Comments Add Comment

चीनद्वारा पोम्पेओसहित ट्रम्प प्रशासनका २८ अधिकारीमाथि प्रतिबन्ध

८ माघ, काठमाडौं । चीनले अमेरिकाका पूर्व विदेशमन्त्री माइक पोम्पेओसहित डोनाल्ड ट्रम्प प्रशासनका २८ अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको छ । आफ्नो आन्तरिक मामिलामा दखल दिएको भन्दै चीनले उनीहरुमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

चीनको विदेशमन्त्रालयले बुधबार जो बाइडनले राष्ट्रपतिको शपथ लिँदै गर्दा उक्त जानकारी दिएको हो । ट्रम्प प्रशासनको पालामा चीनसँगको अमेरिकाको सम्बन्ध अहिलेसम्मकै कमजोर बनेको थियो ।

चीनले प्रतिबन्ध लगाएका अमेरिकी अधिकारीहरुमा ट्रम्पका व्यापार सल्लाहकार पिटर नाभारो, राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रिन, स्वास्थ्यमन्त्री एलेक्स अजर र संयुक्त राष्ट्रसंघका स्थायी प्रतिनिधि केली क्राफ्टलगायत छन् ।

त्यस्तै ट्रम्पका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टन र पूर्व सल्लाहकार स्टेफन ब्यानोनमाथि पनि चीनले प्रतिबन्ध लगाएको छ । उनीहरुले राजनीतिक स्वार्थ र पूर्वाग्रहलाई ध्यानमा राख्दै चीनविरुद्धको नियम ल्याएको आरोप लगाइएको छ । प्रतिबन्धसँगै व्यक्तिगत तथा परिवारलाई पनि चीन, हङकङ र मकाउ भ्रमणमा प्रतिबन्ध लगाइएको छ । साथै उनीहरु संलग्न भएको कम्पनीले पनि चीनमा व्यवसाय गर्न पाउँदैनन् ।

बाइडन पक्षका नेताहरुले चीनको यो कदमको विरोध गरेका छन् । चीनले अमेरिकामा विभाजन ल्याउनका लागि यस्तो कदम चालेको उनीहरुको आरोप छ । ट्रम्प प्रशासनले निरन्तर चीनलाई दबावमा राख्ने कदमहरु चालेको थियो । यस्तोमा ट्रम्प प्रशासनको कार्यकाल सकिएसँगै चीनले अमेरिकी अधिकारीहरुमाथि निशाना साँधेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment