Comments Add Comment

बाँकेमा तीन जना कोरोना संक्रमितको मृत्यु

२१ पुस, काठमाडौं । बाँकेमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दुईजना र भेरी अस्पतालमा एकजना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दाङको घोराही उपमहानगरपालिका–१८ का १३ वर्षीय बालक र कञ्चनपुरको महेन्द्रनगर–५ का ६० वर्षीय पुरुष तथा नेपालगञ्जस्थित भेरी अस्पतालमा बाँकेको जानकी गाउँपालिका–३ का ६८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

दाङका १३ वर्षीय बालक पुस १९ गते शिक्षण अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका उनको पुस २० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारकै क्रममा मंगलबार बिहान ७:४५ उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

कञ्चनपुरका ६० वर्षीय पुरुषको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मंगलबार बिहान ७:२० बजे मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनी १७ पुसमा अस्पताल भर्ना भएका थिए । त्यसको भोलिपल्ट कोरोना जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

बाँकेका ६८ वर्षीय पुरुषमा पुस ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएकै दिन उनी भेरी अस्पतालमा भर्ना भएकोमा उपचारको क्रममा सोमबार राति १२:२५ बजे उनको मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment