Comments Add Comment

अक्सफोर्डको खोपको दोस्रो डोज कति समयको अन्तरमा लिने ?

२२ माघ, काठमाडौं । अहिले नेपालमा भारतीय कम्पनीले उत्पादन गरेको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले विकास गरेको कोरोना खोप कार्यक्रम चलिरहेको छ । दुई डोज दिनुपर्ने यो खोप कति समयको अन्तरमा लिनुपर्छ त ?

यसैविषयमा अक्सफोर्ड युनिभर्सिटीले आफ्नो तीन महिनासम्म गरेको परीक्षणको नतिजाको आधारमा दोस्रो डोज खोप लगाउनुपर्ने मिति फरक फरक हुन सक्ने बताएको छ । द लेसेन्टमा प्रकाशित अध्ययनको नतिजाअनुसार यो खोपको प्रभावकारिता निम्नअनुसार हुने पाइएको छ–

– २२ दिनको अन्तरमा दोस्रो डोज खोप दिए खोप लगाउने मानिसमा खोप ७६ प्रतिशत प्रभावकारी पाइएको छ ।

– ६ साताको अन्तरमा दोस्रो डोज खोप लगाउने मानिसमा यो खोप ५४.९ प्रतिशत प्रभावकारी पाइएको छ ।

– १२ साताको अन्तरमा दोस्रो डोज खोप लगाउने मानिसमा यो खोप ८२.४ प्रतिशत प्रभावकारी देखिएको छ ।

अक्सफोर्ड युनिभर्सिटीले गरेको यो अध्ययनले बेलायतको दुई डोज दिने समय बढाउने निर्णयलाई सहयोग पुगेको छ । बेलायतले पहिलो डोज कोरोना खोप दिएको १२ सातापछि मात्र दोस्रो डोज खोप दिने निर्णय गरेको थियो ।

बेलायतले सबै मानिसहरुलाई छिटोभन्दा छिटो कोरोना खोप पुर्‍याउन दुई डोजबीचको अन्तर बढाउने निर्णय गरेको थियो । एस्ट्राजेनेकाका रिसर्च प्रमुखले पनि दुई डोज खोपबीचको अन्तर आठदेखि १२ सातासम्म राख्नु प्रभावकारिता बढाउनको लागि निकै राम्रो हुने बताएका छन् ।

यद्यपि नयाँ अध्ययनमा वृद्ध मानिसहरुमा भने यो खोपको प्रभावकारिता कति हुने भन्ने केही उल्लेख गरिएको छैन । यसअघि पनि ६५ वर्षभन्दा बढी उमेर समूहका मानिसहरुमा यो खोपको प्रभावकारिता कति हुने हो भन्ने उल्लेख गरिएको छैन ।

अमेरिकी खोप निर्माता फाइजरले भने आफ्नो कोरोना खोपको लागि अन्तर बढाएर परीक्षण नगरिएको बताएको छ । अक्सफोर्डको कोरोना खोपको बेलायत, ब्राजिल र दक्षिण अफ्रिकामा गरिएको परीक्षणले दुई डोजबीचको समयावधि बढाउँदा त्यसले लामोसमयसम्म प्रतिरोधी क्षमता विस्तार हुने देखिएको हो ।

सुरुआती तीन महिनासम्म गरिएको अध्ययनमा अक्सफोर्डको खोपको प्रभावकारिता कम हुँदै गएको लक्षण भने पाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment