१८ कात्तिक, काठमाडौं । जनकपुरका व्यवसायीहरूले आज बजार बन्द गरेर प्रदर्शन गरेका छन् ।
धनतेरस पर्वको पूर्वसन्ध्यामा सुनचाँदी व्यवसायीमाथि प्रहरीले गरेको दमन तथा कुटपिटको विरोधमा व्यवसायीहरूले प्रदर्शन गरेका हुन् ।
उनीहरूले घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग राखेका छन् ।
जनकपुरधाम उद्योग वाणिज्य संघले गरेको आन्दोलनमा घटनामा संलग्न दोषी प्रहरीमाथि कारबाहीको माग गरिएको छ ।
संघका अध्यक्ष सुरेन्द्र भण्डारीमाथि प्रहरीद्वारा गरिएको दमन तथा कुटपिट विरुद्ध जनकपुरधाम उद्योग वाणिज्य संघ र जनकपुरधामका व्यापारीहरु दोस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत आज बजार व्यवसाय बन्द गरेका हुन् ।
जनकपुरधामका व्यापारीहरु बिहान ९ बजेदेखि १२ बजेसम्म आ–आफ्नो व्यापारिक प्रतिष्ठान बन्द गरी विरोधमा उत्रिएका हुन् ।
त्यस्तै जनकपुरधाम उद्योग वाणिज्य संघको अगुवाइमा नगरमा व्यापारीहरूले विरोध र्याली समेत निकालेका थिए ।
पहिलो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत व्यवसायीहरूले व्यापारिक प्रतिष्ठानमा कालो झन्डा झुन्ड्याएर कालोपट्टी बाँधेर व्यवसाय सञ्चालन गरी ३ दिनसम्म विरोध जनाएका थिए ।
धनतेरस पर्वको पूर्वसन्ध्यामा अवैध सुनचाँदी रहेको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो । छापामार्ने क्रममा एक पसलबाट प्रहरीले ७ किलो चाँदी नियन्त्रणमा लिएपछि व्यापारीहरू प्रतिवादमा उत्रिएका थिए ।
प्रहरीले छापाको नाममा चाँदी लुटेको आरोप लगाएर व्यापारीहरू प्रतिवाद गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।
सोही क्रममा प्रहरीको कुटाइबाट जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी घाइते भएका थिए ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4