Comments Add Comment

एक यस्तो बिहे, जहाँ २० जनाको अनुमति थियो तर बोलाइयो १० हजार पाहुना

काठमाडौं । कोरोना भाइरस महामारीका कारण कैयन् धनाढ्यहरुको भव्य भोज सहितको विवाह गर्ने सपनामा तुषारापात भैरहेको छ । सयौँ पाहुना बोलाइने विवाहहरु देख्न पाइएका छैनन् र पाहुनाको संख्या सीमित हुने गरेको छ ।

मानिसहरु आफ्ना नजिकका आफन्त तथा नातेदारहरु मात्र बोलाएर बिहे समारोह तथा भोजहरु गर्ने गरेका छन् । तर मलेसियामा भने एक जोडीको बिहेमा केवल २० जना मात्र पाहुना बोलाउने इजाजत हुँदा समेत १० हजार पाहुना बोलाइयो ।

२० जनाको अनुमति हुँदा १० हजार पाहुना बोलाएपछि कानून तोडेको आरोपमा कारवाही हुनुपर्ने हो । तर त्यस्तो भएन । ती सबै पाहुनालाई व्यवस्थित तरिकाले सामाजिक दूरी कायम गराएर बिहे समारोह तथा भोज सम्पन्न गरिएको छ ।

बेहुला टेंकु मोहम्मद हाफिज र बेहुली ओसियाने अलाहिया बीच बिहे भएको थियो ।

आइतबार बिहानै उक्त नवविवाहित जोडी राजधानी क्वालालम्पुरको दक्षिणमा अवस्थित पुत्राजयामा एक भव्य सरकारी भवनको बाहिर उभिए । विस्तारै ठूलो संख्यामा कारहरुमा चढेर पाहुनाहरु आए र उक्त जोडीलाई आफ्नो शुभकामना दिँदै फर्किए । कुनै पनि पाहुना आफ्नो कारबाट बाहिर निस्किएनन् । कारलाई बेहुला बेहुलीको अगाडि लगेर र कारभित्रैबाट शुभकामना प्रकट गर्दै अगाडि बढे ।

विवाहित जोडीले पनि टाढाबाट हात हल्लाएर पाहुनालाई स्वागत गरे र उनलाई धन्यवाद दिए । सोही प्रकारले दश हजार पाहुनाहरु आ–आफ्नो कारमा भवनको अगाडिबाट गुज्रिएरै विवाह समारोहमा सरीक भए ।

सडकमा जब कारहरुको लाइन गुडिरहँदा त्यस्तो विशेष तरिका अपनाएर उक्त जोडीले सामाजिक दूरीको नियम पालना गरेरै बिहेमा तोकिएको २० जना पाहुनाको नियम पनि अनौठो तरिकाले तोडे । तर पनि उनले अपनाएको त्यस्तो तरिकाका कारण नियम तोडिएको मानिएन र उनी कारवाहीको भागीदार हुनु परेन ।

अनौठो त के भने ती १० हजार पाहुनालाई खानेकुराको समेत व्यवस्था गरिएको थियो र त्यसक्रममा पनि सबै नियमको पालना गरियो ।

मलेसियाली मिडियाका अनुसार जब पाहुनाहरु बेहुला–बेहुलीलाई बधाई दिएर कार अगाडि बढाउँथे सबैलाई पहिले नै तयार पारिएका खानेकुराको प्याकेट हातमा थमाइन्थ्यो । पाहुनाहरुले कारको झ्यालबाट हात बाहिर निकालेर उक्त खानेकुराको प्याकेट ग्रहण गर्दथे । १० हजार पाहुना कारबाटै बिहे समारोहमा सहभागी हुने कार्यक्रम पूरा हुँदा ३ घण्टाको समय लागेको थियो ।

जुन प्रकारले उक्त विवाहमा पाहुना सत्कारको तरिका असामान्य थियो विवाह गर्ने जोडी पनि कुनै सामान्य व्यक्ति थिएनन् । बेहुला टेंकु मोहम्मद मलेसियाली एक प्रभावशाली नेताका छोरा हुन् । उनका बुवा टेंकु अदनान पूर्वमन्त्री समेत हुन् ।

दुर्भाग्य त के भयो भने बेहुलाका पिता टेंकु अदनानलाई बिहेको अर्को दिन नै भ्रष्टाचारको आरोपमा दोषी ठहर गरियो । त्योसँगै उनलाई पाँच लाख डलर र १२ महिनाको जेल सजायँ भएको छ ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment