Comments Add Comment

अमेरिकाको गुनासो : नेपालमा बंगुर र कुखुराको मासु निर्यात गर्न समस्या भयो

२ पुस, काठमाडौं । अमेरिकाले नेपालमा बुंगुर र कुखुराको मासु निर्यात गर्न असहज भएको गुनासो गरेको छ । नेपाल अमेरिका-व्यापार लगानी फ्रेमवर्क सम्झौता (टिफा) अन्तरगतको व्यापार लगानी सम्बन्धी सोमबार सम्पन्न पाँचाैं बार्तामा अमेरिकाले यस्तो गुनासो गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

खाद्य सुरक्षा तथा क्वरिन्टाइन मापदण्ड सम्बन्धमा नेपालले लिएको नीतिले ती वस्तुको निर्यातमा समस्या देखिएको गुनासो अमेरिकाले गरेको मन्त्रलयकी सहप्रवक्ता उर्मिला केसीले जानकारी दिइन् ।

नेपाली खाद्य सुरक्षाको नियमक निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट मान्यताप्राप्त खाद्य प्रमाण पत्र संलग्न गरे समस्या हल हुने जवाफ नेपालले अमेरिकालाई दिएको प्रवक्ता केसीले बताइन् ।

भर्चुअल माध्यमबाट भएको वार्तामा भन्सार र व्यापार सुविधा, बौद्धिक सम्पत्ति, डिजिटल ट्रेड र ई-कमर्स, श्रम, वित्तीय सेवा लगानी प्रवर्द्धन लगायतको विषयमा नेपाल र अमेरिकी अधिकारीबीच छलफल भएको थियो ।

एक अर्काको मुलुकको वस्तुहरु दुवै मुलुकको बजारसम्म पहुँचका लागि सहकार्य गर्न नेपाल र अमेरिका सहमत भएको पनि मन्त्रालयले जनाएको छ । अमेरिकाले नेपाललाई आफ्नो व्यापार सहजीकरण सुविधा अन्तरगत ७७ वटा वस्तुमा पाएको व्यापार सहुलियतको लाभ लिन नेपालको क्षमता अभिवृद्धि गर्न सहयोग गर्न प्रतिवद्धता जनाएको मन्त्रालयले जनाएको छ ।

वार्तामा नेपालको तर्फबाट वाणिज्य तथा आपूर्ति सचिव डा. बैकुण्ठ अर्याल सहभागी थिए भने अमेरिकी टोलीको नेतृत्व दक्षिण तथा मध्यएसियाका लागि साहायक प्रतिनिधि क्रिस्टोफर विल्सनले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment