Comments Add Comment

भारत बायोटेकका कोरोना खोपमा शर्तैशर्त, ककसले लगाउन पाउँदैनन् ?

६ माघ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप विकास गरेको भारतीय कम्पनी भारत बायोटेकले आफ्नो खोपको लागि विभिन्न शर्त जारी गरेको छ ।

कम्पनीले आफ्नो कोभ्याक्सिन खोप एलर्जीको समस्या भएका, ज्वरो र अनियमित रक्तस्राव, रगत पातलो बनाउने औषधि खाइरहेका र प्रतिरक्षा क्षमता बढाउने औषधि लिइरहेका मानिसहरुलाई नलिन सुझाव दिएको छ ।

भारत बायोटेकले आफ्नो वेबसाइटमा एक विज्ञप्ति जारी गर्दै गर्भवती र बच्चालाई स्तनपान गराइरहेका महिलालाई पनि कोभ्याक्सिन नलगाउन सुझाव दिएको छ ।

साइडइफेक्ट

विज्ञप्तिमा कम्पनीका अनुसार कोभ्याक्सिन गम्भीर एलर्जिक प्रतिक्रियाको कारण पनि बन्न सक्छ । जसको कारण श्वासप्रश्वासमा समस्या, अनुहार तथा घाँटी सुन्निने, मुटुको गति बढ्ने, रिँगटा लाग्ने, कमजोरी हुनेजस्ता समस्या हुन सक्छ ।

भारत बायोटेकले कोभ्याक्सिनबारे फ्याक्टसिट जारी गरेको छ । जसमा सम्भावित नकारात्मक असरबारे जानकारी दिइएको छ । कोभ्याक्सिन खोपको अहिले तेस्रो चरणको क्लिनिकल परीक्षण चलिरहेको छ । अहिलेसम्म यो खोप कति प्रभावकारी छ भन्ने जानकारी दिइएको छैन ।

भारत बायोटेकले खोप लगाए पनि मानिसहरुलाई कोरोना नियन्त्रणको मापदण्ड पालना गर्न सुझाव दिएको छ । भारतको स्वास्थ्य मन्त्रालयले मानिसलाई आफूले चाहेको कोरोना खोप लगाउने अनुमति दिएको छैन । तर, मानिसहरुले खोप लगाउने वा नलगाउने भन्ने निर्णय भने आफैं गर्न सक्छन् ।

भारतीय पत्रिका द हिन्दूका अनुसार कोभ्याक्सिन लगाएपछि अहिलेसम्म ४४७ जना मानिसमा यसको साइडइफेक्ट देखिएको छ । जसमध्ये तीन जनालाई अस्पतालमा भर्ना गरिएको थियो । यस्तोमा कोरोना खोपबारे सचेतना कार्यक्रम फैलाउनु जरुरी रहेको भारत बायोटेकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment