Comments Add Comment

बेसीशहर खानेपानी आयोजना उद्घाटन गर्ने तयारी

३० मंसिर, काठमाडौं । लमजुङ जिल्लाको बेंसिशहर बजार क्षेत्रलाई लक्षित गरी निर्माण कार्य अघि बढाईएको खानेपानी आयोजनाको काम सम्पन्न हुने चरणमा पुगेको छ । खानेपानी मन्त्रालय अन्तर्गतको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना लमजुङले उक्त आयोजनाको भौतिक प्रगति करिब ९७ प्रतिशत सकिएको जनाएको छ ।

आयोजनाको इन्जिनियर आशिष शर्माले बेसीशहर सहलगानी खानेपानी आयोजनाको काम अबको एक महिनाभित्र पूर्ण रुपमा सम्पन्न हुने बताए । भाचोक खोलाको पानीलाई प्रशोधन गरी बेंसिशहर बजारसम्म पाईपलाईन मार्फत वितरण गर्ने योजना अनुसार उक्त आयोजनाको काम सुरु गरिएको हो ।

‘आयोजनाका मुख्य मुख्य कामहरु सबै सकिएको छ,’ ईन्जिनियर शर्माले भने, ‘बजार क्षेत्रमा पाईप लाईन बिछ्याउँदा बिग्रिएको बाटो कालोपत्रे (पिच) हुने कार्य भईरहेको छ । पानी ट्यांकी र ट्रिटमेन्ट प्लान्टको निर्माण यसअघि नै सकिसकेको छ ।’

यस आयोजनाबाट २७ सय घरधुरीमा २४ सै घण्टा खानेपानी वितरण गर्ने तयारी भईरहेको उनले बताए । उक्त आयोजना अन्तर्गत ५ लाख लिटर, ३ लाख लिटर र १ लाख लिटर क्षमताका तीन वटा पानी ट्यांकीको निर्माण सम्पन्न भईसकेको आयोजना कार्यालयले जनाएको छ ।

बेसिशहर नगर क्षेत्रभित्र बसोबास गर्ने करिब ४० हजार जनसंख्या यस आयोजनाबाट प्रत्यक्ष लाभान्वित हुने संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना लमजुङका आयोजना प्रमुख देवेन्द्र झाले बताए । बेसीशहर नगरपालिका वडा नम्बर ७, ८, ९ र १० का जनतालाई खानेपानी पु-याउने योजना सहित तीन वर्षअघि ठेक्का सम्झौता भएको आयोजना प्रमुख झाले जानकारी दिए । झाले खानेपानी मन्त्री बिना मगरबाट आयोजनाको उद्घाटन गर्ने योजना रहेको सुनाए।

यो आयोजना निर्माणमा हालसम्म करिब १८ करोड खर्च भईसकेको छ । नेपाल सरकारको ७० प्रतिशत र स्थानीय उपभोक्ता समितिको ३० प्रतिशत लगानीमा सञ्चालित उक्त आयोजना सम्पन्न भएपछि बेंसिशहरबासीलाई २० वर्षसम्मका लागि खानेपानीको समस्या नहुने उपभोक्ता समितिको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment