Comments Add Comment

शक्ति प्रदर्शनका तीन निशाना : अदालत, आयोग र ओली

प्रदर्शन सफल भएको भन्दै माधव–प्रचण्ड समूहका नेता उत्साहित

९ माघ, काठमाडौं । संसद् विघटनविरूद्ध शुक्रबार राजधानीमा गरिएको शक्ति प्रदर्शनमा उल्लेख्य जनसहभागिता देखिएपछि नेकपा प्रचण्ड–माधव समूहका नेताहरु उत्साहित बनेका छन् ।

प्रदर्शनमा देखिएको जनसहभागिताबाट यो समूहका नेताहरु सन्तुष्ट देखिन्छन् । सडकमा नउत्रिएको पार्टीपंक्तिमा पनि यो प्रदर्शनले उत्साह थपेको नेताहरुको समीक्षा छ ।

केपी ओलीले चालेको कदम नसच्चिए जनआन्दोलन चर्कन सक्ने आजको प्रदर्शनबाट सन्देश गएको स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे बताउँछन् । ‘ईच्छा भएन भने कसैको करबलमा जनता सडकमा आउँदैनन् । तर, आजजस्तो जनप्रदर्शन भयो, यसले ओलीको प्रतिगामी कदमका विरुद्धमा जनता छन् भन्ने प्रष्ट भयो’, पाण्डे भन्छन् ।

कार्यक्रममा देखिएको जनसहभागिताले तटस्थ बसेका, यताउता गर्ने र सोच्नेहरुलाई पनि प्रभावित बनाएको स्थायी कमिटी सदस्य पम्फा भुसाल बताउँछिन् ।

‘सहभागी अधिकांश पार्टीका प्रतिबद्ध नेता तथा कार्यकर्ता हुन् । तर, अब यसले अरुलाई पनि संघर्षमा जान उत्साह थप्यो । प्रतिगामी कदम विरुद्धको संघर्षमा सम्झौता हुन्न भन्ने सन्देश दियौं’, उनी भन्छिन् ।

एक लाख मानिस सडकमा उतार्ने प्रचारसहित यो समूहले गरेको शक्ति प्रदर्शनका कारण काठमाडौंका सडकहरु शुक्रबार दिनभरजसो अस्तव्यस्त बने । पर्यटन बोर्ड र राष्ट्रियसभा गृह अगाडिको मूल सडकमै ‘टी आकार’ बनाएर आयोजित सभाका कारण उपत्यकाका धेरै रुटको यातायात प्रभावित बन्यो ।

प्रदर्शनबाट मुख्य गरी नेकपाको कार्यकर्ता पंक्ति बढी उत्साहित बनेको राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा दीपशिखा बताउँछन् । उनी भन्छन्, ‘हामी अलिअलि वार्मअपमै थियौं । तर, आजको जनप्रदर्शन सशक्त भयो ।’

पुस १४ मा उपत्यकास्तरीय प्रदर्शन गरेको माधव–प्रचण्ड समूहले अन्य दल र नागरिक समाजसहित संयुक्तरुपमा शक्ति प्रदर्शन गर्ने प्रयास गरेको थियो । तर, शुक्रबार एक्लै प्रदर्शनको आयोजना भयो ।

नेकपा वैधानिकरुपमा विभाजित भइनसकेकाले नेपाली काँग्रेस, जनता समाजवादी पार्टीजस्ता ठूला शक्तिहरू संयुक्त प्रदर्शनका लागि अहिलेसम्म राजी भएका छैनन् ।

संयुक्त प्रदर्शनको सम्भावना तत्काल नदेखिएपछि माघ ३ मा बसेको स्थायी कमिटी बैठकले एकलरुपमा शक्ति प्रदर्शनको निर्णय गरेको थियो । एक साताको तयारीमा यो समूहले राजधानीमा जनता उतारेर राजनीतिक दबाव सिर्जना गरेको छ ।

उपत्यकाका विभिन्न ९ स्थानबाट निकालिएको जनप्रदर्शनका लागि राजधानी उपत्यका, बागमती प्रदेशका सवै जिल्ला, प्रदेश–२ र गण्डकीका केही जिल्लाबाट कार्यकर्ता ल्याइएको थियो ।

अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, बरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य घनश्याम भुसालले एउटै स्वरमा संसद् विघटन पछि ओली प्रतिको बुझाइबारे प्रष्ट्याउने प्रयास गरे ।

‘सच्चिन तयार छौं, साथ दिनुहोस्’

पुस ५ मा प्रतिनिधिसभा विघटन गर्ने ओलीको निर्णयविरुद्ध महिनाभर यो समूह चरणबद्ध प्रदर्शनमै छ । यसवीचमा पोखरा, दाङ, बर्दिया, बाँके र सुर्खेतमा ठूला विरोधसभाहरु सम्पन्न भएका अध्यक्ष माधव कुमार नेपालले कार्यक्रममा बताए ।

प्रचण्ड–माधव समूहको प्रदर्शनमा स्वतन्त्र नागरिकहरु होमिन तयार भइनसकेको अवस्थामा यो आन्दोलन सीमित नेताको पद प्राप्तिका लागि होइन भन्ने सन्देश दिने प्रयास प्रचण्ड र माधव नेपालले गरेका छन् ।

शुक्रबारको शक्ति प्रदर्शनमार्फत् नेताहरुले नागरिकहरुको स्वतन्त्र पंक्तिको विश्वास जित्न प्रयास गरे । वक्ताको संख्या सानो बनाएर सभालाई सम्बोधन गरेका नेताहरुले लगभग एउटै भाषामा संयुक्त अपिल गरे– ओलीसँगको दृष्टिकोणमा हामी प्रष्ट छौं । पहिले तह लगाउन नसकेर कमजोरी भयो, अब ओली प्रवृत्तिको अन्त्य नभएसम्म आन्दोलन रोक्दैनौं ।

‘सेटिङ’ भए, जनआन्दोलन !

ओलीबाट फैलाइएको भ्रमलाई यो शक्ति प्रदर्शनले चिर्ने काम गरेको नेता पाण्डे बताउँछन् । ‘अरूसँग जनसमर्थन छैन, सबै मेरै पछि छन् भन्ने ओलीको प्रचारको खण्डन भयो । नेपाली जनता प्रतिगामी कदम र संसद् विघटनको विपक्षमा छन् भन्ने पुष्टि भयो’ उनी भन्छन् ।

शुक्रबारको शक्ति प्रदर्शनलाई सर्वोच्च अदालत र निर्वाचन आयोगमाथि नैतिक दबाव दिने उद्देश्यका रुपमा समेत यो समूहले लिएको देखिन्छ । सम्बोधनका क्रममा नेता भुसालले ‘सेटिङ बाहेक अरु कुनै आधारमा संसद् पुन:स्थापना नरोकिने’ ठोकुवा नै गरे ।

सर्वोच्चमा संसद् विघटनविरुद्धको मुद्दा विचाराधीन रहेका बेला यसअघि पनि यो समूहका नेताहरुले अदालत सेटिङमा पर्न नहुने अभिव्यक्ति दिँदै आएका थिए । अझ, उनीहरुले बृहत जनप्रदर्शन मार्फत् अदालतलाई नैतिक दबावमा पार्न खोजेको देखिन्छ ।

‘जनता षडयन्त्र, जालझेल र सेटिङको विपक्षमा जनता छन् । आवश्यक पर्दा यतिमा मात्रै सीमित नभएर थप सशक्त संघर्षका लागि पनि तयार छन् भन्ने हो’, पाण्डे भन्छन् ।

शुक्रवारको जनप्रदर्शन संसद् पुन:स्थापना नभए जनआन्दोलन गरिने चेतावनीपूर्ण संकेत दिन आयोजना गरिएको नेताहरू स्वीकार्छन् । सँगै, निर्वाचन आयोगको वैधानिकताप्रति पनि खबरदारी गर्न यो प्रदर्शनलाई गरिएको बताउँछन् ।

संसद् विघटन असंवैधानिक र अराजनैतिक मात्रै नभएर संविधानमाथिकै कू भएको बताउँदै आएको यो समूहले पार्टी विभाजन अगाडिका ७० प्रतिशत केन्द्रीय सदस्य आफूतर्फ भएकाले नेकपाको वैधानिकतामा दावी गर्दै आएको छ । तर, संसद् विघटन र पार्टीको वैधानिकता विवाद दुबै विचाराधीन अवस्थामा छन् ।

त्यसो त ओली समूहले पनि संसद् विघटनको निर्णय उल्टिन नहुने भन्दै सभा, भेला र बैठकहरू गर्दै आएको छ । छुट्टै पार्टी निर्माणको अभियानसँगै अदालत र निर्वाचन आयोगलाई प्रभावित बनाउने गरी ओली आफंैले अभिव्यक्ति दिँदै आएका छन् ।

मुख्य गरी सुदुर पश्चिमको आमसभा मार्फत् ओली समूहले आफ्नो पक्षमा जनता रहेको देखाउने प्रयास गरेको थियो । शुक्रबारको प्रचण्ड–माधव समूहको शक्ति प्रदर्शनपछि ओली समूहले पनि त्यसको काउन्टरका लागि माघ २३ गते काठमाडौंमा बृहत सभा गर्ने भएको छ ।

यो पनि पढ्नुहोस् :

‘अन्तिम भएन आन्दोलन, असल नेता चाहियो’

प्रचण्ड-माधवले जनआन्दोलनको झल्को मानेको शक्ति प्रदर्शन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment