Comments Add Comment

टी-१० लिगले नेपाली क्रिकेटलाई राहत, खेलाडी उत्साहित

पारस भन्छन् : नेपाली क्रिकेटरको डिमान्ड बढ्यो

९ पुस, काठमाडौं । यूएईमा आयोजना हुने चौथो संस्करणको अबुधाबी टी-१० लिगका लागि नेपालबाट ३ खेलाडी छनोट भएसँगै सुसुप्त अवस्थामा रहेको नेपाली क्रिकेटमा नयाँ रक्तसञ्चार भएको छ । त्यसअघि पूर्वकप्तान पारस खड्का टिम अबुधाबीका लागि इमर्जिङ ट्यालेन्ट मेन्टरको रुपमा नियुक्त भइसकेका थिए ।

पहिलोपटक विदेशी लिगमा यति धेरै नेपाली खेलाडी छनोट भएका हुन् । फास्ट बलरद्वय करण केसी र सोमपाल कामी तथा युवा अलरउण्डर कुशल मल्लले टी-१० लिग खेल्ने भएका छन् । करण र कुशल कुनै पनि विदेशी लिगमा छनोट भएको यो पहिलो पटक हो । सोमपालको लागि भने यो दोस्रो लिग हुनेछ । उनी गत वर्ष क्यानडाको ग्लोबल टी-२० लिगमा छनोट भएका थिए ।

आबुधावी टी-१० लिगमा भने तीनै जनाको पहिलो अनुभव हुनेछ । बुधबार सम्पन्न ड्राफ्टमा साविक विजेता समेत रहेको मराठा अरेबियन्सले सोमपाललाई छनोट गरेको हो । यस्तै पारस मेन्टर रहेको टीम अबुधाबीले युवा खेलाडी कुशललाई छनोट गर्दा पुने डेभिल्सले करणलाई रोजेको छ ।

गत वर्ष पारसले अबुधाबीबाट खेलेका थिए । यस सिजनमा भने उनी फरक भूमिकामा छन् । यस्तै गत सिजन कर्नाटका टस्कर्सबाट खेलेका नेपाली युवा स्टार सन्दीप लामिछाने भने यसपटक टी१० लिग खेल्ने छैनन् । बिग बास लिगका लागि उनी हाल अष्ट्रेलियामा छन् । बिग बास र टी-१० लिग दुवै फेब्रअरी ६ सम्म चल्नेछन् ।

तीन खेलाडी छनोट भएपछि सामाजिक सञ्जालभर यो विषय खुबै छाएको छ । नेपाल क्रिकेट संघ क्यानदेखि खेलाडीहरु क्रिकेटप्रेमी सबैले उनीहरुलाई बधाई दिइरहेका छन् ।

राष्ट्रिय टिमका निर्वतर्मान कप्तान समेत रहेका पारस खड्का यसलाई लिएर निकै खुशी छन् । उनी भन्छन्, ‘हाम्रो लागि यो एकदमै खुशीको कुरा हो । तीनजना फरक-फरक टिममा परेका छन्,’ पारसले अनलाइनखबरसँग भने, ‘यसले पनि नेपाली क्रिकेटको डिमान्ड बढेको अनुमान लगाउन सकिन्छ । अब बाँकी सबै प्रदर्शनमा भर पर्ने हो । खेलाडीहरुले आफ्नो सम्पूर्ण सामथ्र्य लगाउनेछन् ।’

पारसले तीनैजना क्षमतावान खेलाडीहरु भएकोले राम्रो प्रदर्शनको अपेक्षा राखेका छन् । सोम र करण सिजन क्याम्पेनर हुन् । उनीहरुले नेपालको लागि धेरै समयदेखि राम्रो खेल्दै आएका छन् । कुशल मल्ल युवा र उदीयमान खेलाडी हुन् ।
यसले नेपाली क्रिकेटको भविष्यको लागि पक्कै पनि फाइदा पुग्ने पारसले बताए ।

उनले थपे, ‘आफ्नो देशका लागि राम्रो खेल्दै गएपछि फ्रेन्चाइजमा नोटिस हुने हो । फ्रेन्चाइज लिगमा चान्स पाउँदा जतिसक्दो राम्रो गर्ने हो । म तीनै जनाको लागि खुशी छु,’ पारसले भने ।

पहिलोपटक विदेशी लिगमा छनोट भएका करण केसीले पनि सामाजिक सञ्जालमा खुशी व्यक्त गरेका छन् । उनले ट्वीट गर्दै आफूलाई अवसर दिएको पुने डेभिल्सलाई धन्यवाद दिएका छन् ।

गत सिजन कर्नाटका टस्कर्सको नामबाट खेलेको टिमले यस सिजनमा नाम परिवर्तन गरेर पुने डेभिल्स राखेको हो । यस टिमको आइकन प्लेरमा श्रीलंकन थिसारा परेरा छन् । उनको कप्तानीमा जाफ्ना स्टालियन्सले यसै सिजन सुरु भएको लङ्का प्रिमियर लिगको उपाधि जितेको थियो ।

यस्तै सोमपाल रहेको मराठा अरेबियन्सको आइकन प्लेअरमा पाकिस्तानका सोएब मल्लिक छन् भने कुशल रहेको अबुधाबी टिममा युनिभर्सल बोस क्रिस गेल आइकल प्लेअरको रुपमा छन् । टी-१० लिगमा छनोट हुनु भनेको नेपाली खेलाडीहरुको लागि ठूला खेलाडीहरुसँग ड्रेसिङ रुम सेयर गर्न पाउने अवसर पनि हो ।

प्रतियोगिताको ढाँचा

क्रिकेटको सबैभन्दा छोटो फर्म्याटको रुपमा रहेको १० ओभरको यो प्रतियोगिता अर्को वर्ष जनवरी २८ देखि फेबुअरी ६ सम्म युएईमा हुँदैछ । प्रतियोगिताको सम्पूर्णहरु खेलहरु शेख जायद स्टेडियममै हुनेछन् ।

लिगमा सहभागि ८ टीमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा बंगला टाइगर्स, दिल्ली बुल्स, नर्थन वारियर्स र मराठा अरेबियन्स छन् भने समूह बी मा डेक्कन ग्लाडिएटर्स, कलन्दर्स, टीम अबुधाबी र पुने डेभिल्स छन् ।

समूह चरणमा एक आपसमा खेलेपछि लिगको दोस्रो चरणमा सुपर लिग हुनेछ । यसमा ८ वटै टिम हुनेछन् । समूह चरणपछि अर्को समूहका टिमसँग सुपर लिगमा तीन खेल खेल्नेछन् । सुपर लिगमा लिग चरणको खेलको अंक पनि जोडिनेछ । सबै अंक जोडेर शीर्ष चार स्थानमा रहने टिमहरु प्लेअफमा पुग्नेछन् । १० दिन चल्ने लिगमा कूल २८ खेल हुनेछ ।

सहभागि टिमका लागि आइकल प्लेअरहरु समेत तोकिएको छ । मराठा अरबियन्सको पाकिस्तानी ब्याट्सम्यान शोयब मलिक, बंगला टाइगर्सको श्रीलंकन बलर इसुरु उडाना, दिल्ली बुल्सको वेस्टइन्डिज अलराउण्डर ड्वेन ब्राभो, पुने डेभिल्सको श्रीलंकन अलराउण्डर थिसारा परेरा, टिम अबुधाबीको क्रिस गेल, डेक्कन ग्ल्याडीएटर्सको वेस्टइन्डिज अलराउण्डर सुनिल नारिन, नर्थन वारियर्सको वेस्टइन्डिज अलराउण्डर आन्द्रे रसेल र कलन्दर्सको पाकिस्तान अलराउण्डर शाहिद अफ्रदी आइकन प्लेयर हुन् ।

कुन टिममा को-को खेलाडी?

डेक्कन ग्ल्याडीएटर्स

सुनिल नारिन, कोलिन इनग्राम, काइरन पोलार्ड, वानिन्दु हसरंगा, लाहिरु कुमारा, अजम खान, रभी रामपाल, भानुका राजापक्ष, मोहम्मद शहजाद, प्रशान्त गुप्ता, जाहुर खान, हाफिज उर रहेमान, जिसान जमिर, हमदान ताहिर, इमरान ताहिर, इम्तियाज अहेमद ।

पुने डेभिल्स

थिसारा परेरा, मोहम्मद आमिर, हर्दुस भिलजोन, स्याम बिलिङ्ग्स, चमरा कपुगेद्रा, अजन्था मेन्डीस, डेभोन थोमस, दर्विस रसुली, नासिर होसेन, केनर लुइस, आसिफ खान, मोहम्मद बुटा, दिनेश कुमार, भ्रीत्या अर्भिन्द, करण केसी, मुनिस अन्सारी

कलन्दर्स

शाहिद अफ्रिदी, टम बान्टन, क्रिस जोर्डन, समित पटेल, फिल साल्ट, सोहेल तन्भिर, आसिफ अलि, हसन अलि, सोहेल अख्तर, शर्जिल खान, सुल्तान एहमद, फय्याज एहमद, अज्मतुल्लाह ओमरजाई, माज खान, बेन डंक, खुर्शिद अनवर ।

टिम अबुधाबी

क्रिस गेल, क्रिस मोरिस, लुक राइट, नभिन उल हक, अभिस्का फर्नान्डो, उस्मान शिनवारि, ओबेद म्याकोय, हेडन वाल्स, नजीबुल्लाह जद्रान, बेन कक्स, रोहन मुस्तफा, कार्तिक मैयप्पन, लियोनार्दो जुलियन, कुशल मल्ल, एलेक्स हेल्स

बंगला टाइगर्स

इसुरु उडाना, जोन्सन चार्ल्स, आन्द्रे फ्लेचर, मोहम्मद इरफान, टम मुर, कैस एहमद, डेभिड वेस, अफिफ होसेन, एडम होस, करिम जनत, चिराग सुरी, आर्यन लकरा, फजलहक फरुकी, नुर एहमद, मुजिब उर् रहमान, मेहदि हसन

दिल्ली बुल्स

ड्वेन ब्राभो, इभिन लुइस, दासुन शनाका, एडम लिथ, शर्फा रुथरफोर्ड, मोहम्मद नाबी, अलि खान, दुश्मन्था चमिरा, रहमनुल्लाह गर्बाज, फिडेल एडवर्ड्स, शेराज एहमद, कसिफ दौड, वकार सलमाखिल, नइम योङ, अमद बट ।

नर्थन वारियर्स

आन्द्रे रसेल, रोभम्यान पावेल, निकोलस पुरन, फाबीयन एलेन, लेन्डल सिमोन्स, वहाव रियाज, रायद इम्रिट, नुवान प्रदिप, अमिर यामिन, ब्रेण्डन किंग, जुनैद सिद्दिकी, वहिद एहमद, महेश थिक्शना,अंश टन्डन ।

मराठा अरबियन्स

शोयब मलिक, मोहम्मद हफिज लौरी इभान्स, मोसद्देक होसेन, तस्किन एहमद, प्रभिन ताम्बे, इशान मलहोत्रा, सोमपाल कामि, मुतकर अलि, अमजद गुल, अब्दुल शाकुर, मरुफ मर्चान्ट, सयद शाह ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment