+
+
ग्राउण्ड जीरो रिपोर्ट :

‘अन्तिम भएन आन्दोलन, असल नेता चाहियो’

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७७ माघ ९ गते १९:५२

९ माघ, काठमाडौं । भृकुटीमण्डप र पुरानो बसपार्क आसपास नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को झण्डा र सूर्यचिन्हले झकिझकाउ थियो । सडक पेटी र छेउछाउमा विभिन्न पर्चा र लालझण्डा यत्रतत्र छरिएका थिए । तिनै झण्डा हटाएर लठ्ठी जम्मा गर्दै थिइन् ३९ वर्षीय मुसुरी मिजार ।

‘लठ्ठी किन टिप्नुभएको ?’

मुस्कुराउँदै मुसुरीले जवाफ दिइन्, ‘भरे भात पकाउन हुन्छ भनेर ।’

‘खाना दाउरामै पकाउनुहुन्छ ?’

‘ग्यासमा पनि पकाउँछौं । तर, ग्यास सकिन लागेको छ । ग्यास नभए दाउरामै पकाउने त हो ।’

मुसुरी जडिबुटीस्थित सुकुम्बासी बस्तिमा बस्छिन् । सुकुम्बासी बस्तीमै बस्ने केही अगुवाहरुले जाऔं भनेपछि उनी आन्दोलनमा सहभागी भएकी हुन् ।

‘र्‍याली गर्दै आएको नि, कम्युनिस्ट सरकार आएपछि महंगी हुँदैन भन्थे, झन बढिरहेको छ । त्यो रोक्नुपर्‍यो, यही भन्न आएकी हुँ’ मुसुरीले प्रचण्ड–माधव समूहको कार्यक्रममा सहभागी हुनुको कारण बतााइन् ।

कार्यक्रम सकिनासाथ मुसुरीलाई घर पुग्ने हतारो थियो । सँगै आएका साथीहरु अगाडि पुगिसकेका थिए । ‘साथीहरु गइसके’ भन्दै उनी बाटो लागिन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा प्रचण्ड–माधव नेपाल समूहले शुक्रबार राजधानीमा आयोजना गरेको शक्ति प्रदर्शनमा सहभागी हुन मूलखर्क–९ ओखलढुङ्गाका तेजबहादुर मगर पनि काठमाडौं आएका रहेछन् ।

‘कम्युनिस्ट सरकार आएपछि गरीबलाई हेर्छ भन्थ्यो, गरीबको पार्टी भनेर जिताएर पठाइयो । पदमा पुगेपछिको पारा त राजावादी–राजावादी जस्तो देखियो’ मगरले भने, ‘यस्तै नेता चुनेपछि हामीलाई जस्ताको त्यस्तै ढिँडो निस्तै !’

मैलो पहिरनमा रहेका मगरले आफू किसान भएको बताए । ‘हाम्रो ईच्छा समयमै र कम मूल्यमा मल, बिउ पाओस् भन्ने हो । तर, त्यस्तो भएन । झन महंगो भयो, त्यही पनि पाइएन ।’

प्रचण्ड–माधव समूहका नेताहरुले मगरलाई अहिलेका प्रधानमन्त्रीले राम्रो गरेनन्, अब हामी गएपछि राम्रो हुन्छ, आन्दोलनमा जाउँ भनेका रहेछन् । सोही अनुसार उनी शक्ति प्रदर्शनमा सहभागी भएका रहेछन् ।

‘चुनाव भए महंगी बढ्छ !’

प्रचण्ड–माधव समूहले गरेको शक्ति प्रदर्शनमा बिभिन्न जिल्लाबाट आएका कार्यकर्ता र नागरिकहरुसँग हामीले कुराकानी गर्‍यौं । उनीहरु प्रतिनिधिसभा पुन:स्थापना किन गर्नुपर्छ ? भन्ने प्रश्नको जवाफ राजनीतिकरुपमा दिइरहेका थिएनन्, धेरैले हरेक चुनावपछि महंगी बढ्ने गरेको सुनाए ।

‘चुनाव त पाँच/पाँच वर्षमा हुने हो । तर, सरकारले पहिले नै चुनाव गर्छु भनेर राम्रो गर्न खोजेन’ प्रदर्शनमा सहभागी कालिका नगरपालिका–९ चितवनका होमनाथ आचार्यले भने, ‘चुनाव नगरे खर्च जोगिन्छ, चुनाव गर्दा राज्यलाई ऋण लाग्ला, त्यो ऋण हामीलाई नै त हो ।’

बरु चुनावमा खर्च गर्ने पैसाले कोरोना भाइरसको औषधि किनेर जनतालाई निशुल्क बाँड्न आचार्यले सुझाव दिए । चितवनबाट मेयर, वडाअध्यक्षहरु पनि काठमाडौं आएको सुनाउँदै उनले भने, ‘हाम्रोतिर कोही पनि मध्यावधि चुनावको पक्षमा छैनन् ।’

सर्लाहीबाट काठमाडौं आएका शिवशरणले पनि मध्यावधि चुनाव भए महंगी बढ्ने चिन्ता व्यक्त गरे । यही चिन्ताले आन्दोलन गर्न काठमाडौं आएको उनले सुनाए ।

नेकपा प्रचण्ड–माधव समूहको शक्ति प्रदर्शनमा मधेसी समुदायको उपस्थिति पहाडी जिल्लाका नागरिकहरुको तुलनामा अलि बढी जस्तो देखिन्थ्यो । प्रदेश नम्बर दुईका संघर्ष समितिका सदस्य समेत रहेका प्रकाश खतिवडाले दुई नम्बर प्रदेशबाट मात्र २५ हजार काठमाडौं आएको दाबी गरे ।

असल नेतृत्वको खोजी !

र्‍यालीमा युवा जमातको उपस्थिति राम्रै देखिन्थ्यो । मूल र्‍यालीको अगाडि–अगाडि पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायत थिए भने अन्य धेरैवटा र्‍यालीको अग्रपङ्तीमा युवाहरु देखिन्थे । तीनैमध्ये एक हुन्– युवा संघका केन्द्रीय सदस्य–सञ्जय श्रेष्ठ ।

‘म १५/१६ वर्षको थिएँ, ०६२/०६३ को जनआन्दोलनमा कम्युनिस्ट भनेर हिँडेको । अधिकारका लागि अन्तिम आन्दोलन भनियो, पत्याइयो । त्यसपछिका राजनीतिक उचार–चढाव नियाल्ने मौका पाइयो,’ श्रेष्ठले अनलाइनखबरसँग भने, ‘जे–जस्तो भए पनि अब त यसरी सडकमै नारा लगाएर हिँड्न पर्दैन होला भन्ने थियो । तर अहिलेको अवस्था तपाईं आफैँ महसुस गर्न सक्नुहुन्छ । म असल नेतृत्व चाहन्छु, त्यसकै खोजीमा यो आन्दोलन हो भन्ने बुझेको छु ।’

प्रचण्ड–माधव नेपाल सही अनि केपी शर्मा ओलीचासहिँ गलत भनेरै असल नेतृत्व भेटाइन्छ त ? भन्ने जिज्ञासामा श्रेष्ठले थपे, ‘अहिले प्रचण्ड–नेपाल नै सही, उहाँहरुले विधिविधानको कुरा गर्नुभएको छ । संविधान र प्राप्त उपलब्धीको रक्षाको कुरा गर्नुभएको छ । अर्को पक्ष यो खोस्न खोज्दैछ ।’

सर्वोच्च अदालतबाट संसद पुन:स्थापना हुने श्रेष्ठको विश्वास छ । ‘नत्र त सर्वोच्च अदालतप्रति नै प्रश्न उठ्छ नि’ उनले भने ।

मनहरी ६ मकवानपुरका आदेश रुम्बा पनि नसोचिएको आन्दोलनमा होमिनुपरेको बताउँछन् । ‘कम्युनिस्ट पार्टी एकै भयो भनेर बहुत खुसी भएको, त्यही भएर झण्डै दुईतिहाइ पाएको हो नि,’ उनले भने, ‘अहिले पार्टी फुट्दा साह्रै नराम्रो लागेको छ । अझ यस्तो आन्दोलनमा आउनुपर्दा अनौठो लागेको छ । व्यक्ति गलत भयो भनेर कम्युनिस्ट पार्टी गलत भन्न हुँदैन । यो कुरा बुझाउनुपर्ने छ ।’

३२ वर्षीय रुम्बाले ०६२/०६३ को आन्दोलनको अनुभव पनि सुनाए । ‘१९ दिने आन्दोलनमा पनि हिँडेको, राजा गए हामी पनि राष्ट्रप्रमुख हुन सक्छौं भनेको हो । सक्छौं पनि । तर, नेकपाले संसदीय दलको नेता चुन्दा व्यक्ति गलत पर्‍यो ।’

‘उहाँ (ओली) नसच्चिई सुखै छैन । यो आन्दोलन स्थिरताका लागि हो । केपी ओलीले मुलुकलाई अस्थिरतातर्फ लान खोजेका छन्, त्यो सफल हुँदैन’ प्रदेश नम्बर दुईका संघर्ष समितिका सदस्यसमेत रहेका प्रकाश खतिवडाले भने ।

दोरम्बा रामेछापकी सुनिता गौतमले ओलीको कदमविरुद्ध आफूहरु अर्को बलिदानी दिन तयार रहेको बताइन् । नेकपा बागमती प्रदेश कमिटी सदस्य समेतरहेकी गौतमले आफू तत्कालीन माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धमा सामेल भएर राजनीतिमा आएको सुनाइन् ।

‘नेपाली जनताले ठूलो त्याग गरेर ल्याएको गणतन्त्र, संघीयता, समानुपातिक समावेशिता, धर्मनिरपेक्षतासहितको संविधान जोगाउन सडकमा छौं,’ उनले भनिन्, ‘यसविरुद्ध लागेका केपी ओलीका हर कदम सच्याउन हामी फेरि बलिदानी दिन तयार छौं ।’

कानेपोखरी मोरङकी सिवानी राई प्रधानमन्त्री केपी शर्मा ओली सचिन्छन् कि भन्ने प्रश्न गर्दा झ्वाँक्किइन्, ‘नेपालमा सबैभन्दा कालो प्रधानमन्त्री केपी ओली ! केपी ओली कहिले पनि सफल भएनन् । अब ओलीलाई आन्दोलनबाटै कुर्सीबाट लछारेर निकाल्छौं ।’

कार्यक्रममा सहभागी अधिकांशको भनाइको साझा निश्कर्ष थियो, ०६२/०६३ को दोस्रो जनआन्दोलन अन्तिम हुन सकेन । देशले असल नेता नपाएका कारण फेरि आन्दोलनमा उत्रन बाध्य हुनुपर्‍यो ।

तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्युरोमा आबद्ध बजगाईं मुलतः संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?