२६ माघ, काठमाडौं । सावित्रा भण्डारीले दोहोरो ह्याट्रिक गरेपछि विभागीय टोली नेपाल एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा चौदण्डीगढी नगरपालिकालाई १४-० ले पराजित गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएको खेलमा लिग लिडर एपीएफका लागि सावित्रा एक्लैले ८ गोल गरिन् । जारी लिगमा अपराजित एक्लो टिम एपीएफले लगातार सात खेल जित्दै २१ अंक जोडेको छ । एपीएफले दोस्रो स्थानको आर्मीमाथि ५ अंकको अग्रता समेत बनाएको छ ।
उता चौदण्डीगढीको भने यो लगातार सातौं हार हो । उदयपुरको टिम अहिलेसम्म अंकविहीन छ ।
एपीएफको पराकिलो जितमा सावित्राले खेलको चौथो मिनेटमै गोलको खाता खोलेकी थिइन् । उनले १८औं र ३६औं मिनेटमा गोल गर्दै पहिलो ह्याट्रिक पूरा गरिन् । यस्तै ४३औं, ५३औं र ५६औं मिनेटमा गोल गर्दै दोहोरो ह्याट्रिक पूरा गरेकी सावित्राले ७२औं र ८७औं मिनेटमा पनि गोल थपिन् ।
यस्तै अनिता केसीले २४औं र ४०औं मिनेटमा गोल गरिन् भने कप्तान अनिता बस्नेतले पहिलो हाफको इन्जुरी टाइम र ६४औं मिनेटमा गोल गरिन् । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेकी अनु लामाले ७६औं र रवीना गोलेले ७९औं मिनेटमा गोल गरिन् ।
जितपछि एपीएफको ७ खेलबाट २१ अंक छ । समान खेलबाट आर्मी १६ अंकसहित दोस्रो स्थानमा छ ।
प्रतिक्रिया 4