Comments Add Comment

बायर्न विश्व च्याम्पियन, ६ उपाधि जित्ने बार्सिलोनाको कीर्तिमान बराबरी

३० माघ, काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले फिफा क्लब विश्वकप फुटबलको उपाध जितेको छ । बिहीबार राति भएको फाइनलमा मेक्सिकोको टाइग्रेसलाई १-० ले पराजित गर्दै बायर्न विश्व च्याम्पियन बनेको हो ।

कतारको दोहास्थित अहमेद विन अली स्टेडियममा भएको खेलमा बायर्नलाई जित दिलाउन बेन्जामिन पाभर्डले दोस्रो हाफमा निर्णायक गोल गरे ।

पाभर्डले खेलको ५९ औं मिनेटमा गोल गरेका थिए । सुरुमा रोवर्ट लेवान्डोस्की अफसाइड रहेको भन्दै गोलको मान्यता दिएको थिएन । तर पछि भिएआर रेफ्रीको सहयोगमा उक्त गोलले मान्यता पायो ।

त्यसअघि जोसुअ किम्मिचले गरेको गोलललाई भिएआरले नै मान्यता दिएन ।

युरोपियन क्लबले क्लब विश्वकप जितेको यो लगातार आठौं पटक हो । गत वर्ष इंग्लिस क्लब लिभरपुलले यस उपाधि जितेको थियो ।

उत्तर तथा मध्य अमेरिकी क्षेत्रबाट पहिलो पटक क्लब विश्वकपको फाइनल पुग्ने कीर्तिमान बनाएको मेक्सिकोको टाइग्रेस उपविजेतामै चित्त बुझाउन बाध्य भयो ।

क्लब विश्वकप जितेपछि जर्मन क्लब बायर्नले पछिल्लो ९ महिनामा ६ उपाधि जित्न सफल भएको छ । गत सिजन जर्मन बुण्डेसलिगा, युरोपियन च्याम्पियन्स लिग र जर्मन कप जितेर ट्रेबल गरेको बायर्नले त्यसपछि युइएफए सुपर कप, जर्मन सुपर र अहिले क्लब विश्वकप जितेको हो ।

६ उपाधि जित्ने बायर्न दोस्रो क्लब बनेको छ । यसअघि स्पेनको बार्सिलोनाले २००९-१० मा लगातार ६ वटै उपाधि जितेको थियो ।

बायर्नका लेवान्डोस्कीले उत्कृष्ट खेलाडी हुँदै गोल्डेबल बल अवार्ड जिते । टाइग्रेसका आन्द्रे पिएरे गिगनाकले शिल्भर र बायर्नकै जोसुअ किम्मिचले ब्रोन्ज बल प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment