Comments Add Comment

जनयुद्ध सम्झिँदै प्रचण्डले भने– बलिदान दिन तयार छौं भनेर संकल्प गरौं

१ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जरुरी पर्यो भने फेरि पनि बलिदान दिन तयार छौं भनेर आज संकल्प गर्ने दिन भएको बताएका छन् ।

२६ औं जनयुद्ध दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘सहिदहरुलाई सम्झिने भनेको, हामी तिनीहरुले बलिदान गरेर प्राप्त गरेका उपलब्धी गुम्न दिने छैनौं । हामी जरुरी पर्छ भने फेरि बलिदान हुन तयार छौं भनेर संकल्प गर्ने दिन हो ।’

‘सात दशक लामो संघर्षबाट प्राप्त भएको उपलब्धी खतरामा छ । हजारौं सहिदहरुले रगत बगाएर प्राप्त गरेको संविधान धरासायी पार्ने षडयन्त्र भइरहेको छ । त्यसकारण हामी सबै नेपालीहरु एकजुट भएर फेरि एकचोटी संघर्षको मैदानमा उत्रिनुपर्ने संकल्प गर्ने दिन हो आज र म त्यो अपील सबैसँग गर्न चाहन्छु,’ उनले भने ।

‘सहिद स्मृति तथा सम्मान’ कार्यक्रममा प्रचण्डले आजको दिनको विशेष अर्थ र महत्व रहेको बताउँदै भने, ‘यो सामान्य औपचारिकता हाम्रो लागि रहेको छैन । अरु बेलामा सामान्य राजनीति ठिकै ट्रयाकमा चलिरहेको बेलामा पनि हामी सहिदहरुलाई सम्मान गर्छौं, सम्झन्छौं, उहाँहरुले गरेका कामहरुको प्रेरणा लिने कोसिस त गर्छौं तर यो पटक आज हामीले उहाँहरुलाई सम्झिनुको चाहिँ विशेष अर्थ छ । यो औपचारिकता होइन । यो हाम्रो लागि जीवन मरणको प्रश्न भएको छ ।’

उनले भने, ‘ती महान सहिदहरु जसले बलिदान गरेर देशलाई यो ठाउँसम्म ल्याइपुर्याउन योगदान गरे, तिनीहरुका सपनाहरु कुल्चिने दुष्प्रयास भएको प्रयास भएको छ । हामी सहन सक्छौं त ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment