Comments Add Comment

पहिलोपटक कोरोना खोप लगाउन पाउँदा…(फोटो फिचर)

१४ माघ, काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप अभियान आजबाट देशभर सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल विधिबाट खोप अभियानको शुभारम्भ गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारबाट खोप अभियान सुरु गर्दै प्रधानमन्त्री ओलीले सबै नेपालीलाई तीन महिनाभित्र कोरोनाविरुद्धको खोप उपलब्ध गराउने प्रतिबद्धता जनाए । कोरोनाविरुद्धको खोप सरकारले निःशुल्क उपलब्ध गराउने उनको भनाइ छ ।

नेपालले भारतको सेरम इन्सटिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप प्रयोग गरेको हो । यो खोपको १० लाख डोज भारत सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको थियो ।

 

यो खोप पहिलो चरणमा फोहरमैला व्यवस्थापनमा खटिने फोहर संकलक तथा चालक, एम्बुलेन्स तथा शववाहन चालक र सहचालक, प्रत्यक्ष उपचारको सेवा दिने वा खोप व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी तथा स्वयंसेवक, शव व्यवस्थापनमा खटिने व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय प्रवेशविन्दुमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारी, वृद्धाश्रममा रहेका व्यक्ति तथा हेरचाहमा खटिने कर्मचारी र कारागारमा रहेका कैदी तथा सुरक्षाकर्मीलाई दिइएको छ ।

टेकु अस्पताल, त्रिवि शिक्षण अस्पताल, सशस्त्र प्रहरी बलको अस्पतालमा कोरोनाविरुद्धको खोप पहिलो पटक लगाउन पाएकाहरु खुसी देखिन्थे । टेकु अस्पतालका निर्देशक सागरराज भण्डारीले पहिलो खोप लगाएर अभियानको शुभारम्भ गरे । टेकु अस्पतालकै ८० वर्षीय रेडियोलोजिष्ट नेत्रबहादुर अमात्यले पनि खोप लगाए

पहिलो डोज खोप लगाउनेहरुले आफूहरुको स्वास्थ्यमा कुनै असर नदेखिएको भन्दै निश्चिन्त भएर खोप लगाउन सबैलाई आग्रह गरेका छन् । भारतमा ७० प्रतिशत प्रभावकारी मानिएको कोभिशिल्ड खोप लगाउन कतिपय हिच्किचाइरहेको बेला उनीहरुले यो खोप सुरक्षित रहेको बताए ।

पहिलो चरणमा करिब चार लाख ३० हजार व्यक्तिहरुलाई खोप लगाउने तयारी सरकारको छ । खोपको पहिलो मात्रा दश दिनभित्र दिइसक्ने लक्ष्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले जानकारी दिए । पहिलो मात्रा दिएको चार सातामा दोस्रो मात्रा दिइने छ ।

पहिलो चरणका लागि आएको दश लाख डोज खोपमध्ये लक्षित वर्गको संख्याका आधारमा सबैभन्दा बढी बागमती प्रदेशका लागि छुट्याइएको छ ।

गत वर्ष माघ १० गते नेपालमा पहिलोपटक कोरोना भाइरस संक्रमण देखापरेको थियो । हालसम्म नेपालमा २ लाख ७० हजार संक्रमित भएका छन् भने २ हजार १ सय जनाको निधन भएको छ । २ लाख ६६ को हाराहारीमा संक्रमण मुक्त भएका छन् ।

नेपालमा कोरोना संक्रमण देखिएको एक वर्षपछि नेपालीले कोरोनाविरुद्धको खोप लगाउन पाएका छन् ।

कसैकसैलाई यो खोप लगाएको ठाउँमा सुन्निने, दुख्ने, रिंगाटा लाग्ने, आलस्य हुने, टाउको दुख्ने, वाकवाक लाग्ने जस्ता साइडइफेक्ट हुन सक्ने चिकित्सकहरु बताउँछन् ।

चिकित्सकहरुका अनुसार १८ वर्ष उमेर नपुगेकाले यो खोप लगाउन हुँदैन । यसैगरी कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका, ज्वरो आएका, सुत्केरी, गर्भवती, कोरोना संक्रमित व्यक्तिहरुलाई पनि खोप नलगाउन चिकित्सकहरुले सुझाएका छन् । यसैगरी पहिलो डोज लगाउँदा स्वास्थ्यमा गम्भीर समस्या आएकाहरुलाई दोस्रो डोज दिइने छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment