Comments Add Comment

लोकगायक रत्न बानियाँको निधन

लामो समयदेखि लोकदोहोरी क्षेत्रमा सक्रिय गायक तथा सर्जक रत्न बानियाँको ५८ वर्षको उमेरमा निधन भएको छ । उनको बुधबार बिहान ओम अस्पतालमा निधन भएको हो । बानियाँले केही वर्ष यता मिर्गौला फेल भएपछि डायलासिस गराउँदै आएका थिए । उनी सुगर, प्रेसरको समेत बिरामी थिए ।

स्वास्थ्यमा असहज भएपछि मंगलबार अस्पताल लगिएकोमा बुधबार बिहान ३ः३० बजे उनको निधन भएको बानियाँका भतिज राजु बानियाँले अनलाइनखबरलाई जानकारी दिए ।

स्याङ्जा जिल्लाको फेदीखोलामा जन्मिएका गायक बानियाँ तीन दशकभन्दा लामो समयदेखि लोकदोहोरी क्षेत्रमा सक्रिय थिए । उनले सयौं गीतमा स्वर दिएका छन् । ‘लडाइको लाहुरे’ उनको चर्चित एल्बम हो ।

उनका ‘जिन्दगी के छ र’, ‘मनको वेदना’, ‘पोखरा फेवाताल’ लगायतका अन्य थुप्रै लोकगीत चर्चित छन् । रोइला, सालैजो तथा भजन संग्रह समेत ल्याएका बानियाँ झरना संगीत रेकर्डिङ स्टुडियोका संचालक समेत हुन् ।

लोकदोहोरी गायिका राधिका हमालले धेरै नयाँ कलाकारहरु बानियाँको सहयोगमा स्थापित भएको बताइन् । आफू स्वयंमलाई पनि पहिलो गीतमा बानियाँले नै लगानी गरिदिएको उनको भनाई छ ।

बानियाँसँग थुप्रै गीत गाएकी लोकदोहोरी गायिका शर्मिला गुरुङ्ले अनलाइनखबरसँग भनिन्, ‘एकदमै राम्रो सर्जक तथा गायक हुनुहुन्थ्यो । लोकसंगीतमा उहाँको ठूलो योगदान छ । आज दुःखद खबर सुन्नुपर्यो ।’

बिरामी भएपछि बानियाँले माछापोखरीमा रहेको घर समेत बेचेका थिए । मिर्गौला फेल भएपछि लोकदोहोरी क्षेत्रका कलाकारहरुले पनि उनको उपचारमा सहयोग गरेका थिए ।

उनको निधनले नेपाली लोकदोहोरी क्षेत्रलाई अपूरणीय क्षती पुगेका राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका अध्यक्ष रमेश विजीले बताए । गायक बानियाँको निधनमा लोकदोहोरी क्षेत्रका धेरै कलाकारहरुले दुःख ब्यक्त गरेका छन् । स्वर्गीय बानियाँका श्रीमती, दुई छोरा र एक छोरी छन् । उनको बुधबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिदैछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment