१९ कात्तिक, काठमाडौं । इरानको राजधानीमा खानेपानीको संकट भएको छ । सरकारी सञ्चारमाध्यमका अनुसार राजधानी तेहरानमा दुई हप्तामा खानेपानीको मुख्य स्रोत पूरै सुक्ने खतरा देखिएको हो ।
तेहरानमा पानी आपूर्ति गर्दै आएको एक कम्पनीका निर्देशक बेहजाद पारसाले मुख्य स्रोत कबीर बाँधमा अब जम्मा १४ मिलियन क्यूबिक मिटर मात्र पानी रहेको बताए । एक वर्षअघि यहाँ ८६ मिलियन क्यूबिक मिटर पानी थियो ।
अब बाँकी रहेको पानीले राजधानी तेहरानको माग दुई हप्तामात्रै धान्ने निर्देशक पारसाले चेतावनी दिएका छन् ।
तेहरानले लामो समयदेखि खडेरीको मारमा छ । जसका कारण उसले दशकौं यताकै ठूलो जल संकट झेलिरहेको छ । एक स्थानीय अधिकारीका अनुसार अक्टोबरमा वर्षाको स्तर शताब्दीमै कम भएको बताए ।
इरानको सरकारी समाचार संस्था इस्लामिक रिपब्लिक न्यूज एजेन्सी (आईआएएनए) भनेको छ, ‘यदि आगामी महिनामा वर्षा भएन भने तेहरानमा खानेपानीको आपूर्तिमा गम्भीर चुनौती सामना गर्नुपर्नेछ ।’
तेहरानका एक बासिन्दाले पहिचान नखुलाई बीबीसी फारसीसँग भने, ‘पानीको कटौती र पानीको प्रेसर समेत घट्दा अपार्टमेन्टमा पानी चाँडै सकिन्छ वा हुँदै हुँदैन ।’
यस्तो अवस्था सामना गर्न निकै मुश्किल भएको उनले बताए । खासगरी गर्मीका बेला भीषण वायु प्रदूषणमा पानी नहुँदा गाह्रो हुने गरेको उनले बताए । ‘घरमा साना बच्चा वा वृृद्ध छन् भने स्थिति झन् खराब हुन्छ, किनकि पानीको आपूर्तिको समस्या कहिलेकाँही त घण्टौंसम्म व्यहोर्नुपर्छ,’ ती स्थानीयले भने ।
इरानभर पानीको कमीका कारण बारम्बार विद्युत कटौती हुँदा नागरिकमा निराशा बढ्दै गएको छ ।
जल संकटका कारण इरानको राजधानी तेहरानदेखि खुजेस्तान र सिस्तान–बलुचिस्तान प्रान्तका गाउँ प्रभावित छन् । पानी अभावको पीडा असैह्य भएको स्थानीय बताउँछन् ।
लगातार पाँच वर्षदेखिको खडेरी र रेकर्डस्तरको गर्मीका कारण तेहरानमा भूमिगत धारा (चापाकल) सुक्न थालेका छन् । विद्युत गृहका जलासयमा समेत पानीको मात्रा इतिहासकै सबभन्दा कम स्तरमा पुगेपछि अहिले इरानमा लोडसेडिङ सामान्य भएको छ ।
डे जीरो
केही हप्तामै पानीको उपभोग भारी मात्रामा कटौती गरिएन भने तेहरानका केही क्षेत्रले ‘डे जीरो’को सामना गर्नुपर्ने अधिकारीहरूले चेतावनी दिएका छन् ।
त्यस्तो अवस्थामा उपभोक्ताका घरको पानीको लाइन क्रमश: काट्न थालिने र पानीको आपूर्ति स्ट्याण्डपाइप वा ट्याङ्करका माध्यमले हुने उनीहरूको चेतावनी छ ।
डे जीरोको अर्थ अस्पताल र अत्यावश्यक सेवालाई प्राथमिकता दिँदै घरायसी पानीको आपूर्तिमा कटौती गर्नु हो । यस्तो अवस्थामा निश्चित मात्रामा घरहरूमा पानी आपूर्ति हुनेछ ।
यस्तो स्थितिमा खानेपानी वितरण विभागका कर्मचारीहरू बारम्बार टोलमा पानीको वितरणमा खटिनुपर्नेछ । जसकारण धनाढ्य वर्गलाई त्यति असर नगरेपनि निम्न वर्गले भने निकै संघर्ष गर्नुपर्ने देखिन्छ ।
इरानको पर्यावरण विभागको उपप्रमुख भइसकेका प्रोफेसर कावेह मदनीले भने, ‘मानिस आफूलाई अवस्थाअनुसार ढाल्छन् तर, मेरो सबभन्दा ठूलो चिन्ता भने आगामी वर्ष पनि यस्तै सुख्खा भयो झन् कठिन हुनेछ ।’

इरानमा अत्यधिक गर्मी र विद्युत गृहमा पुरानो भइसकेका ग्रिडमा दबाब बढेर यस्तो स्थिति आएको विज्ञहरू बताउँछन् ।
संयुक्त राष्ट्रसंघीय विश्वविद्यालयको पानी, वातावरण र स्वास्थ्य संस्थानका निर्देशक प्राध्यापक कावेह मदनीले इरानको हालको समस्यालाई केवल पानीको संकट भन्न नहुने बताउँछन् । उनले भने, ‘यो केवल पानीको संकट होइन, यो त पानीको स्रोत नै सकिनु हो । यसको पूरै क्षतिपूर्ति सम्भव छैन ।’
संयुक्त राष्ट्रसंघको मरुभूमिकरण रोकथाम सन्धि (यूएनसीसीडी) का डेनियल सगायले इरानको समस्या अरू देशका लागि पनि चेतावनी भएको बताउँछन् ।
उनले भने, ‘जब जलसंकट, जलवायु परिवर्तन र कमजोर शासन एकैसाथ देखापर्यो भने देशको हालत के हुन्छ भन्ने इरानको समस्याले देखाउँछ ।’
इरानको परराष्ट्र मन्त्रालय, लन्डनस्थित दूतावास र कन्सुलेटसँग देशमा भइरहेको जलसंकटबारेको योजना सोध्दा कुनै प्रतिक्रिया प्राप्त नभएको बीबीसीले जनाएको छ ।
राजधानी तेहरान र सुक्दै गएका बाँधहरू

करिब एक करोड जनसंख्या भएको राजधानी तेहरानको खानेपानी आपूर्ति मुख्यत: पाँच प्रमुख बाँधमा निर्भर छ ।
तर तीमध्ये लार बाँध लगभग सुकिसकेको बताइएको छ । यो अहिले आफ्ना सामान्य स्तर अर्थात् जम्मा एक प्रतिशत क्षमतामा चलिरहेको छ ।
इरानका राष्ट्रपति मसुद पेजेश्कियानले संकटलाई मध्यनजर गर्दै जनतालाई बिजुलीको प्रयोगमा कम्तीमा २० प्रतिशत कटौती गर्न आग्रह गरेका छन् ।
सरकारी तथ्यांकअनुसार बिजुलीको मागमा गत वर्षको तुलनामा १३ प्रतिशत कमी आएको छ ।
बिजुली बचतका लागि सरकारी भवनहरू र केही सार्वजनिक कार्यालयहरू नियमित रूपमै बन्द गर्न थालिएको छ । जसका कारण व्यावसायिक गतिविधिमा आर्थिक असर देखिन थालेको छ ।
सुक्दै गए पानीका स्रोत

आधिकारिक तथ्यांकअनुसार विगतका वर्षहरूसँग तुलना गर्दा गत वर्ष ४०–४५ प्रतिशत कम वर्षा भएको थियो र केही क्षेत्रमा त ७० प्रतिशत सम्म थोरै वर्षा मापन गरिएको थियो ।
तर प्राध्यापक मदनी भन्छन्, ‘यो केवल प्राकृतिक कारणले आएको सुख्खा होइन । दशकौँदेखि प्रकृतिले दिएकोभन्दा धेरै पानी प्रयोग गर्दै आएको छ इरानले । पहिले नदीनालाहरू सुकाए, त्यसपछि भूमिगत पानी दोहन गरे ।’
उनका अनुसार राज्यको खराब नीति र अत्यधिक दोहनले नै अहिले इरानले जल संकट व्यहोर्नु परेको हो । ‘जलवायु परिवर्तनले त यो संकटलाई अझ गम्भीर मात्र बनाएको हो,’ उनले भने ।
इरानमा ९० प्रतिशत पानी खेतीका लागि प्रयोग हुन्छ । तर खराब सिँचाइ प्रणाली र प्रतिकूल ठाउँमा धान र उखु जस्ता बढी सिँचाइ आवश्यक पर्ने बालीहरू लगाउने चलनले समस्या झन् बढाएको छ ।
पाइप लिकेज र पानीको दुरुपयोग
तेहरानमा उपभोग योग्य पानीको २२ प्रतिशत हिस्सा पुरानो पाइपलाइन फुटेर चुहावट हुने गरेको बताइन्छ । त्यसो त पाइपबाट हुने चुहावटको समस्या युरोपमा पनि उस्तै छ ।
वाटर न्यूज युरोपका अनुसार युरोपियन युनियनमा खानेपानीको २५ प्रतिशत चुहावट भएर खेर जान्छ । अमेरिकामा पनि १४–१८ प्रतिशत पानी यस्तै कारणले नोक्सान हुन्छ ।
इरानमा सन् १९७० पछि भूमिगत पानीको अत्यधिक दोहनका कारण स्रोत ७० प्रतिशतसम्म घटेको छ । केही क्षेत्रमा जमिन नै वर्षेनी २५ सेन्टिमिटरसम्म धसिँदै गएको छ । जसले जलधारण गर्ने माटोका तहहरू ढल्न थालेका छन् ।
विद्युत संकट र अन्धकार
पानीको कमीले इरानमा ऊर्जा संकट पनि चुलिँदै गएको छ । बाँधहरू सुक्दा विद्युत उत्पादन बन्द हुँदै जान थालेका छन् । ग्यास प्लान्टहरू एयर कन्डिसन र पानी पम्पहरूको बढ्दो माग पूरा गर्न संघर्षरत छन् ।
इरानको सरकारी समाचार संस्था आईआरएनएका अनुसार जुलाई महिनामा बिजुलीको माग ६९ हजार मेगावाट पुगेको थियो तर, आपूर्तिको क्षमता ६२ हजार मेगावाट मात्र थियो । अब त्यहाँ दैनिक २–४ घण्टा बिजुली कटौती सामान्य भइसकेको छ ।
सरकारको प्रतिक्रिया र आलोचना

ऊर्जामन्त्री अब्बास अली आबादी भन्छन्, ‘पिउने पानी सबैभन्दा प्राथमिक आवश्यकता हो, र सबैले पाउनुपर्छ ।’
यस वर्ष अपनाइएका उपायहरूले तीन गुणा बढी पानी बचाउन सफल भएको उनको दाबी छ ।
तर सरकारमाथि बिजुली अभावका बीच पनि क्रिप्टोकरेन्सी माइनिङ गर्न अनुमति दिएको आरोप लागेको छ । कतिपय माइनिङ स्टेशनहरू राजनीतिक व्यक्तित्वहरूसँग पनि जोडिएको बताइन्छ ।
मन्त्री आबादीले भनेका छन्, ‘अवैध क्रिप्टो गतिविधिहरूले बिजुली आपूर्तिमा दबाब सिर्जना गरेका छन्, र त्यसलाई नियन्त्रण गर्न गाह्रो छ ।’
विरोध र विस्थापन
खुजिस्तान र सिस्तान–बलुचिस्तान लगायतका प्रान्तमा ‘पानी, बिजुली र जीवन’ भन्ने नारासहित विरोध प्रदर्शन भइरहेका छन् । मुहान र नहरहरू सुक्दा पर्यावरणमा समेत गम्भीर असर देखिन थालेको छ ।
ग्रामिण क्षेत्रका धेरैजसो परिवार रोजगारी र आधारभूत सेवाको खोजीमा राजधानी तेहरानतिर बसाइँ सर्न थालेका छन् ।
संकटका बीच बसाइँसराइँको बढ्दो क्रमले राजधानी तेहरानमा सामाजिक अस्थिरता निम्त्याउन सक्ने विज्ञहरूले चेतावनी दिएका छन् ।
लामो समयदेखिको सुख्खाले इरानमा कृषि, ऊर्जा, स्वास्थ्य, यातायात र पर्यटन सबै क्षेत्रमा असर पारेको छ ।
क्षेत्रीय र वैश्विक असर

गत जुनमा इरानमाथिको आक्रमणका बेला इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरान स्वतन्त्र भएपछि समुद्री पानीको उपयोग गर्न सक्ने बताएका थिए ।
नेतन्याहूले समुद्री पानी प्रशोधन र पुन:प्रयोग प्रविधिबारे इरानी जनतालाई भनेका थिए, ‘जब तपाईंको देश स्वतन्त्र हुनेछ, तब यी प्रविधिबाट लाभ लिन सक्नुहुनेछ ।’
इरानले नेतन्याहूको भनाइलाई राजनीतिक नाटकको संज्ञा दिँदै गाजामा भइरहेको मानवीय संकटको प्रसंग स्मरण गराएको थियो ।
यूएनसीसीडीका डेनियल सगाय भन्छन्, ‘यो संकट इरानको मात्र होइन, सम्पूर्ण पश्चिमी एशियाकै समस्या हो ।’
मानवद्वारा सिर्जित सुख्खा र विश्वका लागि चेतावनी
संयुक्त राष्ट्रसंघका अनुसार सन् २००० देखि हालसम्म विश्वभर २९ प्रतिशतले जल संकटमा वृद्धि भएको छ ।
यदि अहिलेकै जस्तो अवस्था कायम रहे सन् २०५० सम्ममा चारमध्ये तीन जना मानिसले पानीको संकट व्यहोर्नुपर्ने राष्ट्रसंघको चेतावनी छ ।
यूएनसीसीडीका डेनियल सगाय भन्छन्, ‘अब प्रश्न यो होइन कि सुख्खा हुन्छ कि हुँदैन; प्रश्न यो हो कि— कहिले हुन्छ ?’
‘हामीसँग प्रविधि छन्, तर तिनलाई नीति र व्यवहारत: नबदल्नु नै सबैभन्दा ठूलो चुनौती हो,’ उनले भने ।
समाधानका सम्भावना

विशेषज्ञहरूका अनुसार इरानले तुरुन्तै पानी, ऊर्जा र भूमिसम्बन्धी नीतिहरूमा सुझबुझपूर्ण निर्णय लिँदै ठोस कदम चाल्नुपर्नेछ ।
इरानले सात वर्षभित्र ४५ अर्ब घनमिटर पानीको खपत घटाउने लक्ष्य लिएको छ । यसका लागि पानी पुन:प्रयोग, ड्रिप सिँचाइ र आपूर्ति सुधारका कार्यक्रम छन् ।
तर अन्तर्राष्ट्रिय प्रतिबन्ध, प्रशासनिक ढिलाइ र लगानीे अभावले यी लक्ष्य भेट्याउन इरानलाई निकै मुश्किल पर्ने देखिन्छ ।
पर्यावरणविद् कावेह मदनी चेतावनी दिँदै भन्छन्, ‘इरानले अन्तत: जल संकटको अवस्थालाई स्वीकार गर्नैपर्छ ।’
सरकारले आफ्नो विफलता स्वीकार्न ढिला गरे पतन हुने उनले चेतावनी दिए ।
तेहरानका धाराहरूमा गर्मीमा पानी आउँछ कि आउँदैन भन्ने कुरा मौसमले होइन, प्रशासनले कति छिटो कदम चाल्छ भन्ने कुराले निर्धारण गर्ने उनको भनाइ छ ।
प्रतिक्रिया 4