Comments Add Comment

सरकारविरुद्धको प्रदर्शनलाई प्रभावकारी र सशक्त बनाउन तरुण दलको निर्देशन

२० पुस, काठमाडौं । नेपाली कांग्रेसको तरुण संगठन नेपाल तरुण दलले सरकारविरुद्धको प्रदर्शनलाई प्रभावकारी र सशक्त बनाउन मातहतका जिल्ला कमिटीहरुलाई निर्देशन दिएको छ ।

नेपाली कांग्रेसले संसद विघटनको विरोधमा वडा तहसम्मै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । यही पुस २५ गतेदेखि माघ ८ गतेसम्म हुने ती आन्दोलनका कार्यक्रमलाई अझ बढी प्रभावकारी र सशक्त बनाउन नेपाल तरुण दलले सबै तह र तप्कालाई निर्देशन दिएको हो ।

तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले आज सबै जिल्ला समितिहरुलाई परिपत्र गर्दै जिल्ला पार्टीसँग समन्वय गरी जिल्ला समिति अन्तर्गतका सबै तह, तप्का र निकायका तरुणहरुलाई सक्रिय रुपले सहभागी गर्न÷गराउन निर्देशन दिएका छन् ।

आगामी पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन र सभा आयोजना गर्ने, माघ ३ गते देशैभरका ७५३ पालिकाहरुमा विरोध प्रदर्शन र सभा गर्ने तथा माघ ८ गते देशैभरका ६ हजार ७४३ वडाहरुमा विरोध प्रदर्शन एवं सभा आयोजना गर्ने नेपाल तरुण दलले जनाएको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम, व्याप्त भ्रष्टाचार, कोभिड–१९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता तथा कुशासनको विरुद्धमा विरोध प्रदर्शन गर्न लागिएको तरुण दल अध्यक्ष बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment