Comments Add Comment

भाइरल बालक सचिनको यात्राः हमालसँग भिडियोदेखि ‘मेरी बास्सै’मा अभिनयसम्म

नेपाली गीतसंगीत पछिल्लो केही समयदेखि भ्यूज, ट्रेन्डिङ र टिकटकमा रमाएको छ । गीत सफलताको मापन त्यसको शब्द, संगीत, स्वर र भिडियो भन्दा पनि भ्यूज, ट्रेन्डिङ र टिकटकका आधारमा निर्भर हुने गरेको छ । यसैले पनि होला, नेपाली म्यूजिक भिडियोमा टिकटकमा राम्रो फलोअर्स कमाएका अनुहारदेखि सामाजिक संजाल र युटुबमा भाइरल भएका व्यक्तिहरु देखिने गरेका छन् ।

पछिल्लो केही समयदेखि गुल्मीका ९ बर्षिय बालक सचिन परियार नेपाली म्यूजिक भिडियो र युटुबमा चर्चामा छन् । हुनत, यसरी चर्चामा आउने सचिन पहिलो पात्र भने होइन । ‘तरकारीवाली’देखि थुप्रै अनुहारले क्षणिक चर्चाको स्वाद चाखिसकेका छन् । तर, अधिकांश अहिले कहाँ छन् कमैलाई मात्र थाहा होला ।

सचिन परियार एक युटुब च्यानलमा अन्तरवार्ता दिएपछि एकाएक भाइरल भए । सचिनको रमाइलो तरिकाले बोल्ने शैली तथा आनीबानी धेरैलाई रोचक लाग्यो । उनको यही शैलीले अन्तरवार्ता हेर्नेको संख्या लाखौ पुग्यो । उनले बोलेका शब्दहरु टिकटकमा भाइरल भए । टिकटकदेखि चलचित्रमा समेत चलेका कलाकारले उनको संवादमा मुख चलाए ।

उनै सचिनले ‘इन्द्रेणी’कार्यक्रममा पुगेर बालगायिका आयुषा गौतमसँग रमाइलोका साथ गीत गाए ।

लगत्तै सचिन परियारको पहिलो गीत भनेर सार्वजनिक भयो, ‘ओठ खोलेर’ । सचिन परियारसँगै अर्की बाल गायिका रबिना बसेल लगायतको स्वर रहेको गीतलाई युटुबमा राम्रै दर्शकले हेरे । हालसम्म यो गीतको भिडियोलाई ६७ लाख बढी पटक हेरिसकिएको छ । भिडियोमा सचिनलाई रमाइलो तरिकाले प्रस्तुत गरिएको छ । लोकदोहोरीमा चलेकी मोडल करिष्मा ढकाल लगायतले भिडियोमा अभिनय गरेका छन् ।
त्यसपछि सचिनको दोस्रो गीत सार्वजनिक भयो, ‘रातो रबर’ । सचिन र रबिना बसेलको स्वर रहेको गीत सार्वजनिक भएको एक सातामा युट्युबमा ११ लाख बढीले हेरेका छन् । अहिले यो गीत युटुब ट्रेन्डिङको पाँचौ स्थानमा छ ।

यसअर्थमा, सचिन अहिले ट्रेन्डिङको अग्रपंक्तिमा छन् । सचिनले ‘ढाका चोली’बोलको गीतको भिडियोमा अभिनय गरे । यस्तै सचिनले अभिनय गरेको अर्को भिडियो ‘रुमाल खस्छ की’ पनि सार्वजनिक भयो । गतवर्ष युट्युबमा भाइरल होचो कदकी मुना मगर र सचिनको अभिनयमा सार्वजनिक गीतलाई पनि युटुबमा ६ लाख भन्दा बढी पटक हेरिएको छ ।

नेपाली चलचित्रका चर्चित नायक राजेश हमालसँग काम गर्ने सपना धेरैको हुन्छ । तर, सचिनले यो सपना पुरा गर्नका लागि लामो समय पर्खिनुपरेन । भाइरल बालक सचिनसँग हमालले पनि कम्मर मर्काए । भिडियोमा सचिनले राजेश हमालको ‘हे…’ बोलको संवाद समेत बोलेका छन् ।

‘बरको छायाँले’बोलको गीतमा सचिनले राजेशसँग अभिनय गरेका हुन् । यो गीतको भिडियो सार्वजनिक भएको तीन दिनमात्र भयो । तीन दिनमा भिडियोलाई युटुबमा ९ लाख भन्दा बढीले हेरेका छन् । यो भिडियोले पनि ट्रेन्डिङमा कब्जा जमाएको छ । रोचक कुरा त के भने, नायक राजेश हमालले लकडाउनपछि काम गरेका भिडियोहरुमा सबैभन्दा छोटो समयमा धेरै हेरिएको भिडियो ‘बरको छायाँले’ हो । सचिनले भिडियो मात्र होइन, हाँस्य टेलिसिरियल ‘मेरी बास्सै’मा समेत अभिनय गरिसकेका छन् ।

अहिले युटुबमा सचिन मात्र छन् भन्दा हुन्छ । जुन, केही महिना अगाडि अरु कसैको नाममा थियो । सचिनलाई म्यूजिक भिडियो निर्माताहरुले भाइरल बालकको रुपमा मात्र प्रयोग गर्छन् या उनको प्रतिभालाई चिनेर अगाडि बढाउँछन् त्यो केही समयमै देखिनेछ । तर, सचिनको चर्चा के सधै यसरी नै होला त ? कि सचिनको ठाउँ केही महिनामै अर्को भाइरल व्यक्तिले लिनेछन् ? यो भने मुख्य प्रश्न हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment