Comments Add Comment

म्यानमारमा सैन्य कू विरुद्ध हजारौंको प्रदर्शन

२४ माघ, काठमाडौं । शनिबार म्यानमारको यान्गोन सहरमा हजारौं मानिसहरुले सैन्य कूको विरुद्धमा प्रदर्शन गरेका छन् । म्यानमारमा गत सोमबार सैन्य कू भएपछि पहिलोपटक उल्लेख्य संख्यामा मानिसहरुले प्रदर्शन गरेका हुन् । मुलुकभर सेनाले इन्टरनेट सेवा बन्द गरेको भए पनि शनिबार उल्लेख्य संख्यामा मानिसहरु प्रदर्शनमा निस्किएका हुन् ।

शनिबारको प्रदर्शनमा मानिसहरुले तत्काल सैनिक शासनको अन्त्य हुनुपर्ने माग गरेका थिए । उनीहरुले् राष्ट्रपति विन मिन्ट र प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको तस्वीरसहित प्रदर्शन गरेका थिए । उनीहरुको पार्टीले गत नोभेम्बरमा भएको निर्वाचनमा अत्यधिक बहुमतसहितको जित हात पारेको थियो । उक्त निर्वाचनको विषयमा देखिएको विवादलाई लिएर म्यानमारको सेनाले आपत्ति बढाउँदै आएको थियो । यो विवादमा कुरा मिल्न नसकेपछि सेनाले सत्ता आफ्नो हातमा लिएको हो ।

शनिबार प्रदर्शनमा उत्रिएका मानिसहरुले म्यानमारमा के भइरहेको छ भन्ने कुरा अब संसारका सबै मानिसहरुले थाहा पाउनुपर्ने बताएका थिए । म्यानमारको सेनाले मुलुकमा हुन सक्ने प्रदर्शनलाई ध्यानमा राख्दै मुलुकभर इन्टरनेट सेवा बन्द गराएको थियो । अहिले मुलुकमा सामान्य अवस्थामा हुनेमध्ये केवल १६ प्रतिशत सञ्चार पनि सञ्चालनमा रहेको इन्टरनेटको नियमन गर्ने संस्थाहरुले बताएका छन् ।

एम्नेस्टी इन्टरनेशनलले म्यानमारको इन्टरनेटमा लगाइएको प्रतिबन्ध जधन्य अपराध भएको बताएको छ । साथै यो सरकारको गैरजिम्मेवारी कदम रहेको बताएको छ ।

म्यानमारको सेनाले मुलुकमा प्रदर्शनको लागि प्रतिबन्ध लगाएको भए पनि शनिबार यान्गोन युनिभर्सिटी नजिकै ठूलो संख्यामा मानिसहरुले प्रदर्शन गरेका थिए ।

म्यानमारमा सन् २०१५ बाट सेनाको सत्ता हटेको भए पनि सोमबार सांसद तथा सरकारी अधिकारीहरुलाई हिरासतमा लिँदै म्यानमारको सेनाले सत्ता आफ्नो हातमा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment