Comments Add Comment

नागरिक आन्दोलनको फेरिँदो अनुहार

६ माघ, काठमाडौं । २०६२/०६३ को जनआन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको नागरिक समाज त्यसपछि सुस्तायो । विभाजित बन्यो र तितर बितर भयो ।

अहिले डेढ दशकपछि कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध सडकमा फेरि नागरिक अभियन्ताहरु देखा परेका छन्, तर पहिलेको भन्दा फरक अनुहारमा ।

अहिलेको नागरिक आन्दोलनले सामान्यतः २०६२/०६३ सालको नागरिक आन्दोलनकै झल्को दिन खोजेको देखिन्छ । तर, यसको अग्रमोर्चामा पुरानो नेतृत्व भने खासै देखिएको छैन ।

एजेण्डाको हिसाबले २०६२/०६३ सालमा सक्रिय नागरिक समाजका अगुवाहरु अहिले पनि एकै ठाउँमा छन् । तर, डेढ दशक अगाडि सडकमा निकै जोश र जाँगरका साथ सक्रिय अगुवाहरु अहिले स्वास्थ्यको कारण देखाउँदै सडकमा आउन असमर्थ छन् । र, उनीहरुले नयाँ पुस्तालाई अगाडि आउन र जिम्मेवारी लिन आग्रह गरिरहेका छन् ।

डेढ दशक अगाडि जो-जो नागरिक अगुवाहरु सक्रिय थिए, उनीहरु धेरैजसो उमेर वा अन्य कारणले सक्रिय हुन सक्दैनन् । त्यसैले यतिबेला नागरिक आन्दोलन पुस्तान्तरणको चरणमा देखिन्छ ।

केही दिन अगाडि नयाँ बानेश्वरमा आयोजना गरिएको नागरिक सभामा लेखक खगेन्द्र संग्रौलाले भने, ‘उमेरको गणितका हिसाबले, शरीरका हिसाबले सडकमा आउन मलाई अनुमति थिएन । सडकमा आउने ठूलो चाहना पनि पनि थिएन । विभिन्न प्रवृत्तिका निरंकुश तत्वसँग लड्दालड्दै आधा जिन्दगी सडकमा बित्यो । सडकलाई दिनका निम्ती मसँग जीवन बाँकी थिएन । तर, जब बयलगाडाको कुरा आयो, म आएँ ।’

डा. देवेन्द्रराज पाण्डे पनि उमेरका हिसाबले फेरि सडक र सार्वजनिक मञ्चमा खट्न सक्ने अवस्थामा छैनन् । पछिल्लो समय सामाजिक सञ्जालमा मात्र सक्रिय छन् । तथापि, नागरिक समाजका अगुवा पाण्डेले एक भिडियो मार्फत नयाँ पिँढीलाई नागरिक आन्दोलन अगाडि बढाउन आग्रह गरेका छन् ।

पाण्डेले आफ्नो छोटो भिडियो सन्देशमा भनेका छन्, ‘अहिले लोकतन्त्रमा नै प्रहार हुने गरी जसरी संसद विघटन गरियो, जसलाई प्रत्येक संविधानविदहरुले समेत असंवैधानिक घोषणा गरेका छन् । त्यसको विरोधमा र लोकतन्त्रलाई पुर्नस्थापित गर्ने, प्रतिगमनलाई छिर्न नदिने र समाज विकास प्रक्रियालाई अगाडि बढाउने प्रण गरेर अहिले जुन नागरिक आन्दोलन शुरु भएको छ । हामीले केही वर्ष अगाडि गरेको काम पुर्नजार्गित गदै वृहत र उर्जावाहन टिमले गर्ने जमर्काे गरेको छ ।’

डेढ दशक अगाडि नागरिक आन्दोलनमा निकै सक्रिय मल्ल के सुन्दर पनि स्वास्थ्यका कारणले यतिबेला सडकमा आउने अवस्थामा छैनन् । उनले आफ्नो भिडियो सन्देशमा भनेका छन्, ‘स्वास्थ्यका कारणले म आफै भौतिक रुपमा उपस्थित हुन नसके पनि आन्दोलनमा सहभागी हुन आग्रह गर्न चाहान्छु, मेरो ऐक्यवद्धता छ । अहिलेको प्रतिगमनलाई सच्याउन हामी सबै एकतावद्ध हुनुपर्छ ।’

अहिले नागरिक समाजको आन्दोलनलाई नेतृत्व गरिरहेका नयाँ अभियन्ताहरुमा युग पाठक, सञ्जीव उप्रेती, नारायण वाग्ले मोहना अन्सारी आदि अग्रमोर्चामा देखिएका छन् ।
नागरिक अभियन्ता युग पाठक भन्छन्, ‘अबको पहदकदमी युवाले गर्नुपर्छ । फ्रन्टमा त हामी उत्रनै पर्‍यो । फ्रन्टको व्यवस्थापन हामीले गर्नुपर्ने नै भयो । अघिल्तिर तानाशाह देखिइसकेपछि लड्नुपर्ने नै भयो । जनताका जति पनि सरोकार छन्, त्यसलाई समेत समावेश गरेर बृहत्तर आन्दोलनको तयारीमा छौं ।’

अबको नागरिक आन्दोलन विविधतासहितको हुनुपर्ने मत राख्छन् नागरिक आन्दोलनका अर्का अगुवा सञ्जीव उप्रेती । ‘नयाँ अनुहार, जति युवाहरु आए त्यति नै राम्रो हुन्छ । नेपालको विविधता जनाउने युवाहरु, नारीहरु छन्- नेवा समूह, मधेसी महिलाहरु । जति धेरै लिडर भयो, त्यति जति धेरै विविधिता भयो, त्यति राम्रो हुन्छ,’ उप्रेतीले अनलाइनखबरसँग भने ।

नागरिक अघिअघि, दलहरु पछिपछि

०६२/६३ को आन्दोलनमा नागरिक समाजका अगुवाले राजा ज्ञानेन्द्रको असंवैधानिक कदमको विरुद्धमा सडक तताएका थिए । राजनीतिक दलका उच्च नेता कि नजरबन्दमा थिए, कि अर्धभूमिगत । राजनीतिक दलहरु जनताको माझमा अलोकप्रिय थिए । त्यसैले उनीहरुको आग्रहमा जनता सडकमा आइहाल्ने अवस्था थिएन ।

त्यस्तो अवस्थामा ज्ञानेन्द्रले लगाएको प्रतिवन्ध तोड्दै जनतालाई सडकमा ल्याउने काम नागरिक आन्दोलनले गरेको थियो । पछि राजनीतिक दलले यसको नेतृत्व लिएका थिए । विगतमा जस्तै अहिले पनि प्रतिनिधिसभा विघटनविरुद्धको राजनीतिक आन्दोलनले नागरिकको टेको खोजिरहेको छ ।

नागरिक समाजले माइतीघर मण्डल, बानेश्वर, रत्नपार्क लगायतका स्थानमा आयोजना गरिरहेको विरोध कार्यक्रममा युवा पिँढीको उपस्थिति बाक्लो देखिन्छ । ०६२/६३ सालको जनआन्दोलनमा जस्तै यसपटक नागरिक अगुवाहरु मुखरित देखिएका छन् ।

कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरुद्धमा नागरिक समाज विस्तारै आन्दोलनमा उत्रन थालेको छ । संविधानमाथि केपी ओलीबाट प्रहार भएको भन्दै नागरिक समाजका अगुवाहरु जुर्मुराएका छन् । नेपाल बार एसोसिएन, नेपाल पत्रकार महासंघलगायत संघ-संस्थाहरु पनि ओलीको कदमविरुद्ध उत्रन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment