Comments Add Comment

सीमा क्षेत्रका समस्याप्रति गृह मन्त्रालय गम्भीर छ : सचिव न्यौपाने

२८ मंसिर, रौतहट । गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले सीमा नाका लामो समय बन्द हुँदा सीमा क्षेत्रका वासिन्दालाई परेका समस्याप्रति आफूहरु गम्भीर रहेको बताएका छन् ।

कोरोना भाइरस महामारी रोकथामका लागि भन्दै सरकारले गत चैतमा बन्द गरेको सीमा नाका मंसिर मशान्तसम्म जारी राखेको छ । तर रौतहट जिल्लालगायत सीमावर्ती क्षेत्रका वासिन्दाले सीमा नाका खोल्न माग गर्दै आएका छन् । आइतबार रौतहट आएका गृहसचिव न्यौपानेले सीमावर्ती वासिन्दाबीच सामाजिक साँस्कृतिक सम्बन्ध अप्ठ्यारो नपरोस् भनेर जिल्ला प्रशासन कार्यालयहरुले व्यवहारिक रुपमा सहजता प्रदान गरेको पनि बताए ।

उनले किसानले समयमा नै रासायनिक मल नपाउँदा त्यसको असर सीमा क्षेत्रमा देखिएको भन्दै किसानका नाममा मलको कालोबजारी भएकाले सुरक्षा निकाय सचेत हुनुपर्ने धारणा पनि राखे ।

कोरोना संक्रमण रोकथाममा संघीय सरकारले हरसम्भव प्रयास गरेको भन्दै उनले रौतहटमा पीसीआर ल्याब र ३ सय शय्याको आइसोलेसन निर्माणमा सहयोग गर्ने स्थानीय तहको प्रशंसा गरेका थिए ।

कार्यक्रममा रौतहटका १८ स्थानीय तहका प्रमुखलाई सम्मान गरिएको थियो । जिल्ला प्रशासन कार्यालयको भवनको लागि जग्गा प्रदान गर्ने जग्ग दाता गोपाल अग्रवाल, सञ्चारकर्मी र विभिन्न संघसंस्थाका प्रतिनिधिलाई सम्मान प्रदान गरिएको थियो ।

रौतहटको गौरमा प्रमुख जिल्ला अधिकारीको सरकारी निवासको शिलान्यास तथा जिल्ला प्रशासन कार्यालय भवनको उदघाटनका लागि गृह सचिव न्यौपाने आएका थिए ।

उनीसँगै नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, मुख्य अनुुसन्धान निर्देशक गणेश अधिकारीसहितको टोली रौतहट आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment