Comments Add Comment

प्रचण्ड–माधव समूहले निर्वाचन आयोगलाई दियो ओलीलाई अध्यक्षबाट हटाएको जानकारी

फाइल तस्वीर

१७ पुस, काठमाडौं । विभाजनको संघारमा रहेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाएको आधिकारिक जानकारी निर्वाचन आयोगलाई दिएको छ ।

नेकपा स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले प्रधानमन्त्री ओलीलाई पार्टी अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाएको पत्र बिहीबार निर्वाचन आयोगमा दर्ता गरेको जानकारी दिए ।

उनले भने, ‘राजनीतिक दल सम्बन्धी ऐनको दफा १८ मा विधान विपरीत काम गर्ने पदाधिकारीलाई कारवाही गर्न सकिने प्रावधान छ, त्यसैअनुसार ओलीजीलाई कारवाही गरिएको जानकारी आयोगलाई दिएका हौं ।’

७ पुसमा बबरमहलमा बसेको नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय समिति बैठकले ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको थियो । ४४१ मध्ये ३१५ जना केन्द्रीय सदस्यको उपस्थितिमा बसेको बैठकले ओलीलाई कारवाही गरेको जानकारी आयोगलाई दिएको पोखरेलको भनाइ छ । ओली पक्षले भने बबरमहल बैठकलाई गुटको भेलाको भएको बताउने गरेको छ ।

निर्वाचन आयोगमा दर्ता भएका ४४१ मध्ये मृतक, संवैधानिक पद र राजदूत बनेका बाहेकको अद्यावधिक विवरण बुझाएको पोखरेल बताउँछन् ।

प्रचण्ड–माधव समूहले पार्टीको वैधानिकतासम्बन्धी आवश्यक छलफल गर्न पोखरेल, राजेन्द्र पाण्डे, मुक्ति प्रधान, कृष्णभक्त पोखरेल, टीकाराम भट्टराई, गोविन्द बन्दी र खिमलाल देवकोटालाई जिम्मेवारी दिएको पत्र पनि निर्वाचन आयोगमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment