+
+
Shares

सवा करोडको लगानीमा बुटवलमा ‘जिप लाइन’ सञ्चालनमा   

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १ गते १९:११

१ पुस, बुटवल । बुलटवलको पर्यटकीय स्थल हिलपार्कमा साहसिक खेल ‘जिप लाइन’ सुरु भएको छ । आन्तरिक र वाह्य पर्यटकहरुलाई लक्षित गरी बुटवलको हिलपार्कबाट चाँदबारी डाँडासम्म जिप लाइन सञ्चालनमा ल्याइएको हो ।

स्थानीय लक्ष्मी आदर्श सामुदायिक वन उपभोक्ता समूहसँग सहकार्य गरी सार्वजनिक निजी साझेदारी (पीपीपी मोडेलमा) वाइल्ड बन्डर्स नेपाल प्रालिले लुम्बिनी प्रदेशमै पहिलोपटक यो साहसिक खेल सञ्चालनमा ल्याएको हो ।

लामो समय फुटबल खेलमा बिताएका फुटबल संघ रुपन्देहीका पूर्व अध्यक्ष हरिप्रसाद श्रेष्ठको पहलमा सामुदायिक वन क्षेत्रमा रहेको आकर्षक पर्यटकीय स्थल हिलपार्कमा जिप लाइन सञ्चालनमा ल्याइएको लक्ष्मी आदर्श सामुदायिक वनका अध्यक्ष यमबहादुर थापाले बताए । थापाका अनुसार सञ्चालनमा आएको जिप लाइन दुईतर्फी गरी १४ सय मिटर दुरी रहेको छ ।।

करिब सवा करोड लागतको गुरुयोजना अनुसार जिप लाइन परियोजनाको बाँकी काम भइरहेको सञ्चालक हरिप्रसाद श्रेष्ठले बताए । दुवै डाँडामा रुखमा नै आकर्षक ढंगले मचाङ बनाइएको छ ।

विशेष प्रकारको तार (जिप लाइन) मा झुण्डिएर पर्यटकले बुटवल शहरको दृश्यावलोकन गर्न सक्नेछन् । परियोजना अन्तर्गत लक्ष्मीनगर र हिलपार्कमा चिल्ड्रेन पार्क, चमेना गृह निमार्णको समेत तयारी छ ।

वनलाई नबिगारी साहसिक खेल भित्र्याउने काम गरिएको वन उपभोक्ता समूहका अध्यक्ष थापाले बताए । सस्तो मूल्यमा साहसिक खेलको अनुभव लिन सकिने उनले बताए ।

उद्घाटनको अवसरमा केही समयका लागि १ हजार ५ सय रुपैयाँमा दुईतर्फी यात्रा गर्न सकिने थापाले बताए । हाल वन उपभोक्ता मध्येकै सातजनाले रोजगारी पाएका र गुरुयोजना अनुसार पुर्वाधार पूरा हुँदा २० जना बढीले रोजगारी पाउने छन् । जिप लाइनमा खेल्ने पर्यटकको सात लाख रुपैयाँको बिमा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?