Comments Add Comment

आम्दानी १ प्रतिशत पनि बढेन, मूल्यवृद्धि ४ प्रतिशतभन्दा बढी

७ पुस, काठमाडौं । कोरोनाको महामारीपछि श्रमिकहरुको आम्दानीको वृद्धिमा ठूलो प्रभाव देखिएको छ । सरकारी तथा निजी क्षेत्रमा कार्यरत कर्मचारीहरुको तलब तथा ज्यालादरको सूचकाङ्क यो वर्ष गत वर्षको भन्दा निकै कमजोर देखिएको हो ।

गत कात्तिकमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क ०.८५ प्रतिशतले मात्रै बढ्यो । अर्थात् श्रमिक वर्गको तलब औसतमा एक प्रतिशत पनि बढेन ।

अघिल्लो वर्षको कात्तिकमा उक्त सूचकाङ्क १०.४६ प्रतिशतले बढेको थियो । कात्तिकमा ज्यालादर सूचकाङ्क पनि १.१० प्रतिशतले मात्रै बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । ज्यालादर सूचकांकले निजी क्षेत्र अन्तरगत कृषि औद्योगिक र निर्माण लगायतका क्षत्रेमा कार्यरत श्रमिकको ज्यालाको वृद्धिदरलाई जनाउँछ ।

तलब तथा ज्यालादर सूचकाङ्कले तलब तथा ज्यालादरको सामान्य मूल्य स्तरलाई मापन गर्छ । राष्ट्र बैंकले २०६१/६२ लाई आधार वर्ष मानी तलब तथा ज्यालादर सूचकाङ्क प्रकाशन गर्दै आएको छ ।

६ वटा क्षेत्रका सरकारी तथा निजी संस्थामा कार्यरत अधिकृत र गैर-अधिकृत कर्मचारीहरूको तलब विवरणका आधारमा तलव उप-सूचकाङ्क र तीन क्षेत्रबाट लिङ्ग र सीपका आधारमा ज्यालादर विवरण संकलन गरी ज्यालादर उप-सूचकाङ्क तयार गरिन्छ । यी उप-सूचकाङ्कहरूको भार क्रमशः २६.९७ प्रतिशत र ७३.०३ प्रतिशत रहने गर्छ ।

कात्तिकमा तबल सूचकाङ्क कमजोर देखिएपनि मूल्यवृद्धि दर भने त्यसको तुलनामा उच्च छ । गत कात्तिकमा वाषिर्क बिन्दुगत उपभोक्ता मूल्यवृद्धिदर ४.०५ प्रतिशत रह्यो ।

अघिल्लो वर्षको कात्तिक महिनामा यस्तो मूल्यवृद्धि दर ५.७६ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि दर ५.७३ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मूल्यवृद्धि दर २.७५ प्रतिशत रहन पुग्यो ।

२०७६ कात्तिकको तुलनामा २०७७ कात्तिकमा तरकारीमा भारी मूल्यवृद्धि भयो । तरकारीमा २०.८८ प्रतिशत र दाल तथा गेडागुडीको मूल्यवृद्धि १३.७० प्रतिशत भयो ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ३.३९ प्रतिशत, तराईमा ४.६९ प्रतिशत, पहाडमा ३.६४ प्रतिशत र हिमालमा ४.३२ प्रतिशत मूल्यवृद्धि भयो । गत वर्षको कात्तिकमा यी क्षेत्रहरुमा क्रमशः ६.५० प्रतिशत, ६.०४ प्रतिशत, ४.५६ प्रतिशत र ४.०१ प्रतिशत मूल्यवृद्धि भएको थियो ।

२०७७ कात्तिकमा वार्षिक बिन्दुगत थोक मूल्यवृद्धि दर ९.४१ प्रतिशत रह्यो । अघिल्लो वर्षको सोही महिनामा थोक मूल्यवृद्धि दर ७.५७ प्रतिशत थियो ।

कात्तिकमा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ७.७२ प्रतिशत, ११.४८ प्रतिशत र ३.४५ प्रतिशत रहन पुग्यो । कात्तिकमा निर्माण सामग्रीको थोक मूल्य ०.१९ प्रतिशतले घटेपनि मंसिरबाट बढ्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment