Comments Add Comment

विवाह पञ्चमीमा भारतबाट आएन जन्ती

२ पुस, जनकपुरधाम । कोरोना भाइरसका कारण भारतबाट जनकपुरधाममा जन्ती नआएपछि यस पटक आन्तरिकै तबरबाट विवाह पञ्चमीको प्रक्रिया पूरा गरिँदैछ । जस अनुसार बिहीबार तिलकोत्सव समारोह गरिएको छ ।

तिलकोत्सवमा भारतको अयोध्याबाट आउने जन्ती र जनकपुरधामका महन्थसहित पूजारी र ऋषिबीच भेटघाट र अंकमाल गर्ने गरिन्छ । अयोध्याको राम मन्दिरका महन्थ र जानकी मन्दिरका महन्थबीच अंकमाल गर्दै सम्धी मिलन गर्ने चलन छ ।

तर यस पटक अयोध्याबाट जन्ती नआउँदा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास र जनकपुरधामकै राम मन्दिरका महन्थ राम गिरीले अंकमाल गर्दै सम्धी मिलान गरेका छन् । रामतपेश्वरले बेहुलीको र गिरीले बेहुलाको प्रतिनिधित्व गरेका छन् ।

राम मन्दिरमा तिल्कोत्सव विधि गर्नुअघि जानकी मन्दिरबाट बाजागाजासहित भार लिएर एक टोली राम मन्दिर पुगेको छ । जानकी मन्दिरबाट १ सय १ वटा फलफूल तथा मिष्ठानसहितको भार लिएर जानकी मन्दिरबाट राम मन्दिर पुग्ने प्रचलन रही आएको छ ।

जन्ती नआएपनि व्यापक भिड

यस पटकको विवाहपञ्चमी शनिबार परेको छ । र, सोमबारदेखि नै सप्ताहव्यापी रुपमा यो पर्व मनाउन शुरु गरिएको छ । पहिलो दिन नगर दर्शनमा भगवान रामलाई नगर घुमाउने विधि पूरा गरिएको छ ।

दोस्रो दिन फूलबारी लीला अन्तर्गत रामजानकीको भेट फूलबारीमा गराइन्छ भने तेस्रो दिन धनुष यज्ञमा भगवान रामले धनुष तोडेको लीला देखाइन्छ । चौथो दिन बिहीबार तिल्कोत्सव मनाइएको छ भने शुक्रबार मटकोर विधि तथा शनिवार स्वयंवर तथा वैवाहिक कार्यक्रम निर्धारण गरिएको छ ।

आइतबार रामकलेवा विधि पूरा गरेपछि यस पटकको विवाहपञ्चमी औपचारिक रुपमा समापन हुनेछ ।

यस पटक विवापञ्चमीमा भारतको अयोध्याबाट जन्ती नआएपनि यो समारोहमा सर्वसाधारणको व्यापक भिड लागेको छ । जनकपुरधाम आसपासका साथै विभिन्न जिल्ला र सीमा बन्द भएपनि भारतीय श्रद्धालु यहाँ आएका छन् ।

बिहीबार तिल्कोत्सव विधि गर्दा श्रद्धालुको ठूलो भिड लागेको थियो ।

तिल्कोत्सवमा सहभागी हुन जानकी मन्दिरबाट राम मन्दिर जाने क्रममा प्रदेश सांसद, जनकपुरधाम उपमहानगरपालिकाका मेयर, उप मेयर, धनुषाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख सहित प्रशासनिक निकायका प्रमुखहरुले समेत सहभागिता जनाएका छन् ।

यो पर्व अन्तर्गत सबैभन्दा बढी भिड विवाहपञ्चमीकै दिन हुने गर्दछ । यस पटक पनि उल्लेख्य भिड रहने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment