Comments Add Comment

जरुरी छ पशुपंक्षीसँग पनि सुमधुर सम्बन्ध

क्यानडामा एक नेपालीले कुकुरलाई कुटेको आरोपमा ९ महिनाको जेल सजाय भुक्तान गर्नुपर्ने भयो । त्यतीमात्र होइन, जीवनभर घरपालुवा जनावर पाल्न समेत उनीमाथि प्रतिवन्ध लगाइयो । यसरी कुकुर कुट्ने कामलाई स्थानिय अदालतले ‘कायर र घृणित कार्य’ भनी निन्दा गरेको छ ।

हामीकहाँ पनि यस्ता मानविय प्रवृत्तिका मानिसहरु छन्, जसले सडकमा बेवारिसे अवस्थामा रहेका कुकुरलाई संरक्षण दिन्छन् । उपचार गर्छन् । कतिले त आफ्नो घरभरी यस्ता कुकुर जम्मा गरेर त्यसको स्यहार–सुसार गरिरहेका छन् । तर, धेरैजस्तो मान्छेको व्यवहार भने एकदमै अमानविय हुनेगर्छ । उनीहरु आफ्नो आसपासको पशुपंक्षीलाई लखेट्ने, हिर्काउने, यातना दिने गर्छन् । कतिपयले के सम्म गर्छन् भने, कुकुरलाई विषाक्त खानेकुरा ख्वाउने । बिरालोलाई जिउँदै खाल्डोमा पुर्ने । यतिसम्मका घृणित कार्य गर्नेहरु हाम्रै समाजमा हुन्छन् ।

जसरी हामी पति-पत्नी, आमाबुबा, आफन्त, साथीभाई, छिमेकीसँग मानविय सम्बन्ध कायम राख्न खोज्छौं, के पशुपंक्षीसँग त्यस्तै सम्बन्ध स्थापित गर्न सकिदैन ?

तपाईंलाई उड्दै गरेको कागले आएर ठुग्ने होइन । कुकुर झम्टदै आएर टोक्ने होइन । गाईबस्तुले लखेट्ने होइन । त्यसो भए, ति अबोध पशुपंक्षीलाई तपाईं किन देख्न सक्नुहुन्न ? किन लाठी बजार्नुहुन्छ ? किन ढुंगा प्रहार गर्नुहुन्छ ? के त्यसको बदलामा ति पशुपंक्षीलाई प्रेमपूर्वक व्यवहार गर्न सक्नुहुन्न ?

ध्यानपूर्वक सोच्नुहोस् त, तपाईंको घर आसपासमा पशुपंक्षी पक्कै होलान् । तपाईं हिँड्ने बाटोमा सडक कुकुर होलान् । तपाईंको करेसाबारीमा काग, परेवा, भँगेरा आउँछ होला ।

यी पशुपंक्षीका लागि आफ्नो एक गाँस कटाउँदा तपाईं कुपोषणग्रस्त पक्कै हुनुहुनेछैन । बरु, अहिलेको अवस्थामा ‘ओभरडाइटिङ’को जोखिमबाट बच्नुहुनेछ । तपाईं जब खाना खानुहुन्छ, मात्र एक गाँस यी पशुपंक्षीका लागि छुट्याउन सक्नुहुन्छ ।

घरमा कतिपय खानेकुरा जुठो हुन्छ, बासी हुन्छ । दाल, भात, उब्रिन्छ । त्यसरी उब्रिएको खानेकुरा तपाईं डस्बिनमा मिल्काउनुहुन्छ । त्यो बिस्तारै सड्न, गल्न थाल्छ । ब्याक्टेरिया फैलन्छ । डस्बिनको फोहोरले तपाईंको घर दुर्घन्धित हुन्छ ।

त्यसो हो भने, तपाईं यसरी उब्रिएको खानेकुरा किन पशुपंक्षीलाई दिनुहुन्न ?

रेष्टुरेन्टमा खानेकुरा अर्डर गर्नुभयो । खाएर, केही बाँकी रह्यो । अब त्यसलाई प्याक गर्न लगाउनुहोस् । बाटोमा भेटिने कुकुरलाई दिनुहोस् । वा खुला स्थानमा लगेर छाडिदिनुहोस् । त्यो चराचुरुङ्गीले खान्छ ।

यी अबोध, निरिह पशुपंक्षीको आफ्नो अन्नबाली हुँदैन । खेती हुँदैन । खानेकुराको भण्डारण हुँदैन । एक–एक छाक जुटाएर उनीहरुले जीवन निर्वाह गर्नुपर्ने हुन्छ । ति पशुपंक्षीका खातिर तपाईं त्यती सानो त्याग पनि गर्न सक्नुहुन्न ?

भनिन्छ नि, दिनुमा छुटै आनन्द छ । हो, त्यही आनन्द अनुभूत गर्न सक्नुहुनेछ । पशुपंक्षीका खातिर आफ्नो एक गाँस कटाएर दिनुहोस्, तपाईंमा उनीहरुप्रति प्रेमभाव पैदा हुन्छ । ति पशुपंक्षी देख्दा तपाईंलाई घृणा वा रिस होइन, प्रेम जाग्छ । करुणा जाग्छ । जब तपाईंले बाँकी रहेको खानेकुरा कुनै सडक कुकुरलाई दिनुहुन्छ र त्यो कुकुर खुसीसाथ खानेकुरा खान थाल्छ । तपाईंमा परम सन्तुष्ट अनुभव हुन्छ । मनभित्र पैदा हुने यी भावहरुले तपाईंलाई मानविय बनाउँछ ।

तपाईं सामाजिक प्राणीको रुपमा आफुलाई विकास गर्न सक्नुहुनेछ । कतै भाषण गरेर, उपदेश दिएर तपाईं देखावटी रुपमा ‘असल÷भद्रभलाद्मी÷समाजसेवी’ देखिनुहोला । तर, तपाईं स्वयम् बद्लिनुभयो भने त्यसले असली रुपमै तपाईंलाई सन्तुष्ट तुल्याउनेछ । यसले तपाईंको क्रोध, रिस, आवेग, घृणा पनि शान्त गर्छ, जो मानसिक विकार हुन् । जब तपाईको मानसिक बिकार हट्छ, शरीरमा धेरै किसिमको रोग लाग्ने संभावना टरेर जान्छ ।

त्यतीमात्र होइन, जब तपाईं पशुपंक्षीलाई माया गर्न थाल्नुहुनेछ, उनीहरु तपाईंसँग झ्याम्मिनेछ । हिजोसम्म सडकमा देख्दा जुन कुकुरसँग तपाईं डराउनुहुन्थ्यो, त्यो कुकुर तपाईंलाई देख्नसाथ खुसीसाथ उफ्रिएर आउनेछ र तपाईंसँग खेल्नेछ । तपाईंलाई कौसीमा देख्नसाथ काग, परेवा वा भँगेरा वरीपरी आउनेछ । के तपाईंलाई यस्तो सम्बन्ध स्थापित गर्न मन लाग्दैन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment