Comments Add Comment

उधारोमा प्रधानमन्त्री कप क्रिकेट : न बजेट, न पुरस्कार

३ माघ, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ । सशर्त निलम्बन फुुकुवा भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिता आयोजना गरेको हो ।

तर खेल सुरु भइसक्दा समेत न प्रतियोगिता विजेता र उपविजेताले पाउने पुरस्कार घोषणा भएको छ, न बजेटको टुंगो छ ।

१६ दिनसम्म त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगितामा तीन विभागीयसहित कूल १० टोलीले प्रतिस्पर्धा गर्दैछन् । यति ठूलो प्रतियोगिताको पुरस्कार र बजेट किन घोषणा भएन ? क्यान सचिव अशोकनाथ प्याकुरेल भन्छन्, कूल बजेट यतिसम्म भनेर अझै भन्न सकिरहेका छैनौं । किनभने अहिले पैसा नभएको कारणले अधिकांश काम अहिले उधारोमा पनि गर्नुपर्ने अवस्था छ ।’

बजेट लगभग १ करोड अनुमान गरिएको छ । यसअघि राष्ट्रिय खेलकुद परिषद (राखेप)ले निजी क्षेत्रको कम्पनीलाई प्रतियोगिताको व्यवस्थापन गर्ने जिम्मेवारी दिन्थ्यो र प्रतियोगिताको बजेट लगायत पुरस्कारको घोषणा आफैं गर्थ्यो ।

गत वर्ष विजेताले २० लाख र उपविजेताले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए । यसपटक पुरस्कार कति भन्ने पनि घोषणा भएको छैन ।

तर पुरस्कार रकम घट्ने भने निश्चित छ । त्यसलाई स्वीकार गर्दै क्यानका सचिव प्याकुरेलले भने, पहिला जस्तो पुरस्कार दिन सक्ने अवस्था छैन । विजेतालाई ५ लाख र उपविजेतालाई साढे दुई लाख दिने प्रस्ताव गरेका छौं ।’

पुरस्कारभन्दा पनि क्रिकेट र खेलाडीको विकासमा प्रतियोगिता आयोजनालाई ध्यान दिएको उनले बताए । तीन विभागीय र काठमाडौं उपत्यकाका जिल्लाहरु समावेश भएको बागमती प्रदेशबाहेक बाँकी ६ टिम बाहिरबाट आएका छन् । उनीहरुका लागि क्यानले प्रत्येक खेलाडीलाई दिनको १४०० रुपैयाँ दिएको सचिव प्याकुरेलले बताए ।

एउटा प्रदेशबाट १४ खेलाडी एक कोच र एक म्यानेजरसहित १६ जना टिममा हुनेछन् । क्यानले दिने रकमबाट खान र बस्नलाई पुग्ने भएपनि डाइट, इन्डोर अभ्यासका लागि नपुग्ने प्रदेशका टिमहरुले बताएका छन् ।

मुख्य प्रायोजक नै छैन 

दाङमा भएको महिला प्रतियोगितामा सगरमाथा सिमेन्ट मुख्य प्रायोजक थियो । भलै क्यानले सम्झौताको रकम खुलाएको थिएन ।

तर काठमाडौंमा भएको पुरुष एकदिवसीय प्रतियोगितामा मुख्य प्रयोजक नै छैन । प्याकुरेल भन्छन्, ‘डिस होम, कृषि विकास बैंक, हृयाम्स हस्पिटल, प्रभु बैक लगायतका स्पोनसर छन्, तर मुख्य प्रयोजकमा हामीले खोजेको जस्तो रकम आएन ।’

प्रतियोगिताको समय र बजेट

राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमअनुसार यो प्रतियोगिता गत चैत/वैशाखमा हुनुपर्ने हो । क्यानले पनि २०७६ को चैतमा गर्ने तयारी गरेको थियो ।

तर कोरोना महामारीका कारण क्रिकेट मात्र होइन, सबै खेल क्षेत्र प्रभावित भयो । तोकिएको समयमा प्रतियोगिता गर्न नसक्दा बजेट पनि आएन । त्यसले क्यानले उदारोमै यो प्रतियोगिता सञ्चालन गर्दैछ ।

प्याकरेलले भन्छन्, राखेपबाट आगामी चैत/वैशाखमा मात्र पैसा आउँछ ।’

राखेपले विगतका संस्करणमा ८० लाखसम्म छुट्याएको उदाहरण छ । तर अहिले बजेट घटेको छ । कोभिडले गर्दा खेलकुदमै बजेट घटेको छ । राखेपबाट पुरुष प्रतियोगिताका लागि ४० र महिलाका लागि २५ गरेर कूल ६५ लाख बजेट आउँछ ।

म्यान अफ दि म्याचलाई २५०० !

शुक्रबार भएको पहिलो खेलमा विभागीय टोली त्रिभुवन बर्मीले गण्डकी प्रदेशलाई हरायो । आर्मीका कप्तान विनोद भण्डारीले नटआउट रहँदै १११ रन बनाए । शतक बनाएका उनी म्यान अफ म्याच घोषित भए । म्यान अफ दि म्याच उनले नगद २५०० रुपैयाँ को चेक प्राप्त गरे ।

जिल्ला स्तरमा हुने प्रतियोगिताहरुमा समेत ५/१० हजार रुपैयाँ रकम म्यान अफ दि म्याचलाई पुरस्कारको रुपमा दिने गरिन्छ  ।

तर क्यानले व्यवस्थापन गरेको प्रतियोगितामा म्यान अफ दि म्याचलाई २५०० रुपैयाँ मात्र छ । महिलातर्फ २ हजार मात्र थियो ।

यो रकम थोरै भएन र ? क्यान सचिव प्याकुरेल भन्छन्, हामीले ७/८ सयको मोमेन्टो दिएपनि हुन्थ्यो । त्योभन्दा नगद नै गरौं भनेर २५०० रुपैयाँ राखिएको हो । रकम कतिभन्दा पनि यसलाई सम्मानका रुपमा लिनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment