Comments Add Comment

स्टेज कार्यक्रममा बढ्न थाल्यो कलाकारको व्यस्तता

गीत निकालेर के गर्नु स्टेज नै छैन । गीत हिट त भयो तर स्टेज नहुँदा खल्लो भयो । स्टेज कार्यक्रम नभएपछि गीत निकाल्ने जाँगर नै चलेन । माथि उल्लेखित भनाइहरु विगत १० महिनादेखि नेपालका चर्चित गायक–गायिकाको मुखबाट सुनिदै आएको छ ।

कोरोना महामारीका कारण सन् २०२० को सुरुवातदेखि नै थलिएको स्टेज कार्यक्रम एक बर्ष थला नै पर्यो । गायक–गायिकाले निरन्तरताका लागि मात्र गीत गाए । कतिपय बजारमा चलेका भ्यूज र ट्रेन्डिङको आत्मरतीमा रमाए । तर, अधिकांशले गरेको लगानी फिर्ता भएन ।

कतिपय गायक–गायिकाको गीत हिट भयो भने अधिकांशले गीत निकाल्नका लागि मात्र निकाले । स्टेज कार्यक्रम नहुँदा कलाकारको आम्दानीको मुख्य श्रोत नै गुमेको थियो । तर, अब भने स्टेज कार्यक्रम विस्तारै लयमा फर्किन थालेको छ । सांगीतिक कार्यक्रम हुन थालेसँगै स्टेजमा व्यस्त हुने कलाकारहरुको दैनिकी पुरानै लयमा फर्किन लागेको छ ।

लोकगायक प्रकाश सपूतले झण्डै १ वर्षपछि अंग्रेजी नयाँ वर्षको दिन स्टेजमा गीत गाए । लोकगायिका मञ्जु पौडेल पनि झण्डै १ वर्षपछि नयाँ बर्षको अवसर पारेर नेपालगञ्जमा आयोजित कार्यक्रममा स्टेज चढिन् । उनले, आफू १ बर्षपछि स्टेजमा चढ्दा नर्भस भएको प्रतिक्रिया दिएकी छिन् ।

प्रकाश र मञ्जु जस्तै केही गायक–गायिकाले करिब १ बर्षपछि स्टेजमा आफूलाई उभ्याए ।

पुस, माघ, फागुन । यो समय देशका अधिकांश जिल्लामा मेला–महोत्सव आयोजना हुन्थ्यो । चलेका गायक–गायिकाहरु त्यसमै ब्यस्त हुन्थे । यतिसम्मकी केही गायक–गायिकाहरुलाई यी महिनामा काठमाडौंमा भेट्न नै मुश्किल पथ्र्यो ।

कोरोना महामारीका कारण यसवर्ष विगतमा जस्तो मेला–महोत्सव भएनन् । जसकाकारण मेला महोत्सवको सिजनमा पनि अधिकांश गायक–गायिका फुर्सदिला बन्नुपर्यो ।

तर, अबभने फाट्टफुट्ट सांगीतिक कार्यक्रमहरु हुन थालेका छन् । ठूला–ठूला मेला तथा महोत्सव नभएपनि सुरक्षा मापदण्ड अपनाएर केही सांगीतिक कार्यक्रममा भने कलाकारलाई देख्न थालिएको छ । आज माघे संक्रान्तिको अवसरमा देशका धेरै स्थानमा सांगीतिक कार्यक्रम आयोजना भैरहेका छन् । जसले गायक–गायिकालाई लामो समयपछि स्टेजमा फर्काएको छ ।

गायक टंक बुढाथोकी सांगीतिक कार्यक्रमको सिलसिलामा पाँचथरको फिदिम पुगेका छन् । ‘लकडाउनपछि पहिलोपटक स्टेज कार्यक्रममा गीत गाउँदैछु । एकदमै उत्साहित छु’– टंकले अनलाइनखबरसँग भने ।

उनले अन्य स्थानबाट पनि कार्यक्रमको कुरा भइरहेको बताए । उनले थपे,–‘माघ १० गते झापामा कार्यक्रम तय भएको छ । अन्य धेरै स्थानबाट आयोजकहरुले सम्पर्क गरिरहनुभएको छ । बिस्तारै स्टेज कार्यक्रम लयमा फर्किएको छ ।’

गायिक मेलिना राई पनि स्टेजमा फर्किएकी छिन् । उनले पनि टंकसँगै आज पाँचथरको फिदिममै प्रस्तुती दिदैछिन् । लोकगायिका पूर्णकला बिसी सांगीतिक कार्यक्रमको सिलसिलमा बर्दिया पुगेकी छिन् । माघे संक्रान्तिको अवसरमा आयोजिक सांगीतिक कार्यक्रममा पुगेकी पूर्णकलाले अनलाइनखबरसँग भनिन्,–‘एक वर्षपछि बल्ल स्टेज चढ्दैछु । कस्तो हुने हो, गाउन नै बिर्से जस्तो भएको छ ।’ लामो समयपछि स्टेज चढ्न लागेकोमा उत्साहित भएको पूर्णकलाले बताइन् ।

गायक प्रकाश सपूत विस्तारै सांगीतिक कार्यक्रमहरु हुन थालेको बताउँछन् । उनले भने–‘फाट्टफुट्ट सांगीतिक कार्यक्रमहरु हुन थालेका छन् । अहिले तत्काल सांगीतिक कार्यक्रमहरुमा ब्यस्तता नभएपनि धेरैले केही समय पछिका लागि समय मागिरहनुभएको छ ।’

गायक कुलेन्द्र बि.कले माघको ६ गते पोखरामा सांकृतिक कार्यक्रममा सहभागी हुन लागेको बताए । ज्योति मगर, दुर्गेश थापा, कमल खत्री लगायतका कलाकारहरु पनि लामो समयपछि स्टेजमा प्रस्तुत भएका छन् ।

स्वदेशमै आयोजना हुने विभिन्न कार्यक्रममा कलाकारहरुको व्यस्तता बढ्न थालेको छ । तर, विदेशमा आयोजना हुने कार्यक्रममका लागि कलाकारहरुले अझै केही समय पर्खिनुपर्ने पक्का छ । दोश्रो चरणको कोरोना लहरले गर्दा विश्वका धेरै मुलुकहरु फेरि लकडाउनको बाटोमा गएका छन् । जसलेगर्दा, विदेशको कार्यक्रम तत्काल संभव देखिएको छैन । तर, स्वेदशमै आयोजना हुने कार्यक्रमले पनि कलाकारलाई आर्थिक रुपमा ठूलो राहत दिने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment