
२६ मंसिर, काठमाडौं । यमनमा एक साताभित्र विद्रोही सम्मिलित संयुक्त सरकार गठन हुने भएको छ ।
अन्तर्राष्ट्रिय समुदायले मान्यता दिएको यमन सरकार र दक्षिणी क्षेत्रमा स्वतन्त्र राज्यको माग गर्दै आएको एक विद्रोही समूहले संयुक्त सरकार गठनको तयारी गरेको साउदी अरब नेतृत्वको गठबन्धनले जनाएको छ ।
वर्तमान् सरकार र विद्रोही समूह साउदर्न ट्रान्जिसनल काउन्सिल (एसटीसी) का कूल २४ मन्त्री रहने गरी नयाँ सरकार गठन गर्न दुबै समूहले सहमति जनाइसकेका र यसै हप्तामा नयाँ सरकार गठन गरिने साउदी अरबको राज्य सञ्चालित साउदी प्रेस एजेन्सीले बताएको छ ।
केही दिनमा नै एसटीसीका सैनिकलाई व्यवस्थापन गरिने र त्यसपछि नयाँ सरकार गठन हुने जनाइएको छ । लगातारको प्रयासपछि सत्ता साझेदारीका लागि साउदी अरबको पहलमा सन् २०१९ को नोभेम्बरमा संयुक्त सरकार गठनको सम्झौता भएको थियो । तर, कोरोनाको विश्वव्यापी महामारीका कारण यो सम्झौता लागू हुन सकेको थिएन ।
दक्षिणी यमनमा सक्रिय एसटीसी र संयुक्त राष्ट्रसंघको पहलमा निर्माण गरिएको सरकार दुवैले यमनको अधिकांश उत्तरी भूभागलाई सशस्त्र हतियारको बलमा कब्जामा लिएको इरान निकट मानिने हुथी समूहसँगको लडाइँमा भने पहिलेदेखि नै सहकार्य गर्दै आएका थिए ।
यमनमा सन् २०१४ देखि जारी युद्धका कारण अधिकांश सर्वसाधारण र द्वन्द्वरत पक्षका दशौं हजार सैनिक तथा लडाकुको मृत्यु भैसकेको छ । संयुक्त राष्ट्रसंघका अनुसार यमनले अहिले अति गहिरो मानवीय संकटको सामना गरिरहेको छ ।
प्रतिक्रिया 4