Comments Add Comment

‘मनसँग मन’मा पल, पूजा, पुष्प र वर्षाको छमछमी(फोटो फिचरसहित)

लकडाउन हटेसँगै अब भने विस्तारै नेपाली चलचित्र लयमा फर्किन थालेको छ । हलहरु खुलेका छन् भने चलचित्रको छायांकन पनि धमाधम भैरहेको छ । लकडाउन अगाडि नै छायांकन सुरु गरिएतापनि कोरोनाका कारण रोकिएको चलचित्र ‘मनसँग मन’को एक गीतको छायांकन काठमाण्डौमा गरिएको छ ।

बालाजुको चलचित्र विकास कम्पनीको परिसरमा सेट लगाएर चलचित्रमा समावेश ‘मेरो त भाग्य’ बोलको गीतको छायांकन गरिएको हो । यो गीतमा डेभिड शंकर र भावना राइको स्वर, दिपक शर्माको संगीत तथा विपिन किरणको शब्द छ ।

यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार पुष्प खड्का, वर्षा सिवाकोटी, वुद्दि तामाङलाई फिचरिङ गरिएको छ । यस्तै, यो गीतमा नायक पल शाह र नायिका पूजा शर्माको साथमा हाँस्य कलाकार रविन्द्र झा अतिथीको रुपमा देखिदैछन् ।

कैलाश राइको निर्देशनमा तयार भएको चलचित्रमा सौरभ लामाको छायांकन, अरुण तामाङको लगानी छ । चलचित्रमा अर्जुन जीसीको सम्पादन, सन्तोष खवासको एक्सन निर्देशन छ । 

सौरभ इन्टरटेन्मेन्ट र बालाली प्रोडक्शनको प्रस्तुतिमा तयार भैरहेको चलचित्रमा पुष्प खड्का, वर्षा सिवाकोटी, वुद्दि तामाङ लगायतका कलाकारको मुख्य भूमिका छ । लोक लयमा आधारित गीतमा अतिथी कलाकारको रुपमा काम गर्नुको कारण खुलाउँदै नायक पल शाहले भने–‘यो गीत पनि निकै राम्रो छ । साथमा, यतिबेला हामीले एक अर्कालाई सहयोग गर्ने बेला छ । यसैले पनि मैले काम गरेको हुँ । साथमा, चलचित्रको टिमसँग यसअघि पनि काम गरेकाले जोडिएको हुँ ।’
नायिका पूजा शर्माले पनि चलचित्रलाई केही मात्रामा भएपनि सहयोग पुगोस् भनेर आफू जोडिएको बताइन् ।

चलचित्रको नाम परिवर्तन भएपनि कथावस्तु परिवर्तन नभएको निर्देशक कैलाश राइले बताए । सुरुमा यो चलचित्रको नाम ‘चालबाज’ राखिएको थियो । अहिले नाम परिवर्तन गरेर ‘मनसँग मन’ राखिएको हो ।

नायक पुष्प खड्का र नायिका वर्षा सिवाकोटीले कथावस्तु निकै राम्रो रहेको प्रतिक्रिया दिए । छायांकन भैरहेको गीतको बारेमा कोरियोग्राफर रामजी लामिछाने भन्छन्–‘लोक लयको गीतमा हामीले सेट लगाएर काम गरिरहेका छौ । आशा छ, दर्शकले मन पराउनुहुनेछ ।’ चलचित्रको प्रदर्शन मिति भने तय गरिएको छैन ।


तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment