Comments Add Comment

ओलीको स्वीकारोक्ति : प्रचण्ड–माधवसँग बहुमत छ

‘यो असन्तुष्ट हुने बेला होइन, काममा होमिने बेला हो’

१५ पुस, काठमाडौं । कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको पक्षमा बहुमत रहेको स्वीकार गरेका छन् । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आफ्नो समूहका सुदूरपश्चिम प्रदेशका कार्यकर्ता सम्बोधन गर्दै ओलीले आफू अल्पमतमा रहेको स्वीकारेका हुन् ।

प्रचण्ड र माधव नेपालमाथि एकपछि अर्को आरोप लगाउने क्रममा ओलीले बहुमतको दुरुपयोग भएको बताए । ‘पार्टीभित्र माधव गुट छँदै थियो, मलाई थाहा थिएन र ? माधव गुट छ । फेरि प्रचण्ड गुट । उसलाई उत्तिकै सिट दिँदाखेरि, दुईवटा मिल्दाखेरि बहुमत पुग्छ उता भन्ने मलाई थाहा थिएन र ?’, ओलीले भने ।

प्रचण्ड र माधव मिल्दा बहुमत पुग्ने पहिले नै बुझेको बताउँदै ओलीले भने, ‘५५/५६ वर्ष राजनीति गरेको, ५० वर्ष अगाडि नयाँ अभियान, नयाँ आन्दोलन थालेर आएको मान्छेलाई यतिका तिकडम ?’

प्रधानमन्त्री ओलीले पार्टी एकता, संविधान कार्यान्वयन र स्थायित्वका लागि आफूले बहुमत संख्या दिएको बताए । ‘उहाँहरुलाई मैले दिएको त्यो संख्या, एकताका लागि दिइएको थियो । एकीकरणका लागि दिइएको थियो । यो देश बनाउनका लागि दिइएको थियो । संविधान कार्यान्वयन गर्नका लागि दिइएको थियो । स्थायित्वका लागि दिइएको थियो । देश अगाडि बढाउनका लागि दिइएको थियो । तर, उहाँहरुले त्यो बहुमत आफ्नो स्वार्थका लागि प्रयोग गर्नुभयो’, ओलीको निष्कर्ष छ । अर्थात्, उनले प्रचण्ड र माधव माथि आरोप लगाउने क्रममा आफ्नो अल्पमत पनि स्वीकारे ।

ओली समूहका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाले ४४१ जसरी मनोनित भएका थिए, त्यसरी नै ११९९ केन्द्रीय सदस्य मनोनित भएकाले प्रचण्ड–माधव अल्पमतमा रहेको बताएका थिए । सँगै थापाले निर्वाचन चिन्हलाई प्राविधिक विषय भएकाले त्यसमा अल्मलिन नहुने तर्क गरे । निर्वाचन चिन्ह ठूलो कुरा नभएको सन्दर्भलाई पुष्टि गर्न २०६४ को निर्वाचनमा सूर्य चिन्ह हुँदा पनि नेकपा एमाले पराजित भएको थापाले बताए ।

‘संसद पुनर्स्थापना संविधानले दिँदैन’

संसद पुनर्स्थापना नहुने भएकाले निर्वाचनमा जुट्न प्रचण्ड र माधव समूहलाई ओलीले आग्रह गरे । संसद पुनस्र्थापना गर्न संविधानले नै नमिल्ने ओलीको जिकिर थियो । ‘संसद पुनर्स्थापना संविधानले नै मिल्दैन । संसदको ६४ प्रतिशत बहुमतको सर्वसम्मत नेता हुँ म । त्यस हिसाबले विघटनको सिफारिस गरेको छु, विघटन’, ओलीले भने ।

यो ६४ प्रतिशत पार्टी फुट्नु अगाडि भएको पनि ओलीले प्रष्ट्याए । अब बाँकी ३६ प्रतिशतले सरकार नबन्ने भएकाले विघटन गरिएको ओलीको तर्क छ । राष्ट्रपतिविरुद्ध महाअभियोग र आफूमाथि अविश्वासको प्रस्ताव तयार भएपछि संसद विघटन गरेको पनि ओलीको भनाइ छ । राष्ट्रपति र प्रधानमन्त्री मात्रै नभएर अन्य संवैधानिक निकायका प्रमुखमाथि पनि महाअभियोगको तयारी भएकैले संसद विघटन गर्नु परेको ओलीले बताए ।

वैशाखपछि ओलीको पत्तासाफ हुने भनेर प्रचण्डले अभिव्यक्ति दिएकाले चुनाव स्वीकार गरेको ओलीले तर्क गरे । तर, त्यो भविष्यवाणी नमिल्ने बताउँदै उनले भने, ‘उहाँहरु भविष्यवाणी कस्तो नमिल्ने नमिल्ने खालको गर्नुहुन्छ भने पोहोर म बिरामी परें । अब मरिहाल्छ भन्नुभयो । त्यो पनि मिलेन । म उपचार गर्न बैंकक गएँ । काठमाडौं बाकसमा फर्कन्छ भने । तर, सिटमै बसेर आएँ’, ओलीले भने ।

तर, दुई–चार सिट जित्न पनि प्रचण्ड र माधव नेपालले ‘कपडा बिगारेर’ बस्नुको साटो निर्वाचनको तयारी थाल्नुपर्ने ओलीले सुझाव दिए ।

‘माधव प्रचण्डका मामुली कार्यकर्ता’

प्रचण्ड र माधव नेपालले आफ्नो समूहको कार्यक्रम गर्दै आएको कार्की ब्याङ्क्वेटमै बुधबार ओली समूहले सुदुरपश्चिमको भेला आयोजना गरेको थियो । प्रचण्ड र माधव बसेकै मञ्चबाट आफूमाथि लगाइएको आरोपको ओलीले जवाफ दिएका थिए ।

माधव नेपालकै लवज निकाल्दै ओलीले उनलाई टिप्पणीका लागि योग्य नरहेको बताए । ‘माधव नेपालजीबारे धेरै टिप्पणी गर्न चाहन्न, उहाँ प्रचण्डको मामुली कार्यकर्ता हो ।’

हाताहाती भन्ने माधव नेपाल दोस्रो अध्यक्ष बन्न पुगेको ओलीको टिप्पणी थियो । ‘सभापति पनि प्रचण्ड नै हुने । अब छेऊमा बस्न त पहिले पनि पाएकै थिए नि !’, ओलीले माधव नेपाललाई खिसी गर्दै भने ।

उनी माधव नेपालभन्दा बढी प्रचण्डविरुद्ध खनिए । पार्टी एकता जोगाउन गरेको सहमतिले ब्रिफकेस नै भरिएको बताए । तर, प्रचण्डलाई जति धोए पनि जस्ताको त्यस्तै हुने गरेको उनको भनाइ थियो । ‘तीन वर्षमा डोब साबुनका धेरै डल्ला खर्च भए, ड्रमका ड्रम पानी खत्तम भयो, उहाँलाई धुँदाधुँदा’, उनले थप भने, ‘साबनु लायो, पखाल्यो । जस्ताको त्यस्तै ! साबनु लायो, पखाल्यो, जस्ताको त्यस्तै ! अन्तिममा देखिहाल्नुभयो ।’

पार्टी एकता गर्दैबाट प्रचण्डको ध्यान प्रधानमन्त्रीतिर गएको उनले बताए । ४० प्रतिशत लिएर वाम गठबन्धन गरे पनि प्रचण्डले काँग्रेससँग सरकार बनाउने कसरत गरेको उनले आरोप लगाए । ‘वामपन्थीसँग गठबन्धन, दक्षिणपन्थीसँग सरकार बनाउन बार्गेनिङ’, ओलीले तीन वर्ष अगाडिको घटनाक्रम सम्झिए ।

प्रचण्डलाई सधैं मायाले अँगाले पनि प्रचण्डको अँगालो भने धृतराष्ट्रको जस्तो रहेको ओलीको टिप्पणी थियो । प्रचण्डले परिवारका लागि लोकतन्त्र धुजाधुजा  बनाउने गरी जालझेल गर्ने गरेको पनि आरोप लगाए ।

‘यो असन्तुष्ट हुने बेला होइन’

सुदुरपश्चिमका आफ्ना कार्यकर्तालाई सम्वोधन गर्ने क्रममा ओलीले आफ्नै समूहभित्र असन्तुष्टि देखा परेको संकेत गरे ।

‘केही साथीहरु सपथग्रहणमा छुट्नुभएको छ । सपथग्रहणमा छुटेका साथीहरुलाई साँझ ८ बजे बालुवाटारमा नै सपथ ग्रहण गराउने कार्यक्रम राखिएको छ । केही साथीहरु लिस्टमा पनि छुट्नुभएको छ, त्यसमा पनि ध्यान दिइनेछ’ ओलीले भने, ‘साथीहरु यो असन्तुष्ट हुने बेला होइन, चित्त दुःखाएर बस्ने बेला होइन । असल कार्यकर्ताहरुले चित्त नदुखाई, असन्तुष्ट नभइकन काममा होमिने हो । कामको मूल्यांकन हुन्छ, योगदानको मूल्यांकन हुन्छ । इतिहासको मूल्यांकन हुन्छ । यथोचित ढंगले फेरि जिम्मेवारी सबै साथीहरुलाई दिइन्छ ।’

आफ्नो समूहका नेता–कार्यकर्तालाई ढाडस दिँदै ओलीले भने, ‘यत्रो साथीहरु, यत्रोविघ्न नेताहरु अब आफ्नो ठाउँमा अगाडि बढ्दै हुनुहुन्छ । आफ्नो ठाउँमा फर्किँदै हुनुहुन्छ । र, एउटा अभियान सञ्चालन गर्दै हुनुहुन्छ । तपाईहरु कहाँ कहाँबाट, क–कसबाट, क–कसका लागि, केका लागि कुदेका मान्छे हुनुहुन्न । कुदाइएका मान्छे हुनुहन्न । ती मान्छेहरुको कुरा छोड्दिनोस् । आश मार्दिनोस् । तिनीहरुलाई बिर्सिदिनोस् । आफ्नो अभियान सम्झनोस् । आफ्ना उद्देश्य सम्झनोस् । अगाडि बढ्नोस् ।’

आन्दोलन र पार्टी जोगाउने अभियानमा लाग्न आग्रह गर्दै ओलीले भने, ‘तपाई हामीले अब आन्दोलनलाई जोगाउनुपर्छ । आन्दोलन जोगाउन पार्टी जोगाउनुपर्छ । हाम्रा उद्देश्य र योजनाहरु जोगाउन र सफल पार्नका लागि पार्टी जोगाउनुपर्छ । पार्टी विस्तार गर्नुपर्छ । पार्टी फैलाउनुपर्छ । …सुदुरपश्चिम प्रदेश हाम्रो पार्टीको कब्जामा हुनुपर्छ । हाम्रो पार्टीले एकछत्र सफलता हासिल गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment