Comments Add Comment

मृगौलाको पत्थरी हुँदा के-के नखाने ?

खनिजतत्व र नुन आदिबाट मृगौलामा बनेकोे कठोर डल्लोलाई मृगौलाको पत्थरी भनिन्छ । हुन त मृगौलाको पत्थरी हुनमा धेरै कारक तत्वहरू जिम्मेवार छन् । हामीले खाने खानेकुराहरूको भूमिका ती सबै कारक तत्वहरू
मध्ये मुख्य मानिएको छ । मृगौलाको पत्थरी हुँदा के खाने वा नखाने भनेर निक्र्यौल गर्नुभन्दापूर्व हाम्रो शरीरमा बनेको पत्थरी कस्तो प्रकारको हो भनेर थाहा पाउनुपर्ने हुन्छ । किनकि हामीले एक खालको पत्थरीको लागि राम्रो खानेकुरा अर्को खालको पत्थरीको लागि नराम्रो हुन सक्छ । यसर्थ मृगौलाको पत्थरी हुँदा चिकित्सकलाई सोधेर कस्तो किसिमको पत्थरी हो भनेर निक्र्यौल गर्नुपर्ने हुन्छ । एकचोटि पत्थरीको प्रकृति निक्र्यौल गरिसकेपछि मात्र के खाने र के नखाने भनेर छुट्याउनुपर्ने हुन्छ ।

पत्थरीका प्रकार : मृगौलामा बन्ने पत्थरी मूलतः चार प्रकारका छन् ।

१. क्याल्सियम अक्जेलेट पत्थरीः

२. क्याल्सियम फस्फेट पत्थरीः

३. युरिक एसिड पत्थरीः

४.  सिस्टिन पत्थरीः

क.  क्यालसियम अक्जेलेट पत्थरीमा के नखाने ?

यो पत्थरी धेरै व्यक्तिमा देखिने पत्थरी हो र यस किसिमको पत्थरीको निर्माण पिसाबमा निहित क्याल्सियमसँग अक्जेलेटमिलेर अघुलनशील क्रिस्टल बनाएपछि हुने गर्छ । क्याल्सियम र अक्जालेट दुवै हामीले खाने धेरै खानेकुराहरूमा पाइने गर्छ । यीमध्ये क्याल्सियम हाम्रो शरीरका लागि चाहिने तत्व हो भने अक्जेलेटको उपयोग शरीरले गर्दैन । यसर्थ क्याल्सियम अक्जेलेट पत्थरी हुन नदिनको लागि मुख्यतः उच्च अक्जेलेट भएको खानेकुराहरूलाई निषेध वा कम गर्नुपर्छ । यसैगरी शरीरमै अक्जेलेट बन्न मद्दत गर्ने विभिन्न प्रकारका खानेकुराहरू पनि त्याग्नुपर्ने हुन्छ ।

१.  उच्च अक्जेलेट भएका खानेकुराहरूः

– पालुङ्गो

– भाण्टा

– काजु, पिस्ता र बदाम।

-कालो अङ्गुर

-च्याउ

– फर्सी

– काक्रो

– टमाटर

-अमला

– मिसो सुप।

-बोक्रा सहितको आलु।

-चुकन्दर।

-कोका पाउडर

-भिण्डी

-फ्रेन्चफ्राइ

-रास्पबेरी

-स्टेभिया

-सुठुनी

२. चर्को नुन हालिएका खानेकुराहरूः चाहिनेभन्दा ज्यादा नुनको सेवन गर्दा नुनमा भएको सोडियमले पिसाबको रूपमा बाहिर गइरहेको पानीलाई पुनःअवशोषण गरी पिसाबलाई बाक्लो बनाउने गर्छ । यसो हुँदा पिसाबमा क्यालसियमको मात्रा बढ्न गई अक्जेलेटसँग संयोग भई क्याल्सियम–अक्जेलेट क्रिस्टल बन्ने गर्छ । यसर्थ मृगौलाको पत्थरीबाट बच्नका लागि उच्च मात्रामा नुन हालिएको, अजिनोमोटो हालिएका एवं तारे-भूटेको, चटपटे, फ्राइडफूड, जंङ्कफूड, बोतल र बट्टाबद्ध खानेकुराहरू आदिको सेवन गर्नुहुँदैन।

३. प्राणीजन्य खानेकुराहरूः माछा, मासु र अण्डा जस्ता जनावरबाट प्राप्त प्रोटिनको सेवनले पनि मृगौलाको पत्थरीलाई बढाउँछ । यसर्थ जनावरजन्य खानेकुराहरू जस्तै माछा, मासु, अण्डा, दूध, दही, चिज, पनिर, बटर आदिको सेवन गर्नुहँुदैन ।

४. उच्चमात्रामा भिटामिन सीको सेवनगर्ने गर्दा पनि यसले शरीरमा अक्जेलेट उत्पादन गरी उच्च पत्थरी बनाउन मद्दत गर्छ । यसर्थ प्रतिदिन भिटामिन सीको सेवन ५०० मिग्रा भन्दा ज्यादा हुनुहँुदैन ।

ख. क्यालसियमफस्फेट पत्थरीमा के नखाने ?

पिसाबमा भएको क्याल्सियमले जब पिसाबमै भएको फस्फेट मिनरलसँग संयोगगरी बनाएको पत्थरीलाई क्याल्सियम फस्फेट पत्थरी भन्ने गरिन्छ । क्याल्सियम फस्फेटको पत्थरी भएकाहरूले अक्जेलेट भएको खानेकुराहरू खान सक्छन् तर उच्च फस्फेट भएको खानेकुराहरू खान सक्दैनन् । जस्तै,

१. माछा, मासु अण्डा जस्ता जङ्गम खाद्यः प्राणीबाट प्राप्त खानेकुराहरूमा उच्च मात्रामा फस्फोरस पाइन्छ । खाएको फस्फोरस रगत हँुदै पिसापमा उत्सर्जित हुँदैगर्दा क्याल्सियमसँग प्रतिक्रिया गरेर क्याल्सियम फस्फेटको क्रिस्टल बनाउने गर्छ ।

२.दूध, दही, मही, चिज, पनिर, बटर जस्ता खानेकुरामा पनि उच्च मात्रामा फस्फोरस पाइने हुँदा पत्थरी बनाउन मद्दत गर्छ,

३. सामुन्द्रिक खानेकुराहरू पनि फस्फोरसको उच्च श्रोतहरु हुन् ।

४.जङ्कफुडः जंङ्कफुडमा खानेकुरालाई सड्न नदिने तत्वको रूपमा फस्फोरस प्रयोग गरिएको हुन्छ । यसैगरी स्वाद बढाउन र आकर्षक बनाउनको लागि पनि फस्फोरस प्रयोग गरिन्छ । यसर्थ जङ्कफुड, फास्टफुड, प्रोसेस्ड फुड, केनफुट आदिको सेवन गर्नुहँदैन ।

५.  चर्को नुनको सेवनः उच्च मात्रामा नुनको सेवन गर्नेगर्दा यसले पिसाबलाई बाक्लो बनाउने हुँदा क्याल्सियम र फस्फोरसलाई प्रतिक्रिया गर्ने प्रबल सम्भावना बढाइदिन्छ ।

ग. युरिक एसिड पत्थरी हुँदा के नखाने ?

रगतमा युरिक एसिडको मात्रा बढेसँगै युरिक एसिड पत्थरी हुने सम्भावना बढेर जान्छ । यसर्थ युरिक एसिड बढाउने निम्नलिखित खानेकुराहरू नखानुहोला ।

१. माछा-मासुः युरिक एसिड पत्थरी भएका र युरिक एसिड बढेकाहरूले रातो मासु, फलमासु, ठूला जनावरका मासु, हाँसको मासु, टर्कीको मासु, मुुटु, कलेजो, मिर्गौला र गिदी जस्ता भित्रीअङ्गको मासु खानुहुँदैन, रातो मासु र भित्री मासुमा प्युरिन न्युक्लिकअम्लको मात्रा ज्यादा हुने भएकाले यी पदार्थको सेवनले युरिक एसिडको मात्रा बढ्छ ।

२ . समुन्द्री खाद्यान्नः विशेषगरी झिङ्गे माछा, प्राउन, लोवस्टोर , हेरिङ्ग, ट्यूना, एन्कोभिज प्र्रजातिका माछाहरु र अन्य समुन्द्री वनस्पतिहरूबाट निर्मित खानेकुराहरूमा प्युरिन न्युक्लिक अम्लको मात्रा बढी भएकाले युरिक एसिड बढ्छ र युरिक एसिड पत्थरीमा खान राम्रो मानिँदैन ।

३. मदिरा – युरिक एसिड बढ्दा रक्सी, ब्राण्डी, ह्विस्की, रम जस्ता अल्कोहलिक पेय सेवन सर्वथाबर्जित छ । मदिराजन्य पेयले शरीरमा युरिक एसिडको मात्रा बढाउनुको साथसाथैै शरीरमा बनेको युरिक एसिडलाई पिसाबबाट उत्सर्जन हुन पनि रोक्छ ।

४. कोल्ड ड्रिङ्कसः– कोकाकोला , पेप्सीकोला , स्प्राइट , फेण्टा, मिरिण्डाजस्ता कार्बोनेटेड र मधुराकृत पेयहरुले युरिक एसिडलाई बढाउँछ । फुक्टोज–स्वीटन्ड–ड्रिङ्कस मह पानी, सोडापानी पानी युरिक एसिडका लागि राम्रो होइन । यी पेयहरूमा प्रचुर मात्रामा फ्रुक्टोज पाइन्छ । फ्रुक्टोजले एटीपीलाई एएमपीमा तोडेर युरिक एसिडको उत्पादनलाई बढावा दिन्छ ।

५. दाल – गेडागुडीः– दाल तथा गेडागुडीमा प्रशस्त मात्रामा प्युरिन न्युक्लिक अम्ल पाइन्छ । यो अम्ल उपयोग पश्चात शरिरमा प्रशस्त युरिक एसिड बन्छ र युरिक एसिड पत्थरी हुन सक्दछ ।

६.कुरिलो, फूलकोबी, बन्दाकोबी, पालुङ्गो, च्याउ र गोलभेँडा जस्ता सागपातमा अन्य सागपातमा भन्दा धेरै प्युरिन पाइन्छ । यसका अलावा यी फलफूल र तरकारीमा आक्जलेटको मात्रा पनि ज्यादा पाइन्छ । यसर्थ यस्ता तरकारीको सेवन कुनै पनि प्रकारको पत्थरीका लागि राम्रो होइन ।

७।जङ्क फुड – जंकफुड तथा बेकरी उत्पादनमा सेचुरेटेड फ्याट धेरै हुन्छ । यसका अलावा जंकफुडमा हालिएको प्रिजरभेटिभले पनि रगतमा युरिक एसिडको मात्रालाई बढाउन र गौट बाथको विकृतिलाई बढाई समस्या ल्याउन सक्छ । जंकफूड ज्यादाखादा तौल बढ्न गई यूरिक एसिड बढ्ने समस्या आउँछ र पत्थरी बन्दछ।

८.अचार (पुरानो) तामा, गुन्द्रुक सिन्की पनि युरीक एसिडका लागि राम्रो होइन । यस्ता खानेकुराको सेवनले रगतमा युरिक एसिड बढाएर युरिक एसिड पत्थरी बन्न सहयोग गर्छ ।

घ. सिस्टिन पत्थरी हुँदा के नखाने ?

प्रोटिन बनाउन प्रयुक्त हुने सिस्टिन एमाइनो एसिडको रक्त मात्रा ज्यादा भएर पिसाबमा उत्सर्जित भएर बन्ने सिस्टिन पत्थरी अन्य पत्थरीभन्दा आकारमा ठूलो हुने गर्छ । एकपछि अर्को बनिरहने गर्छ । यस किसिमको पत्थरीको मुख्य कारण सिस्टिनरिया भन्ने आनुवांशिक रोग हो । यद्यपि खानेकुराहरूको पनि सिस्टिन पत्थरी गराउनमा विशेष भूमिका हुन्छ । माछा, मासु, अण्डा, दूध, दही, चीज, पनिर जस्ता जङ्गम श्रोतका खानेकुराले यस किसिमको पत्थरी गराउनलाई सहयोग गर्छ । यसैगरी अत्याधिक नुन हालिएका खानेकुराहरू जस्तै आलु चिप्स, ससेज, पुरानो अचार आदिको सेवनले पनि सिस्टिन्युरीयालाई बढाउँछ ।

यसैगरी कम पानी पिउनेहरूलाई पनि सिस्टन पत्थरी हुने सम्भावना रहन्छ । पानी कम पिउँदा पिसाबको अम्लता बढेर पत्थरी बन्ने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment