Comments Add Comment

किर्तिमानी आरोहीले बनाए स्वास्थ्य चौकी भवन

किर्तिमानी आरोही फूर्वा तेन्जिङ सेर्पाले दोलखाको रोल्वालिङमा स्वास्थ्य चौकी निर्माण गरी स्थानिय क्लबलाई हस्तान्तरण गरेका छन् । दर्जनभन्दा बढी पटक सगरमाथा आरोहण गरेका सेर्पाले आफ्ुना बुवा र गाउँले आमाबुवाको नाममा उक्त स्वास्थ्य चौकी निर्माण गरेका हुन् । उपचार अभावमा उनका बुवाको निधन भएको थियो ।

‘सन् २००४ मा मेरो बुवा खुट्टा सम्बन्धी रोगले बित्नुभयो । सुरुमा उहाँलाई के रोग लागेको कसैलाई थाहा भनएन । पछि एक्कासी गाह्रो भएपछि हेलिकप्टरमा काठमाडौं ल्याइयो । तर, सोही क्रममा उहाँ वित्नुभयो’ आरोही फूर्वा तेन्जिङले सम्झिए, ‘त्यसबेला म सानै थिएँ । यदि गाउँमा स्वास्थ्य चौकी भइदिएको भए उहाँले ज्यान गुमाउनुपर्ने थिएन होला ।’

गाउँमा स्वास्थ्य चौकी र स्वास्थ्यकर्मी भइदिएका भए बुवाको रोग समयमै पत्ता लाग्ने र उपचार संभव हुने उनको बुझाई छ । ‘तर, सामान्य स्वास्थ्य चौकी समेत नहुँदा उहाँले ज्यान गुमाउनुप¥यो’ फूर्वा सम्झन्छन् ।

आफ्नो बुवा गुमाउनुको पीडाले उनलाई स्वास्थ्य चौकी बनाउन प्रेरित ग¥यो । अन्ततः आफु जन्मिएको दोलखाको रोल्वालिङ गाउँमा स्वास्थ्य चौकी निर्माण गरे । तीन हजार ८०० मिटरको उचाइमा अवस्थित दोलखा जिल्लाको रोल्वालिङ उपत्यका, गौरीशंकर गाउँपालिका वडा नं. १, बेदिङ गाउँमा ३ कोठे स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भएको ‘होसोही स्वास्थ्य चौकी’ हालै मात्र उनले स्थानिय क्लबलाई हस्तान्तरण गरेका हुन् ।

माउण्ट एभरेस्ट समिटर्स क्लब रोल्वालिङ दोलखाको २० औं वार्षिकोत्सवको अवसर पारी आरोही शेर्पाले निर्माण सम्पन्न सो भवन अबदेखि क्लबकै संरक्षण र रेखदेखमा रहने गरी गाउँलेलाई नै हस्तान्तरण गरेका छन् ।

सरस्वती नगरस्थित क्लबको सभाहलमा भवन हस्तान्तरण गर्दैगर्दा शेर्पाले समयमै उपचार नपाई बितेका आफ्ना बुवा र गाउँले आमाबुवाको स्मरणमा आफूले उक्त भवन निर्माण गरेको बताए ।

सन् २०१५ को विनाशकारी भूकम्प पछि शेर्पाले आफ्ना अस्ट्रियन नागरिक जोसेफ आइनवारसँगको सहकार्यमा गाउँमा विभिन्न सामाजिक कार्य गर्दै आएका छन् । दुईवटा गिनिज रेकर्डका धनी तथा राष्ट्रिय युवा प्रतिभा पुरस्कार–२०१७ का विजेता फुर्वा तेन्जिङ शेर्पासँगै सगरमाथा आरोहण गरेका जोसेफ आइनवालर पनि शेर्पाकै कारण रोल्वालिङ गाउँ आफ्नो दोस्रो घर भएको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment