Comments Add Comment

ब्रेक्जिट : ईयू र बेलायतबीचको सम्झौतामा किन भइरहेछ ढिलाइ ?

२३ मंसिर, काठमाडौं । बेलायत औपचारिक रुपमा युरोपेली संघ (ईयू)बाट बाहिरिन थालेको ११ महिना पूरा हुन लागेको छ ।

बाहिरिने क्रममा रहेको यो समयलाई संक्रमणकालीन अवधी मानिन्छ । उक्त संक्रमणकालीन समय डिसेम्बर ३१ बाट सकिँदैछ, जसका लागि अब करिब तीन साता बाँकी छ । यद्यपि यो संक्रमणकालीन समयमा गर्नुपर्ने धेरै कामहरु भने ईयू र बेलायत दुवै तर्फबाट हुन सकेका छैनन् । जसको असर संक्रमणकालीन अवस्था सकिएपछि ईयू र बेलायतको सम्बन्धमा देखिनेछ ।

विशेषगरी ब्रेक्जिटपछिको व्यापारको विषयमा बेलायत र ईयूको बीचमा सम्झौता हुन सकेको छैन । संक्रमणकालीन अवस्थामा अहिले ईयूभित्रकै नियमअनुसार यी दुई क्षेत्रको बीचमा व्यापार भइरहेको छ तर डिसेम्बर ३१ सम्ममा कुनै सम्झौता हुन नसके यी दुई क्षेत्रले अन्तर्राष्ट्रिय नियम पालना गर्नुपर्नेछ । जस अनुसार बेलायत र ईयूबीच व्यापारको लागि विश्व व्यापार संगठन (डब्ल्यूटीओ)ले तोकेअनुसारको भन्सार तथा अन्य नियमहरु पालना गर्नुपर्नेछ । त्यस्तै एक अर्काको क्षेत्रमा रहेका नागरिकहरुको विषयमा भने उनीहरुको बीचमा यसअघि नै सहमति भइसकेको छ ।

होला त सम्झौता ?

ब्रेक्जिटको मिति नजिकिँदै गरेकाले अहिले बेलायत र ईयू दुवै व्यापार लगायतका विषयमा सम्झौताको लागि वार्तामा छन् । तर, वार्ता सफल हुनेमा भने आशंका कायमै छ । सबै विषयमा वार्ताको लागि पर्याप्त समय पनि छैन । आयरल्याण्डका प्रधानमन्त्री माइकल मार्टिनले आइतबार ईयूसँग बेलायतको सम्झौता हुने सम्भावना ५०÷५० प्रतिशत रहेको बताएका थिए । त्यस्तै अब विना कुनै व्यापार सम्झौता बेलायत ईयूबाट बाहिरिने सम्झौता पनि बढ्दै गएको विश्लेषकहरुले बताएका छन् ।

पछिल्लो केही सातादेखि बेलायत र ईयू व्यापार सम्झौताको विषयमा वार्ता गरिरहेका छन् तर पनि व्यापारिक विवादका महत्वपूर्ण विषयहरुमा भने कुनै प्रगति भएको छैन । यसअघि एक वर्षको अवधिमा ईयूसँग वार्ता गरी ब्रेक्जिट गराउन निकै कठिन रहेको जानकारहरुले बताउँदै आएका थिए । तर, कोरोना भाइरस (कोभिड–१९)को महामारीको कारण यो एक वर्षमा पनि अधिकांश समय बेलायत र ईयूबीच वार्ता नभइकन नै बित्यो । त्यसैले अहिले अन्तिम समयमा दुवै क्षेत्रले व्यापार सम्झौताको लागि रस्साकस्सी गरिरहेका छन् । सोमबार ईयूका एक वरिष्ठ अधिकारीले डिसेम्बर ३१ भन्दा पहिला नै बेलायत र ईयूबीच व्यापार सम्झौता हुन्छ भनेर भन्न सकिने अवस्था नरहेको बताएका छन् । यसबाट पनि विना कुनै व्यापार सम्झौता बेलायत ईयूबाट बाहिरिने हो कि भन्ने आशंका जन्माएको छ ।

व्यापार सम्झौता नभए के हुन्छ ?

अहिले बेलायत वा ईयूमा रहेका कम्पनीहरुले एकअर्काको क्षेत्रमा आफ्नो सामान विना कुनै भन्सार निर्यात तथा आयात गर्न पाइरहेका छन् । तर, विना कुनै सम्झौता ब्रेक्जिट भए बेलायतबाट ईयूतर्फ निर्यात हुने सामग्रीमा विश्व व्यापार संगठन (डब्ल्यूटीओ)को नियमअनुसारको भन्सार लाग्नेछ । त्यस्तै ईयूबाट आउने सामग्रीमा पनि बेलायतमा सोही नियम लाग्नेछ । यसले वस्तुहरुको भाउ अहिले भएको भन्दा महँगो हुनेछ । यसले दुवै अर्थतन्त्रलाई नोक्सानी पुग्नेछ । यसअघि नै जानकारहरुले विना कुनै व्यापार सम्झौताको ब्रेक्जिटले बेलायतलाई ठूलो नोक्सानी हुन सक्ने बताउँदै आएका थिए ।

त्यतिमात्र होइन, अहिले यी दुवै क्षेत्रमा प्रवेश गर्ने सवारीसाधनहरुमा खासै चेकजाँच हुँदैन । विना कुनै सम्झौता ब्रेक्जिट भए एकअर्काको क्षेत्रबाट आउने सवारीसाधनमाथिको निगरानी बढ्नेछ ।

ब्रेक्जिटको पक्षधरहरुले भने ईयूबाट अलग भए बेलायतलाई विश्वका अन्य मुलुकसँग पनि व्यापार सम्झौताको मौका मिल्ने दाबी गरिरहेका छन् । तर, ईयूमा छँदा ईयूले विश्वका ७० भन्दा धेरै मुलुकसँग गरेको सम्झौता बेलायतलाई पनि लागू हुन्थ्यो तर अब भने उसले अन्य मुलुकहरुसँग पनि छुट्टै सम्झौता गर्नुपर्नेछ । जसमध्ये अहिलेसम्म उसले विश्वका ५० मुलुकहरुसँग ईयूमा रहँदाकै अवस्थाको जस्तो व्यापारिक सम्बन्ध कायम राख्ने सहमति गरिसकेको छ तर सबै मुलुकलाई भने उसले यसमा सहमत गराउन सक्ने सम्भावना कम देखिएको छ । यसो गर्न नसके बाँकी मुलुकहरुसँगको व्यापारिक सम्बन्ध अन्तर्राष्ट्रिय नियम अनुसार नै कायम हुनेछ ।

 विवादित विषय के-के हुन् ?

व्यापार सम्झौताका धेरै विषयहरु समाधान भइसकेको भए पनि केही महत्वपूर्ण विषयहरु भने बाँकी छन् । जसमा माछा मार्ने अधिकार, स्वच्छ व्यापारिक नियम र कुनै पनि सम्झौतालाई कार्यान्वयन गराउने संयन्त्रलगायतका विषयमा सहमति हुन बाँकी छ । पछिल्लो केही दिनयता उनीहरुको विवाद पनि सतहमा देखिन थालेको छ । गत शुक्रबार फ्रान्सले बेलायतको पानीमा माछा मार्न पाउने आफ्नो अधिकार सुनिश्चित हुनुपर्ने बताएको छ । अन्यथा बेलायतसँगको सम्झौतामा आफूले विशेषधिकार प्रयोग गर्दै रोक्ने चेतावनी दिएको छ । तर, बेलायतले भने यो विषय निरन्तरको वार्ताको माध्यमबाट समाधान गरिनुपर्ने बताएको छ । यी विषयमा देखिएको विवादको कारण यो सम्झौता हुने वा नहुने भन्ने विषयमा नै आशंका उत्पन्न भएको छ ।

ब्रेक्जिटपछि के-के परिवर्तन हुन्छ ?

ईयू र बेलायतबीच सम्झौता भए पनि वा नभए पनि डिसेम्बर ३१ पछि बेलायत ईयूबाट पूर्णरुपमा छुट्टिनेछ । यसरी ब्रेक्जिट भएपछि मानिसहरुको बसोबास र काम गर्ने नियममा केही परिवर्तनहरु भने निश्चितरुपमा हुनेछ ।

यसअघि बेलायत वा ईयूमा बसोबास, काम वा अवकाशको लागि स्वतः मान्यता पाउने गरेकोमा जनवरीदेखि यो क्रम रोकिनेछ । त्यसपछि मानिसहरुले उक्त कामको लागि बेलायत वा ईयूसँग अनुमति लिनुपर्नेछ । बेलायतले ईयूबाट आफ्नो मुलुकमा आएर बस्न चाहने मानिसहरुका लागि अंकको आधारमा आप्रवासनको नीति तय गर्नेछ ।

बेलायत वा ईयूमा भ्रमण गर्ने मानिसहरुको लागि पनि नियम परिवर्तन हुनेछ । अब यी दुई क्षेत्रमा रहेका नागरिकहरुले भ्रमण भिसामा एकअर्काको क्षेत्रमा जाँदा आफ्नो वैध पासपोर्ट, स्वास्थ्य बिमा र अन्य आवश्यक कागजातहरु पेश गनुपर्नेछ । ईयूको बजेटको लागि बेलायतले पैसा बुझाउनुपर्ने छैन । ईयूका मुलुकहरुमा बेलायतबाट आउने मानिसहरुलाई छुट्टै लाइनमा बस्नुपर्नेछ । दुई क्षेत्रबीको व्यापारका लागि धेरै कागजी प्रक्रियाहरु पूरा गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment