Comments Add Comment

ओलीलाई प्रचण्डको सुझाव- संविधानलाई किच्न सकिन्छ भन्ने भ्रमबाट छिटो मुक्त हुँदा राम्रो

'दक्षिणपन्थी कित्ताबाट प्रहार भयो'

फाइल तस्वीर

१ फागुन, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले, प्रधानमन्त्री केपी शर्मा ओली सहिदहरुको बलिदानबाट बनेको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई किच्न सकिन्छ भन्ने भ्रममा रहेको बताएका छन् । प्रचण्डले यो भ्रमबाट छिटो मुक्त हुँदा राम्रो हुने पनि बताए ।

पार्टी कार्यालय पेरिसडाँडामा २६ औं जनयुद्ध दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘यो हेक्का राख्न जरुरी छ, इतिहासका ती महान सहिदहरु कहिल्यै मर्ने छैनन् । ती हजारौं सहिदहरु मरे भनेर प्रतिक्रियावादी सत्ताधारीहरुले यदि सोचेका छन् भने ती साह्रै ठूलो भ्रममा छन् । केपी ओलीहरुले ती हजारौ सहिदहरुले बगाएको रगतबाट बनेको संविधान र संघीय लोकतन्त्रलाई म किच्न सक्छु भन्ने ठानेका छन् भने उनी साह्रै ठूलो भ्रममा छन् । उनी छिटै भ्रम मुक्त हुँदा राम्रो हुन्छ भन्ने म सुझाव राख्न पनि चाहन्छु ।’

कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने, देशमा राजनीतिक स्थायित्व र विकास तर्फ लैजाने जमर्को गरे पनि दक्षिणपन्थी कित्ताबाट प्रहार भएको पनि प्रचण्डले बताए ।

‘युद्धलाई शान्तिमा रुपान्तरण गरेका छौं । शान्तिलाई हामीले संविधानसभामा रुपान्तरण गर्यौं । संविधानसभालाई संघीय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरण गर्यौं,’ प्रचण्डले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रभित्र कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्ने र देशमा राजनीतिक स्थायित्व र विकासतिर लैजाने जमर्को गर्यौं तर अहिले त्यही ऐतिहासिक पहलकदमीमाथि प्रहार भएको छ, दक्षिणपन्थी कित्ताबाट, प्रतिक्रान्तिकारी कित्ताबाट ।’

संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो निर्वाचित प्रधानमन्त्री भएको बेला आफूले जनयुद्ध र जनआन्दोलनका सबै सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने निर्णय गरे पनि केही प्राविधिक कमजोरी भएकाले अहिलेसम्म सो निर्णयले औपचारिकता पाउन नसकेको उनले बताए ।  उनले त्यसलाई औपचारिक स्वरुप दिने र सबै सहिदहरुलाई सम्मान गर्ने कुरा निरन्तर अगाडि बढाउने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment