Comments Add Comment

ज्ञानेन्द्र, पारस र वाटमोर कतार नजानुको कारण के हो ?

१७ माघ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आगामी मार्चमा ओमानमा आईसीसी विश्वकप लिग-२ अन्तर्गत ट्राई सिरिज खेल्दैछ । ओमान नेपाल र अमेरिकाबीच हुने उक्त सिरिज आउन अब दुई महिनाभन्दा कम समय बाँकी छ । अमेरिकाले त्यही सिरिजका लागि ४४ खेलाडीलाई प्रारम्भिक चरणमा प्रशिक्षणका लागि बोलाएको छ ।

नेपालमा अहिले चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट चलिरहेको छ । शनिबार फाइनल भएपछि यो प्रतियोगिता सकिनेछ । आइतबारदेखि नेपालले पनि त्यही सिरिजका लागि क्लोज क्याम्प सुरु गर्दैछ ।

नेपाल क्रिकेट संघले प्रधानमन्त्री कप सकिएको भोलिपल्टबाटै क्याम्प सुरु गर्ने बोर्ड बैठकबाटै निर्णय गरेको हो । लिग-२ सिरिज एकदिवसीय फर्म्याटमा हुनेछ । गत फ्रेब्रुअरीमा नेपालले घरेलु मैदानमा खेल्दै लिग-२ मा डेब्यु गरेको थियो । त्यसयता नेपालले अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेलेको छैन । गत मार्चमा थाइल्याण्डमा एसीसी टी-२० इस्टर्न रिजन नेपालले खेलेको पछिल्लो अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।

अहिले घरेलु क्रिकेट चलायमान बन्न थालेको छ । चितवनमा गौतम बुद्ध कप भएपछि दाङमा प्रधानमन्त्री कप महिला क्रिकेट भयो । काठमाडौंमा प्रधानमन्त्री कप पुरुष क्रिकेट पनि सकिँदैछ । अब नेपालको ध्यान ओमानमा हुने सिरिजमै छ ।

त्यसअघि क्यानले कम्तीमा एउटा बायल्याट्रल सिरिज गर्ने योजना पनि बनाएको थियो । सकेसम्म बलियो नभए पनि आफू बराबरको टिमसँग खेलाउने क्यानको चाहना हो । तर अब समय थोरै छ । यस्तै कोरोना महामारीले गर्दा हेल्थ प्रोटोकल लगायत विभिन्न विषयमा ध्यान दिनुपर्नेछ ।

यसैबीच ९ फेब्रुरीदेखि कतारमा हुने टी-२० सिरिजमा नेपालले पनि खेल्ने भएको छ । एकदिवसीय क्रिकेटमा ध्यान दिने बेला क्यानले नेपालको राष्ट्रिय टिमलाई कतारमा खेल्न पठाउने भन्दै बोर्ड बैठकबाटै निर्णय गरेको छ ।

कतार स्पोर्ट्स डेको अवसरमा कतार क्रिकेट एसोसिएसनले आयोजना गर्न लागेको उक्त सिरिजमा नेपाली टिम खेल्न जान लागेको हो । कतार जाने टिम छनोट गर्न बन्द प्रशिक्षणका लागि भन्दै क्यानले १८ खेलाडीको नाम सार्वजनिक गरेको छ । जसमा नियमित कप्तान ज्ञानेन्द्र मल्ल निवर्तमान कप्तान पारस खड्का लेगस्पीनर सन्दीप लामिछाने लगायत सिनियर टिमका आधा दर्जनभन्दा बढी खेलाडी छैनन् ।

कतारमा टी-२० सिरिज हुने र अहिले नेपालको ध्यान एकदिवसीयमै रहेका बेला सिनियर भन्दा पनि युवा खेलाडीलाई अवसर दिँदै खेलाडीको नाम सार्वजनिक गरिएको छ  ।

पारस खड्का हाल युएईमा टी-१० लिगमा टिम आबुधाबीको मेन्टरको भूमिकामा छन् । यस्तै सोमपाल कामी करण केसी र कुशल मल्ल पनि टी-१० लिग खेल्न युएईमै छन् । टी-१० लिग फेब्रुअरी ६ सम्म चल्नेछ र त्यतैबाट पारसबाहेक तीन खेलाडी कतार जाने सम्भावना छ ।

यस्तै कप्तान ज्ञानेन्द्र नहुँदा राष्ट्रिय टिमको उपकप्तान दिपेन्द्र सिंह ऐरीले कतारमा नेपालको नेतृत्व गर्ने सम्भावना बढी छ । यद्यपि क्यानले कप्तान भने तोकिसकेको छैन ।

टिममा पारस र ज्ञानेन्द्र साथै शरद भेषावकर बसन्त रेग्मी जस्ता सिनियर खेलाडी छैनन् । यस्तै सन्दीपसँगै राष्ट्रिय टिमका दुई स्पीनर सुशन भारी र ललित राजवंशी पनि उक्त टिममा छैनन् । यसबाहेक प्रधानमन्त्री कप अन्तर्गत एपीएफविरुद्धको सेमिफाइनल खेल्ने क्रममा घाइते भएका आरिफ शेख पनि टिममा उपलब्ध छैनन् ।

एकदिवसीय सिरिजअघि त्यसको तयारी स्वरुप ५० ओभरकै सिरिज खेल्ने योजना बनाइरहेका बेला कतारमा हुने टी-२० सिरिज खेलेर नेपाललाई के फाइदा होला भन्ने प्रश्नसमेत उठिरहेको छ

यस्तोमा बन्द प्रशिक्षणमा बोलाइएको टिममा विनोद भण्डारी, करण केसी, सोमपाल कामी, दीपेन्द्र ऐरी नै अनुभवी खेलाडीको रुपमा छन् । यस्तै राष्ट्रिय टिमका सदस्य अभिनाश बोहरा, युवा अलराउण्डर कुशल मल्ल, भुवन कार्की लगायत खेलाडी कतार सिरिजका लागि बन्द प्रशिक्षणको सूचीमा छन् ।

प्रधानमन्त्री कपमा राम्रो प्रदर्शन गरेका विवेक यादव पहिलो पटक क्याम्पममा परेका छन् । लुम्बिनीका कप्तान कृष्ण कार्की  र ब्याटस्मयान सौरभ खनाल पनि टिममा छन् । यसबाहेक युवा स्पीनरद्वय शहाब आलम र सागर ढकाल र अलराउण्डर पवन सर्राफ पनि टिममा समावेश छन् ।

विकेटकिपर ब्याट्सम्यान आसिफ शेख र फास्ट बलर कमल ऐरी पनि टिममा छन् । फास्ट बलिङ डिपार्टमेन्टमा राष्ट्रिय टिमका सबै खेलाडी अटाउँदा  राष्ट्रिय टिमका दुई ब्याट्सम्यान दीपेन्द्र र विनोद छन् । यस्तै स्पीनर डिपार्टमेन्टमा राष्ट्रिय टिमका खेलाडी छैनन् ।

क्यानले निर्णय गर्दा राष्ट्रिय टिम नै पठाउने भनेको थियो । अहिले खेलाडी छनोट गर्दा युवालाई अवसर दिन खोजेको देखिएको छ । साथै यसलाई बी टिमको रुपमा समेत हेरिएको छ ।

स्रोतका अनुसार क्यानले बनाएको सेलेक्सन कमिटीका संयोजक उत्तम कर्माचार्यले कप्तानसँग छलफल गरेर लिस्ट तयार पारेका हुन् । सिनियर खेलाडीलाई आराम दिएको भन्दा पनि एकदिवसीय क्रिकेटमा फोकसन गर्न टिममा नराखिएको स्रोतले अनलाइनखबरलाई जनाएको छ ।

नेपालले ओमानमा हुने सिरिजका लागि पनि १ फेब्रुअरीदेखि नै क्याम्प सुरु गर्दैछ । कतार जानेबाहेक अन्य खेलाडीहरु भने यता क्याम्पमै प्रशिक्षणमा हुनेछन् । कतारका लागि बन्द प्रशिक्षणमा बोलाइएका केही सिनियर टिमका खेलाडीलाई पनि एकदिवसीय सिरिजका लागि क्याम्पमै राखेको भए उपयुक्त हुने क्यान भित्रकै केही व्यक्ति बताउँछन् ।

यस्तै राष्ट्रिय टिमका नवनियुक्त प्रशिक्षण डेव वाटमोर पनि कतार जाने छैनन् । नेपालले अहिले एकदिवसीयमै केन्द्रित गर्नुपर्ने भएकाले वाटमोर कतार नजाने भएका हुन् ।

कतार जाने टिमको प्रशिक्षकको रूपमा बसन्त शाही ठकुरीलाई पठाउन लागिएको जानकारी अनलाइनखबरलाई प्राप्त भएको छ । बसन्त नेपालको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दाका खेलाडी हुन् । उनी यू-१६ राष्ट्रिय टिमको प्रशिक्षक रहिसकेका छन् । उनी अहिले प्रधानमन्त्री कपमा भाग लिएको लुम्बिनीका प्रशिक्षक थिए ।

एकदिवसीय सिरिजअघि त्यसको तयारी स्वरुप ५० ओभरकै सिरिज खेल्ने योजना बनाइरहेका बेला कतारमा हुने टी-२० सिरिज खेलेर नेपाललाई के फाइदा होला भन्ने प्रश्नसमेत उठिरहेको छ ।

आइसीसीबाट शशर्त निलम्बन फुकुवा भएयता क्यानले गर्ने कुनै पनि निर्णयको आलोचना हुँदै आएको छ । अहिले भइरहेको प्रधानमन्त्री कपमा क्यानको व्यवस्थापनको समेत आलोचना भइरहेको छ । टाइटल स्पोन्सर खोज्न नसकेकोदेखि लिएर पुरस्कार राशी घटाइएको विषयमा समेत क्यान आलोचित छ ।

अहिले कतारमा सिरिज खेल्ने र त्यहाँ लैजाने टिमदेखि लिएर प्रशिक्षक जाने वा नजाने लगायत विभिन्न विषयहरु राम्रोसँग बाहिर नआउँदा सबैलाई यसबारे चासो बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment