Comments Add Comment

काठमाडौंका ६ वटा वडाको कार्यालय भवन तयार, ८ वटाको बन्दै

१ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका ६ वटा वडा नयाँ भवनको निर्माण सकिएको छ । ८ वटा वडाको भवन बनाउने प्रक्रिया अघि बढेको छ ।

प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा ३२ वटै वडाका वडा भवन व्यवस्थित गर्ने, पुर्ननिर्माण गर्ने र नयाँ निर्माण गर्ने अभियानलाई पूरा गरी छाड्ने प्रतिवद्धता पुनः परेको छन् ।

बुधबार वडा नम्बर २को कार्यालय भवनको शिलान्यास गर्दै उनले २०७४ सालको स्थानीय निर्वाचनपछिको पहिलो कार्यपालिका बैठकले महानगरको केन्द्रीय भवन र सबै वडाको आफ्नै कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको स्मरण गराउँदै उनले प्रतिवद्धता पुरा गर्ने बताए ।

भ्याटसहित ५ करोड २८ लाख १० हजार ४ सय ५६ रुपैयाँ लागत अनुमान रहेको वडा निर्माणका लागि बोलपत्रबाट न्यु ड्रागन निर्माण सेवाले भ्याटसहित ४ करोड १७ लाख १५ हजार ९४३ रुपैयाँ लागतमा कवोल गरेको छ ।

‘कतिपय ठाउँमा तला थप्ने काम अघि बढेको छ । कतिपय वडाको टेन्डर प्रक्रिया अघि बढेर शुभारम्भको चरणमा छ,’ उनले भने, ‘हाम्रै कार्यकालमा काठमाडौँ महानगरपालिकाका ३२ वटै वडामा सुविधा सम्पन्न भवन निर्माण गरी ती भवनबाट सेवा दिने प्रतिवद्धता अनुसार अहिले काम भैरहेको छ । ३२ वडामध्ये वडा-८ मा सामान्य विवाद देखिएको छ । ती बाहेक अन्य सबै वडामा विवादरहीत ढंगले पुर्ननिर्माण भइरहेको छ ।’

अधिकांश वडा भवनबाट सेवाग्राहीलाई सहज सेवा प्रदान गर्न समस्या हुने खालका रहेको भन्दै अब सबै वडालाई समयानुकुल विकास गर्दै लैजाने बताए ।

‘कोभिड-१९ का कारण अहिले पनि धेरै वडामा छिर्नै डराउनुपर्ने अवस्था छ । यस्तो गुनासो पनि आइरहेको छ,’ उनले भने, ‘हामीले विस्तारै सबै वडालाई समयानुकुल बनाउँदै लगेका छौँ ।’

उनले काठमाडौँ महानगरपालिकाले सबै वडा भवन निर्माण गर्दा मौलिकता झल्किने र बाहिरी स्वरुप एकै खालको हुने गरी निर्माण गरिरहेको पनि जानकारी दिए ।

‘हामीले निर्माण गरेका र गर्ने तयारी गरेका सबै वडा भवनको बाहिरी स्वरुप एकै खालको र मौलिकता झल्किने हुनेछ,’ उनले भने,  ‘भवन परम्परागत नेपाली शैलीको भए पनि भित्र सेवाग्राहीको सेवालाई ध्यानमा राखेर निर्माण गरिरहेका छौँ । यो सबै काम हाम्रै कार्यकाल भित्र सम्पन्न गरेरै छाड्छौँ ।’  शाक्यले वडा-९ र १८ को भवन उद्घाटन भै सेवा प्रवाह सुरु भैसकेको जानकारी दिए ।

वडा-३ को भवन निर्माण ९५ प्रतिशत सम्पन्न भएको छ । वडा-४ को भवन पुस मसान्त भित्र सम्पन्न गर्ने लक्ष्य छ । वडा- १४ को गृह प्रवेश भैसकेको छ भने वडा-२६ को भबनबाट पनि सेवा सुरु भएको छ । शाक्यले आफू टिममा विश्वास गर्ने भएकाले काठमाडौँ महानगरपालिकाले नामका लागि काम होइन कामका लागि काम गर्ने बताए ।

‘मेयर, उपमेयरको काम व्यवस्थापन गर्ने हो, संयोजन गर्ने हो,’ शाक्यले भने, ‘३२ वटै वडाका अध्यक्षलाई हामीले अघि लगाएरका छौँ । केही गुनासो छ भने तपाईँहरुले उहाँहरुलाई भन्नु । हामी समाधान गर्न तयार छौँ ।’ उनले सकेसम्म गुनासो नआउने गरी र जनताको चाहना अनुसार काम गर्ने प्रतिवद्धता पनि उनले व्यक्त गरे ।

‘अहिले काठमाडौँ महानगरपालिका गल्ली र चोकमा मात्रै होइन सडकमा पनि झिलिमिली बनाउने अभियानमा लागेको छ,’ उनले भन्नुभयो, ‘यसका लागि हामीले विद्युत प्राधिकरण र सडक विभागसँग सम्झौता गरिसकेका छौँ ।’

शाक्यले वडा-२ को कार्यालय भवनमा मुल सडकबाट आउने बाटो साँघुरो रहेको भन्दै स्थानीयले स्वतस्फूर्त रुपमा सहयोग गरेको अवस्थामा सडक फराकिलो बनाउन तयार रहेको पनि बताए ।

काठमाडौँ महानगरपालिकाका इन्जिनियर प्रेमबहादुर श्रेष्ठले वडा-६ को ढलान कार्य सम्पन्न भएको र वडा-१२ को टेन्डर प्रक्रियामा रहेको जानकारी दिए ।

‘वडा-२२ को दुई तल्ला ढलान भएको छ । वडा-२१ र २९ टेन्डर प्रक्रियामा रहेको छ,’ उनले भने, ‘वडा-३१ शिलान्यास हुने प्रक्रियामा छ भने वडा-१६ टेन्डर प्रक्रियामा जान बाँकी छ ।’ अन्य वडा भवनको पनि स्तरोन्नति गर्नेलगायतका प्रक्रिया अघि बढेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment