Comments Add Comment

अस्ट्रेलियामा बढ्दै नेपालको राजावादी रुझान

सिड्नी / अस्ट्रेलियाका नेपालीहरुमा राजावादी रुझान सुरु भएको छ । विगत केही वर्ष अघिदेखि पुस २७ मा यहाँ नेपाल एकीकरण गर्ने राजा पृथ्वी नारायण शाहको जन्म दिन मनाउन थालिएको छ ।

यो वर्ष सोमबार सिड्नीको नेपाली बाहुल्य बस्ती अबर्नमा विशेष कार्यक्रम राखिएको छ । उक्त कार्यक्रमको संयोजन तथा प्रचारप्रसार नेपालको राजावादी पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीका अस्ट्रेलिया स्थित विश्वास पात्र अजय राजवंशी तथा पत्रकार मदनमणि अधिकारीले गरिरहेका छन् ।

अजय राजवंशी गैरआवासीय नेपाली अभियानका युवा हुन । उनी अघिल्लो कार्यकालमा एनआरएन अस्ट्रेलियाको राष्ट्रिय कार्यसमिति सदस्यसमेत थिए । उनले एक वर्षअघि मेल्बर्नमा नेपालका पञ्च नेता कमल थापाको पार्टी निकट संगठन घोषणा गरी अध्यक्ष बनेका थिए ।

उनी भन्छन – अस्ट्रेलियामा रानीका नाममा भएको भिक्टोरिया राज्यमा नेपालको भुतपूर्व राजसंस्थाप्रति आस्था रहेको जनाउ दिएका हौं ।

त्यस्तै अस्ट्रेलियाको अर्को ठूलो सहर मेलबर्नमा पनि नेपालका अर्का पञ्च नेता केशरबहादुर बिस्टको अभियानलाई सहयोग गर्ने संगठन बनेको छ । त्यसको नेतृत्वो व्यवसायी विभूषण जोशीले गरेका छन । उनले पनि पुस २७ गते मेल्बर्नमा विशेष कार्यक्रम गर्ने बताएका छन् ।

शनिबार नै सिड्नीमा पूर्वराजा ज्ञानेन्द्रकी बुहारी हिमानी शाहको नाममा बनेको परोपकारी कोषको अस्ट्रेलिया शाखा घोषणा गरिएको छ । जसको नेतृत्व सिड्नीमा क्रियाशील एनआरएन कार्यकर्ता अन्जना बस्नेत कार्की र नेपालमा कुनैबेला डा बाबुराम भट्टराइले नेतृत्व गरेको नयाँ शक्ती पार्टीका प्रशान्त क्षेत्रीय नेता समिम अनबरले गरेका छन् ।

हिमानी कोष अस्ट्रेलियाको घोषणा कार्यक्रमलाई नेपालबाट हिमानी शाहले भिडियो सन्देश पठाएर शुभकामना दिएकी थिइन् ।

विरोधी पनि उत्तिकै छन

अस्ट्रेलियाको नेपाली समुदायमा राजावादी रुझान बढ्दै गर्दा त्यसको विरोध पनि उत्तिकै भैरहेको छ । अनौठो कुरा हालसम्म अस्ट्रेलियामा भएका नेपालका कुनै पनि ठूला राजनीतिक पार्टीका समर्थकहरुले कुनै कडा आलोचना गरेका छैनन् ।

अस्ट्रेलियामा नेपालका सत्तासीन कम्युनिस्ट तथा प्रतिपक्षी कांग्रेस जस्ता ठूला गणतन्त्रवादी पार्टीका समर्थक संगठनहरु बनेका छन् । तर उनीहरु अस्ट्रेलियामा नेपालको राजावादी रुझान बढेकोमा केही बोलेका छैनन् ।

अस्ट्रेलियामा बसोबास गर्ने नेपालका आदिवासी जनजाति अगुवाहरुले भने पृथ्वी जयन्ती चर्को विरोध गरेका छन् । उनीहरुले फरक पोस्टर निर्माण गरेर पृथ्वी नारायण शाहलाई जनजातिमाथि दमन गर्ने शासकका रुपमा चित्रित गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment