Comments Add Comment

अनिता तुलाधर : मौन व्यक्तित्व, वाचाल लेखनी

२७ मंसिर, काठमाडौं । बीसको दशकमा पद्मकन्या क्याम्पसको ‘क्रेज’ छुट्टै थियो । साधारण जनताका छोरीहरूदेखि दरबारीया छोरीहरू पनि त्यहीँ पढ्थे । १८ वर्षकी अनिता तुलाधर पनि पद्मकन्यामा आईए पढ्दै थिइन् ।

एकदिन अनितालाई खोज्दै एकजना अधबैंशे पुरुष पद्मकन्या आइपुगे । आफूलाई खोज्न को मानिस आयो भनेर हच्किएकी अनिता ती व्यक्तिले आफ्नो परिचय दिएपछि पो झसङ्ग भइन् ।

ती व्यक्ति थिए कवि, हरिभक्त कटुवाल । त्यसबेलाका सर्वाधिक चर्चित कवि कटुवाल अनितालाई भेट्न आइपुगेका थिए । विद्यार्थी अनितालाई सुरुमा त विश्वास भएन । तर, हरिभक्तले अनिताको कथाकारिताको प्रशंसा गरे । उनले भने, ‘तिमीले लेखेका कथा मन पर्यो, अझै लेख्नू र मेरो पत्रिकामा पनि पठाउनू !’

त्यतिबेला कटुवाल ‘बान्की’ भन्ने गोजिका पत्रिका निकाल्थे । उनले आफ्नो पत्रिकामा अनितालाई स्थान दिए । कविता र गीतका उस्ताद कटुवालको त्यो हौसला नै अनिताको जीवनमा प्रेरणा बन्यो । त्यही प्रेरणाको बलमा उनी पाँच दशकदेखि निरन्तर कथा लेखिरहेकी छिन् ।

काठमाडौं त्रिपुरेश्वर बस्ने अनिता तुलाधारका अहिलेसम्म चार कथासंग्रह र एक अंग्रेजी कथाकृति प्रकाशित छ । फुटकर रुपमा दर्जनौं कथा, लघुकथा र कविता उनको नाममा प्रकाशित छन् ।

****

राणाकालदेखि नै न्यूरोड नक्षंगल्लीका तुलाधर परिवारको विरासत थियो । कोही सरकारी सेवामा थिए भने कोही राजनीतिक र सामाजिक कार्यमा नामी थिए । अनिताका पिता रामराज तुलाधर भने राणाकालको अन्त्यतिर नेपाल बैंक लिमिटेडमा जागिर गर्थे ।

त्यही क्रममा उनी विराटनगर पुगेका थिए । विराटनगरमै रामराजको जेठी छोरीको रुपमा अनिता तुलाधरको जन्म २००७ वैशाख १९ गते भयो । तर, क्रान्तिको समयमा सरकारी कर्मचारीलाई विराटनगर असुरक्षित थियो । रामराज सानी छोरी अनिता र जहानसँगै  काठमाडौं नै फर्के ।

काठमाडौं आएपछि अनिताले घरमै बुबासँग पढ्न थालिन् । पहिलो अक्षर चिनेको क्षण सम्झिँदै अनिता भन्छिन्, ‘घरमा मिल्ट्री शासनजस्तै थियो बुबाको नियम । साँझ ५ बजे नै उहाँको अगाडि पढ्न बसिसक्नुपर्थ्यो । अरु साथी आँगनमा खेलिरहँदा आफू भने पढ्न बस्नुपर्थ्यो ।’

घरकी एक्ली छोरी आठ वर्षको उमेरसम्म घरमै पढेपछि अनितालाई कान्ति हाइस्कुल प्याफलमा भर्ना गरियो । त्यहाँ एकैचोटी चार कक्षामा भर्ना भइन् उनी । स्कुलको वातावरण आधुनिक थियो । गीत, संगीत र खेलकुद सिकाइन्थ्यो । लजालु स्वभावकी अनिता अतिरिक्त क्रियाकलापमा भाग लिन्नथिन्  ।

अनिता भन्छिन्, ‘एसएलसीसम्म बुबाको कडा निगरानीमा बस्नुपर्यो । उहाँलाई पढाइभन्दा अन्य सृजनशील काममा हात हालेको मन पर्दैन थियो ।’

तर, अनिताका सहोदर काकाहरू दमनराज तुलाधर र तीर्थराज तुलाधर सृजनशील व्यक्ति थिए । अंग्रेजी साहित्यका ज्ञाता थिए । २०२४ सालमा कान्ति स्कुलबाटै अनिताले एसएलसी दिइन् । त्यतिबेलासम्म पनि उनको स्वभाव निकै मौन थियो ।

एसएलसीपछि उनी पद्मकन्या क्याम्पस भर्ना भइन् । स्कुलको सानो संसारमात्र देखेकी अनितालाई पद्मकन्या प्रवेश गर्दा अर्को संसार देखेजस्तो भयो । त्यहीँ उनले अतिरिक्त क्रियाकलापमा भाग लिन थालिन् । विज्ञ अध्यापकहरूको प्रवचन सुन्न पाइन् । कवि गोष्ठीमा भाग लिइन् । साहित्यकारहरू चिन्न थालिन् । चलचित्र हेरिन् ।

आइसँगै स्नातक (बिए) पनि पद्मकन्यामै पढिन् उनले । विवाह गरेको दश वर्षपछि फेरि कीर्तिपुरमा एमए पढ्न गइन् । निकै लगावका साथ नेपाली साहित्यमा एमएम पढेकी उनले पारिवारिक तनावले गर्दा थेसिस लेख्न पाइनन् । यसैले एमएको प्रमाण–पत्र उनीसँग छैन ।

स्नातक त गरिन् तर जागिर खान परिस्थितिले दिएन । २०३० सालमा काठमाडौंकै रैथाने पन्नाकाजी तुलाधरसँग विवाह गरिन् उनले । आफ्नै बुबा नेपाल बैंक र नेपाल वायुसेवा निगमको संस्थापक मध्येका एक थिए । तर स्वाभिमानी अनितालाई काका र बुबाहरूको सहायतामा जागिर खानु स्वीकार्य थिएन ।

अनिताकै काका तीर्थराज तुलाधर सञ्चार सचिव थिए । उनले घरको टेलिफोनको लागि आवेदन दिइन् । तर दश वर्षसम्म अनिताको घरमा फोन जोडिएन ।

दौडेर कहीँ पुगिहालौं भन्ने स्वभाव छैन उनको । लेखनमा होस् वा वास्तविक जीवन, केही पाइहालौं भन्ने आकांक्षा नभएको स्वीकार गर्छिन् उनी । भन्छिन्, ‘लोभले होइन रहरले दौडायो भने सपनाको संसारमा पनि छुन सकिन्छ । मालीको सहायतामा होइन जंगलमा फूलेको फूलको महत्त्व धेरै हुन्छ ।’

खाँटी कथाकार

स्कुल पढ्दा नै मनमा लागेका कुरा डायरीमा टिप्ने बानी थियो अनिताको । तर, बुबाको डरले कसैलाई भन्न सकेकी थिइनन् । त्यहीबेलादेखि उनको मन साहित्यमा भुलिसकेको थियो । १६ वर्षकै उमेरमा ‘मेरो मनको धोको’ भन्ने लामो–कथा लेखिसकेकी थिइन् उनले ।

अन्ततः त्यही कथा २०२४ सालको पद्मकन्याको वार्षिक मुखपत्र ‘कस्तुरी’मा छापियो । २०२८ मा पाटन कलेजमा आयोजित कथा प्रतियोगितामा प्रथम भइन् । कथा लेखनमा पुर्याएको योगदानका कारण दर्जनौं पुरस्कार पाइसकेकी छिन् । उनले रत्नश्री, नइ रेखा पुरस्कार, विश्व नारी नेपाली साहित्य पदक पाएकी छिन् ।

अनिताका अनुसार उनले ‘म पात्र’को प्रयोग गररेर धेरै कथा लेखेकी छिन् । ‘मैले कोरा कल्पनामा कथा लेखेको छैन । जीवनका तीता यथार्थ समेटेर कथाका मीठा बान्की बनाएको छु’, अनिता भनिरहन्छिन् ।

०२७ देखि ०४० सालसम्म अनितालाई लेख्ने हुटहुटी तीव्र थियो । यसबीचमा उनले सात–आठ दर्जन कथा र त्यत्तिकै कविता लेखिन् । उनको  संगतमा त्यतिबेलाका नामी साहित्यिक साथीहरू थिए । नेपाली साहित्यका स्वर्णकाल मानिने समयका शंकर लामिछाने, हरिभक्त कटुवाल, पारिजात, प्रेमा शाह, ध्रुवचन्द्र गौतम सँगसँगै थिइन् उनी पनि ।

तिनै साथीमध्ये कवि तोया गुरुङ उनको अभिन्न साहित्यिक साथी थिइन् । तोया र अनिता जहाँ जाँदा पनि सँगसँगै हुन्थे । साहित्यिक कार्यक्रम सकेर उनीहरू राति अबेर घर आइपुग्थे ।

विवाहअघि मात्र होइन बिहेपछि पनि हरिभक्त कटुवाल अनिताको घर आइरहन्थे । अनिताका छोराछोरी पनि कटुवाल भनेपछि हुरुक्क हुन्थे । छोरी पल्पसाले कटुवाललाई ‘जंगली मामा’ भनेको क्षण हिजैजस्तो लाग्छ अनितालाई ।

‘उहाँको मन पर्ने भनेकै जीवन्त कविता र गीत हो’ कटुवालको स्मरण गर्दै अनिता भन्छिन्, ‘व्यक्तिगत स्वभावमा त धेरै मनमौजी हुनुहुन्थ्यो कटुवाल दाइ तर, साहित्यको लागि भनेपछि ज्यानै फालेर होमिनुहुन्थ्यो ।’

बाध्यता र अभावका दिन सम्झिँदै अनिता भन्छिन्- एउटै तन्नाले घरको पर्दा हालेको र राति ओच्छयाएर सुतेको बेला पनि आँशु झारिनँ

कटुवालको मिजासिलो बानी अनिताको परिवारलाई पनि मन पर्थ्यो । अनिताको घर भाइपुस्ताका कविहरूको चिया खाने जक्सन बनेको थियो ।

तर, कतिपयले अनिता र हरिभक्तलाई जोडेर नचाहिने टिकाटिप्पणी गर्छन् । ती कुरा सुन्दा अहिले अनितालाई हाँसो उठ्छ । जो कमजोर उही बदनाम हुने कुरा उनलाई सत्य लाग्छ ।

व्यवहारिक कुरा जेजस्ता भए पनि कथा लेखनमाथि उनी प्रतिबद्ध छिन् । भन्छिन्, ‘म केही दिन्छु भनेर कथा लेखेको होइन । आफ्नै मनको बह पोख्दा कथा भयो । पाठकको मन छोयो होला तर, मलाई कुनै दम्भ छैन ।’

अनिताको पहिलो कथासंग्रह ‘फुलु’ २०३४ सालमा निस्कियो । फोन डायरी साइजको फुलुको भूमिका उनै कवि कटुवालले लेखेका छन् । कटुवाल लेख्छन्– ‘लेख अनिता ! भोलिले तिमीलाई पर्खिरहेछ । आजको यो सुन्दर समय भाग्न लागिरहेछ । त्यसलाई समात !’

भागेको समय समात्न अनिताको कलम पनि रफ्तारमा दौडियो । विवाह गरेको केही वर्षसम्म पनि उनको कलम तेज गतिमा थियो । तर छोरोछोरी हुर्काउने बेलादेखि उनका दुःखका दिन सुरु भए । घरको सबै काम एक्लैले गर्नुपर्ने उनको बाध्यता थियो ।

बाध्यता र अभावका दिन सम्झिँदै उनी भन्छिन्, ‘एउटै तन्नाले घरको पर्दा हालेको र राति ओच्छयाएर सुतेको बेला पनि आँशु झारिनँ ।’

अन्ततः शालीन विद्रोह र मौन संघर्ष नै अनिताको नियति बन्यो । आफूले पनि दुःख खेपेको र समाजमा महिला जातिले भोग्नुपरेको असीम दर्दहरू नै उनको कथाको मूल विषय बनेको छ ।

२०३५ मा साझा प्रकाशनबाट ‘रित्तो शहर’, २०४० मा ‘सूर्य ग्रहण’ र २०४६ मा प्रकाशित ‘बिडम्बना’ कथासंग्रहले अनिताले नेपाली कथामा दर्बिलो जग बनाएकी छिन् ।

छैन गुनासो 

‘तेल पोखिनु र बोली पोखिनु एउटै हो’ भन्ने उखान अनिताको जीवनको गाइडलाइन बनेको छ । एक त मौन स्वभाव त्यसमाथि बाहिरी सेरोफेरोमा चासो नदिएपछि सृजना नै उनको बोल्ने माध्यम बनेको छ ।

विवाह पछिको पारिवारिक संघर्षलाई दुःखका दिन मान्छिन् अनिता । भन्छिन्, ‘पढेर जागिर खाने समयमा जागिरै खान पाइनँ । दुई छोराछोरी र परिवारको सबै जिम्मेवारी मेरै काँधमा आयो ।’

उनलाई बाध्यता थियो– छोराछोरी छाडेर जागिर खाने कि समय बचाएर साहित्यमा लाग्ने । तर, अनिताको परिवारमा त्यतिबेला बच्चा हेरिदिने कोही भएनन् ।

घरमा एक्ली छोरी रहेकी अनिताले बुबाको डरदेखि बाहेक कष्ट के हो कहिल्यै भोगेकी थिइनन् । विवाह गरेपछि उनले दुःखका अभेद्य पहाड चढ्नुपर्यो । अहिले त्यही पहाडको टाकुराबाट जीवनलाई निहालिरहेका छन् ।  बेलाबेला पत्रकार तथा प्रशंकहरूले सोध्छन्, ‘दुःख के रहेछ ?’

उनको रडिमेड कथन छ– ‘दुःख टर्ने कुरा रहेछ । दुःख छ भनेर चिच्याएर मात्र केही हुँदैन, भोग्नै पर्छ ।’

परिवारमा संघर्ष गर्नुपरे पनि अनिताले पति पन्नाकाजीको साथ पाएकी छिन् । पछिल्लो एक दशकदेखि साहित्यमा फेरि सक्रिय भएकी छिन् । तर, अनितालाई पछिल्लो नेपाली साहित्य चित्त बुझेको छैन । चित्त नबुझेको कुरा भनिहाल्ने स्वभाव जन्मजात आएन उनमा । अरुको कुरा काट्ने, महिला भएर महिलालाई नै छेडखानी गर्ने काम अनिताका लागि विषसमान थियो । त्यसबाट उनी जहिले भागिरहिन् । यद्यपि, सार्वजनिक सरोकारका विषयमा बोल्नु आफ्नो कर्तव्य ठान्छिन् ।

अनिता भन्छिन्, ‘हिजो प्रज्ञा प्रतिष्ठानको आँगनमा जाँदा नै गौरवको महसुस हुन्थ्यो । एकै थलोमा माधवप्रसाद घिमिरे, सत्यमोहन जोशी, भुपी शेरचन भेट्न पाइने दिन थिए ।’

आजका साहित्यिक संस्था सबै बदनाम भएको उनको अनुभव छ । सबैलाई लोकतन्त्रले अभिव्यक्ति स्वतन्त्रता दिएको छ तर, आत्मअनुशासन बिनाको स्वतन्त्रताको अस्तित्व नदेख्ने अनिता भन्छिन्, ‘नयाँ पुस्ता प्रविधिमा अगाडि छ । स्वतन्त्रताको उपभोग गर्न पाएको छ । तर चुरो कुरा लेख्न सकेको छैन ।’

अनि आफ्नै भनाइमा अनिता पुन:प्रश्न गर्छिन्– ‘के अर्को पारिजात, अर्को वानीरा गिरी खोजेर पनि पाइन्छ ?’

प्रश्नहरू आफैंसामू तेर्सिएको लाग्छ उनलाई । यसपछि सजग हुन्छिन् र नयाँ पुस्तासँग सहकार्य गर्न तम्सिन्छिन् । अहिले उनको घरमै नयाँ साहित्यकारहरू पुगिरहन्छिन् । नयाँ पुस्तासँग उनी आफ्ना अनुभव साटासाट गर्छिन् ।

यसै सिलसिलामा नई प्रकाशनले गरेरे विश्व नेपाली साहित्य सम्मेलन खटिएर लागिन् । अहिले जीवनकै पहिलो कवितासंग्रह र नयाँ कथासंग्रह प्रकाशन गर्ने तयारीमा छिन् । महिला साहित्यकारको संस्था ‘गुञ्जन’सँग दुई दशकदेखि आबद्ध छिन् ।

अनिताको उमेरले ७० काटेको छ, तर मनमा उर्जा छ । एउटा महिलाले भोग्नुपर्ने सबै कुरा जीवनमा भोगेकी छिन् । घरधन्दा केही वर्ष अल्झिनुपरे पनि लेख्ने–पढ्ने काम नै जीवनको अभीष्ट बनेको छ । अहिले पनि जीवन भोगाइका तीतामीठा पलहरूलाई कथा बनाउने काम जारी छ ।

(तस्वीरहरू : आर्यन धिमाल, अनलाइनखबर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment