Comments Add Comment

महानगर दिवसमा ‘मृगौला बचाउ अभियान’ घोषणा

२८ मंसिर, काठमाडौं । काठमाडौँ महानगरपालिकाले आफ्नो स्थापना दिवसको अवसर पारेर ‘मृगौला बचाउ अभियान’ घोषणा गर्ने भएको छ । आज २६ औं काठमाडौँ महानगर दिवसबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले यस्तो जानकारी दिनुभएको हो ।

‘काठमाडौँ महानगरपालिकाले सामूदायिक र सरकारी अस्पतालसँगको सहकार्यमा मिर्गौलामा समस्या भएका महानगरवासीका लागि निःशुल्क हेमोडाइलासिस सेवा सञ्चालन गर्ने, अक्सिजन प्लाण्ट राख्ने, कोभिड–१९ को महामारीका बेला स्वास्थ्य सामग्रीसँगै पीसीआर मेसिन हस्तान्तरण गर्नेलगायतका काम गर्दै आएको छ,’ शाक्यले भने, ‘समयमै सावधानी अपनाउन सके लाखौँ रुपैयाँ खर्च गर्नु पर्ने र लामो समयसम्म पीडा खप्न बाध्य मृगौलाको सम्भावित जोखिम र रोगबाट बच्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न ‘मृगौला बचाउ अभियान’ घोषणा गर्न लागेको हो ।’

उनले दक्ष चिकित्सकको टोलीसहित ३२ वटै वडामा पुगी उक्त अभियान सञ्चालन गर्ने पनि जानकारी दिनुभयो । त्यसैगरी महानगर दिवसकै अवसर पारेर काठमाडौँ महानगरपालिकाले महानगरवासीको अभिमत लिन ‘अभिमत संकलन बुथ’ सञ्चालनमा ल्याएको पनि उहाँले जानकारी दिए ।

‘पूर्वाधार विकास, हरियाली प्रवर्द्धन, सम्पदा निर्माण–पुनर्निर्माण, सेवा प्रवाहलगायतमा काठमाडौं महानगरपालिकाले गरिरहेका विविध कार्यक्रम र आगामी दिनमा चाल्नुपर्ने सकारात्मक कदमका लागि महानगरवासीको अभिमत लिन यो पटक महानगर दिवसकै अवसर पारेर धेरै मानिस आवतजावत हुने शहरका विभिन्न ३० स्थानमा ‘अभिमत संकलन बुथ’ राखेको छ,’ शाक्यले भने,  ‘तीन दिनसम्म सञ्चालन हुने ती बुथबाट करीब ४० हजारको अभिमत संकलन हुने अपेक्षा गरेका छौँ ।’

वि.सं. १९७६ पुस ३ गते सफाइ अड्डाको संस्थागत संरचनाबाट विकास हुँदै २०५२ साल मंसिर २९ गते काठमाडौंलाई महानगर घोषणा गरिएको दिनलाई आधार मानेर हरेक वर्ष काठमाडौँ महानगरपालिकाले स्थापना दिवस मनाउँदै आएको स्मरण गराउँदै शाक्यले यो वर्ष पनि मंसिर २९ गते अर्थात भोलि सोमबार महानगरपालिकाले आफ्नो २६ औं महानगर दिवस विविध कार्यक्रमसहित मनाउँने तयारी गरेको जानकारी दिए।

‘अहिले विश्व नै कोरोनाको कहरमा छ । नेपाल र त्यसमा पनि संघीय राजधानी समेत रहेको काठमाडौँ महानगरपालिका पनि कोरोना कहरका कारण आक्रान्त छ । कोरोना रोकथाम र नियन्त्रणका विभिन्न प्रयास भैरहेको अवस्थामा विगतका वर्षहरुमा जसरी योपटक महानगर दिवस धुमधामका साथ बनाउने अवस्था रहेन,’ उनले भने, ‘सकेसम्म स्वस्थ्य मापदण्डको पालना गर्दै र सीमित कार्यक्रमका साथ यो पटक महानगर दिवस मनाउने तयारी भएको जानकारी गराउन चाहन्छु ।’

महानगर दिवसलाई व्यवस्थित बनाउन काठमाडौँ महानगरका प्रमुख शाक्यको अध्यक्षतामा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, वडाध्यक्षहरु र कार्यपालिका सदस्यहरु सदस्य रहेको २६ औं महानगर दिवस मुल समारोह समिति गठन गरिएको छ । यसैगरी क्षेत्रगत कामका लागि विभिन्न उपसमितिहरु गठन भएका छन् ।

यस वर्ष महानगर दिवसका अवसरमा ज्यापु समुदायका परम्परागत ६३ गुठी, खड्गी समुदायका ६० गुठी, गुँला बाजाका २३ वटा समूहका बाजा गुरु, इन्द्रजात्राका अवसरमा निकालिने पुलुकिसि, दीप्याखं, लाखे प्याखं, हल्चोक आकाश भैरव (सवःद्यः) र श्री करुणामय पँय्ताः परम्परागत बाजाका गुरुहरूलाई समेत सम्मान गर्ने कार्यक्रम रहेको छ । उक्त सम्मानबाट सम्मानित हुनेलाई जनही ३० हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गर्ने जानकारी दिएको छ ।

त्यसैगरी काठमाडौंका पहिलो जननिर्वाचित सभापति स्व. जनकमान श्रेष्ठका नाममा यो बर्ष २ जना जनप्रतिनिधि र २ जना कर्मचारीलाई ‘जनकमान श्रेष्ठ सुशासन पुरस्कार’ प्रदान गर्ने भएको छ ।  पुरस्कारबाट २ जना पुरुष २ जना महिलालाई सम्मान गर्ने पनि महानगरपालिकाले जानकारी दिएको छ ।

सेवा प्रवाहमा निरन्तर खटिरहेका काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुलाई सेवाभावमा थप अभिप्रेरित गर्ने हेतुले ५ जना जनप्रतिनिधि र ५ जना कर्मचारीलाई स्थानीय सेवा गौरव पदकबाट सम्मानित गर्ने पनि महानगरपालिकाले तयारी गरेको छ ।

‘महानगरबाट प्रवाह हुने सेवा तथा कामका बिषयमा नियमित समाचार प्रकाशन–प्रसारण गरेर नागरिको पहुँचसम्म सूचना पुर्याउन महत्वपूर्ण भूमिका खेलेका सञ्चारकर्मीमध्ये १० जनालाई ‘सुशासन पत्रकारिता पुरस्कार’ प्रदान गरिनेछ,’ पत्रकार सम्मेलनमा बोल्दै वडा–१५ का अध्यक्ष एवं प्रवक्ता ईश्वरमान डंगोलले भन्नुभयो, ‘साथै इन्द्रजात्रा सम्बन्धी अनुसन्धानात्मक पुस्तक विमोचन, उत्कृष्ट वडाको घोषणा एवं सम्मान गर्ने कार्यक्रम पनि रहेको छ ।’ कार्यक्रम सोमबार १० बजे राष्ट्रिय सभागृहमा सम्पन्न हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment