारेज गरिनुपर्ने माग उनीहरुले राखेका छन् । उद्योगले १२२ जना मजदुरमध्ये १२ जनालाई विना कारण कामबाट निकालेको उनीहरुको भनाइ छ ।

उद्योगमा काम गर्दागर्दै निकालिएका वीरगञ्ज–२१ ताजपुरका सुनेश महतो तत्माले उद्योग प्रशासनले आफूहरुको मागको सुनुवाई नगरेको र प्रहरी प्रशासनले पनि दमन गरेको गुनासो गरे । ‘शान्तिपूर्ण धर्नामा थियौं, माग सुनुवाई नभएपछि ठेकेदारका मान्छेलाई उद्योग पस्न रोक्दै थियौं,’ उनले भने, ‘मर्कामा परेका मजदुरको समस्या समाधान गर्नुको साटो प्रहरीले उल्टै लाठी चार्ज गर्‍यो ।’

पटक–पटक जिल्ला प्रशासनमा वार्ता भएपनि उद्योग प्रशासनले आफूहरुलाई रोजगारीमा फिर्ता बोलाउने लगायतको माग पुरा गर्न तयार नभएको उनले गुनासो गरे ।

जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले आन्दोलनरत मजदुरहरुले स्वेच्छाले काम गर्न जानेहरुलाई समेत रोकेर उद्योग सञ्चालनमा बाधा पुर्‍याएकोले गेटबाट उनीहरुलाई हटाउने क्रममा सामान्य बल प्रयोग भएको बताइन् ।

‘शान्तिपूर्ण धर्नामा बस्न हामीले रोकेका थिएनौं, अरुलाई बाधा नपुग्ने गरी आफ्नो हक अधिकारका लागि लड्नु उचित नै हो,’ उनले भनिन्, ‘ तर आज एक्कासी आन्दोलनमा सहभागी नभएका, नियमित रुपमा उद्योगमा काम गर्न जाने मजदुरलाई समेत रोके । त्यसरी स्वेच्छाले काममा जानेलाई रोक्न त भएन नी । त्यसैले सामान्य बल प्रयोग गर्नुको साथै दुईजनालाई नियन्त्रणमा समेत लिएका हौं ।’

मजदुर धर्नामा आइतबार सांसद प्रदिप यादवले समेत ऐक्यबद्धता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment