Comments Add Comment

बैंशालु बेथानचोक (फोटो फिचर)

२५ पुस, काठमाडौं । काठमाडौंबाट त्यती टाढाको गन्तव्य होइन, बेथानचोक । थोरै यात्रा छिचोल्नसाथ यो मनोहर स्थल पुग्न सकिन्छ । तर, त्यहाँसम्म पुग्ने मेलोमेसो मिलिरहेको थिएन ।

काठमाडौंको उकुसमुकुसबाट उम्किएर आसपासका खुला ठाउँमा विचरण गर्ने रहर भने मनभित्रै दबिएको थियो । एकपटक सथीहरुसँग कुरैकुरामा बेथानचोक जाने प्रस्ताव राखियो । साथीहरुले यो प्रस्तावलाई सर्वसम्मतबाट सहर्ष अनुमोदन गरिदिए । त्यसपछि हामी काठमाडौं छाड्न तयार भयौं ।

तर, यात्रा सोचेजस्तो सहज थिएन । काभ्रेस्थित बेथानचोकसम्म पुग्न पाउकष्ट झेल्नुपर्यो । त्यो यात्रा अवधिभर लागिरह्यो, बेथानचोकसम्मको यात्रा यही नै अन्तिम हो । दोहोर्याएर आउने छैन । जब गन्तव्यमा पुगियो, यात्राका कष्टहरु एकाएक गायब भए । हाम्रो मन उमंगले फुरुंग भयो ।

हामी त्यो थुम्कीमा पुग्यौं र रात गुजार्यौं । जब पूर्वी क्षितिजमा घामको लाली चढ्यो, हाम्रो क्यामेराको लेन्स त्यतैतिर सोझियो । अन्ततः हामीले त्यो अनमोल दृश्यलाई आफ्नो क्यामेरामा कैद गर्न छुटाएनौं ।

हुन त काठमाडौंबाट बेथानचोक पुग्नेहरु सोही बिहान पुगेर फर्कने रहेछन् । हामी भने एक रात बस्ने बन्दोबस्तीसहित पुगेका थियौं ।

हाम्रो यात्रा भक्तपुरको जगातीबाट सुरु भएको थियो । त्यहाँबाट बेथानचोक पुग्न करिब ७० किलोमिटर यात्रा छिचोल्नुपर्ने रहेछ । जगाती, बनेपा, पनौती, खोपासी हुँदै ढुङ्खर्कसम्म हामीले गाढीमा यात्रा गर्यौं । त्यसपछि भने पाउकष्ट गरियो ।

पैदल हिँडेर बेथानचोक पुग्दा घडीले छ पटक फन्को लगाइसकेको थियो । बेथानचोक पुग्दा लगभग रात परिसकेका कारण खासै केही देखिएन तर जब विहान भयो बेथानचोकबाट दृश्य देख्दा लाग्यो धर्तीको स्वर्ग भनेकै यही हो । त्यो उचाइमा पुगेर आसपास वा आफूभन्दा तल देखिने दृश्यहरु वास्तवमै अद्भूत थिए ।

समुद्री सतहबाट ३ हजार मिटर उचाइमा रहेको बेथानचोकबाट विश्वको सर्वोच्च शिखर सगरमाथालगायत हिमश्रृंखला हेर्न सकिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment